“गद्यकबिता”
आँखाभरि सुन्दर सपनाका ताराहरु फिजाँएर
काला अँधेरी रातको अन्त्य
र शुभ बिहानीको आशामा
किराहरु मरीसकेको देशमा,
चराहरु पलायन भैसकेको सुनसान देशमा,
उजाड-उजाड मरुभूमि बालुवाको मूलनिर
बसेर पिधँ च्यातिएको थुन्चेमा
बालुवा भर्दैछु
एक मुठी, दुइ माना र चार पाथी गर्दै ……….
थाहा छ पिधँ च्यातिएको थुन्चेमा
बालुवा भर्ने छैन भन्ने पनि..
तर…….तर…
आफैले आफैलाई छल्दै-ढाटदै
भ्रमित आडम्बरमा अडेर
भरेरै छाड्ने अठोटका साथ्
भर्दैछु एक मुठी,दुइ माना .
र.चार पाथी गर्दै ………
आफ्नै अठोटले कुनैबेला
आफै माथि बज्रपात हान्दा
मृतसागरमा आफुलाई
समाहित गर्न पुग्छ
यी आत्मा..
तर अफसोच ! आफै मृत्यु भैसकेको
ति मृतसागरमा डुबेर आत्मदाह गर्न खोज्नु
नामर्दको पराकाष्टा हुन खोजेको
आभास हुन्छ,
अनि थाल्छ यी आत्मा
कृतिम संसारको निर्माण गर्न
दुइ चार वटा रहेको खजुरको बोट
बसन्त ऋतुमा समेत
उजाडिएर-नाङ्गिएर
आफ्नो ईज्जत लुटिएकी
बैंशालु युवती झैं,
बैंशमै सिउँदो पुछिएकी
चेली झैं
बिरक्तिएर
घोरिएर बसेको देख्दा
आफ्नो पसिनाले सिंचाई गरि
लाखौँ फूलहरु फूलाउँछु रे,
आफ्नु आँशुका ढिक्काहरुलाई
बन्दकी राखेर बदलामा
किरा पुतली र चराहरु
जन्माउँछु रे
ता कि चराहरुको गीतले
किराहरुको आवाजले
भुल्न सकोस बाध्यताका
व्यथाहरु…………..
राजेश रुम्बा लामा “अतृप्त”
२७-०६-२०११
