Skip to content


जीवन जिउने क्रममा,
यात्राको उकाली ओराली, झरना अनि कन्दराहरूमा
कहिले मच्चिदैँ, कहिले उफ्रिंदै, कहिले बयली खेल्दै, कहिले पछारिदैँ
मेरो आत्मा तिमीलाई प्राप्त गर्ने आशामा,
भूमरीमा रङ्मङिदै
आफ्नो एकलौटी राज गर्ने सपना बुन्दै
आफ्नो प्रिय पात्र बनाउने होडबाजीमा
मनका तरेलीमा अन्तर्द्वन्द्व चल्दैछ
शितल हावाको एक झोंकामा
कहिले विजय कहिले पराजय भोग्दै
अतृप्त अभिलाषा पुरा हुने आश्वासनमा आफैंलाई थुपथुपाउँदै
चिसो कठ्याङ्ग्रिएको कालकोठरीमा पनि
न्यानो अनुभूत गराउने असम्भव परिवेशमा भिज्दैछु
सतहमा उत्रन नसकिने ज्ञात हुदाँहुदै पनि
म तिमीमा डुबुल्की मार्ने मनोकांक्षा बोक्दै डुब्दैछु,
बिस्तारै बिस्तारै विछोडका यी दुई पलहरू पनि आज मलाई
शताब्दी झै अभास दिलाईरहेछ
तै पनि यो निराश मनलाई मर्न दिएकी छैन
तिमी आऊ या नआऊ,
मेरा यी नयनहरू तिमी आउने पथमा बिछ्याएकी छु
घनघोर बर्षापछिको रमणीय दिन झै,
स्वतन्त्रभएर उडने चरी भएर पारी क्षितिजमा पुग्ने
मेरा सपनाहरू चकनाचुर भएकै हो,
मन्द-मन्द मरुभूमिमा परिणत भएझै लाग्दैछ
फेरि पनि किन किन तिम्रै हुन मन लागिरहेछ
तिमीलाई मेरो कपोकल्पित साम्राज्यमा गद्दीआरोहण गराउने
मेरो रहरहरू नजन्मिदै गर्भमै तुहिने डर छ
तै पनि म असह्य वेदना खप्न तयार छु
एउटा अमर प्रेमलाई जन्माउने नै छु
फेरि कता कता मुटुमा कम्पन भए जस्तै लाग्दैछ
हातहरू काँपिरहेजस्तै लाग्दैछ
हतास हतास महशुस गर्दैछु
तिमीलाई गुमाउने त्रासमा मैन पग्लेझै पग्लिदैंछु,
गल्दैछु, विलिन हुदैंछु
हिजोका तिम्रो साथहरू मेरो अनिर्णयको बन्दी बन्दा
वर्तमानमा यो पीडा भोग्दैछु कहि म कहाँ चुकेछु,
आज जल्दैछु अनायसै मेरा आखाँहरू रसाइरहेकाछन्
हुन देउ यसलाई बग्न देऊ,
पश्चतापको भल बनि नदीमा मेल हुन जादैँछन्
सायद अब यसले आफ्नो स्वरुप प्राप्त गर्नेछ
नछेक यसको बेगलाई यसलाई शान्त हुन देऊ,
निश्चिन्त भई, मौन रहन देऊ,
आरामले हेर सुस्ताउँदैछ सुस्ताँउदैछ ।

बिना तामाङ
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *