बेलुका पखको
निला बत्तीहरू
झिलिक्क–झिलिक्क गरेर
उन्मूक्त साँढेलाई
स्वागत गर्न
आतुर छन् ,
साँझ नपर्दै
रमरम मातमा
गीतहरूलाई नङ्गयाएर
नाङ्गो नाच नचाउँन
तमतयार भई
ड्रमसेट लिएर
तयारी अवस्थामा हुन्छन्
सहर–सहरका क्याविन वा डान्सरेष्टुरेन्टहरू ।
रात छिप्पिदै जानेक्रममा
पैसाले उन्मूक्तिएका
साझेदारी गोरखधन्दा गरेर
कुम्ल्याएको पैसा
कालोव्रिफकेसमा राखेर
कालो चश्मा,
टाई, कोट, सुटवुटमा
कालै गाडीबाट ओर्लदै
रिमोटले ढोका बन्द गरेर
सोमरसमा डुब्नको लागि
हाजिर हुन्छन
दलाल र घुसखोरहरू ।
मध्य नीशामा
बिस्तारै–बिस्तारै रित्याउँदै प्यालाहरू
लिलाम बढेर
आफ्नो कालो शरीरको,
कालो जीवनको,
कालो अतृप्त तृष्णा
र, कालै प्यास मेट्न
गिद्धे दृष्टिले
नियालिरहेको हुन्छ
मिनिस्कर्टमा सजिएकी
एउटा नारी संवेदनामाथि
वा वियरको चुस्कीसँगै
बक्रे नजरले
बलत्कार गरिरहेको हुन्छ
विवशताको दलदलमा जकडिएको,
परिस्थितिले बन्धक बनाएको
आफ्नो चाहानालाई च्यातेर
समयको माखे साङ्गलोभित्र जेलिएको
एक नारी
जो आफ्नो अस्मीता बेच्न तयार भई
क्रिम पउडर र गाजल लगाएर
परदर्शक लुगामा
छमछम नाचिरहेको हुन्छ
ओरालिदै गएको आफ्नो जवानी
वा भविष्यको गीतमा ।
म,
महान मान्छु तिनीहरूलाई
किनकी आफ्नो खुशीलाई थाती राखेर
हर्षोल्लमस मनाउन
साथ दिइरहेछ मान्छेहरूलाई
तर अफशोच !
सूरा र सुन्दरीहरूमा लठ्ठिएका
ग्राहकहरूले
आफ्नो कामूक नजर ओछ्याएर
ती मैयाहरूको
अंग–प्रत्यंग दिनदिनै पढिरहे तापनि
कसैले पढ्न भ्याएका हुँदैनन्
उनीहरूको अलिखित वेदना र ब्यथाको कथा ।
