वि.सं. २०६४ सालको कात्तिक एक प्रकारले मेरा लागि यात्राकै लागि समर्पित भएजस्तै भयो । दसैंको ठीक अगिल्तिर गरिएको पूर्वोत्तर भारतको भ्रमणले लाएको काउकुती साम्य हुन नपाउँदै दसैंको टीका थापेर हामीले सुरु गर्यौं-पूर्वाञ्चल भारतको असम राज्यको यात्रा । यो यात्राका सहयात्रीमा थियौँ माया, सानी छोरी बुनु, हाम्रो यात्राका सहजकर्ता थिए-माधवप्रसाद सिटौला, मायाको साइँलो भाइ अर्थात् मेरो साइँलो सालो र म । एक किसिमले पूर्वाञ्चल भारतको यात्रा पनि पारिवारिक भेटघाटकै घेरामा रहने थियो । किनभने हाम्रो यो यात्राका प्रायःजसो सबै दिन मायाका माइला बहिनी ज्वाइँ केवली सेढाइँको संयोजनमा हुनेवाला थियो । मेरी माइली सालीको परिवार दशकौँदेखि असमका नेपालीभाषी भारतीय नागरिक भएर त्यतै रहेका थिए भने माधवको ससुराली पनि असममै रहेकाले वर्षको एक दुईपल्ट ऊ असम पुगेकै हुन्थ्यो । झण्डै नाबालिग अवस्थामा नै तेह्रथुमको आठराई चुहानडाँडाबाट असमको रौता भन्ने ठाउँमा विवाह गरेर पुर्याइएकी मेरी माइली सालीसँगको मेरो साली-भिनाको सम्बन्धको स्थापना वि.सं. २०३६ मा भएको थियो-उनकी ठूल्दिदी मायासँग मेरो वैवाहिक सम्बन्ध गाँसिएपछि । विवाहदेखि नै सेढाइँ दम्पतिले हामीलाई प्रतिवर्ष असम घुम्न निम्ता गर्थे तर हामी भने अनेकौं निम्तालाई लत्याउँदै अहिलेसम्म असम घुम्न असमर्थ थियौँ । त्यसो त २०४० सालतिर सानी छोरी प्रतीक्षालाई लिएर एउटा वैवाहिक कार्यक्रममा सामेल हुन मायाले चाहिँ एकपल्ट असम घुम्न भ्याएकी थिइन् । म आफू अध्ययनको क्रममा इटलीमा रहेकाले त्यो वैवाहिक कार्यक्रममा उपस्थित हुन सकिनँ । जे होस् यसपल्टको असम यात्रालाई बिना निमन्त्रणा सालीको परिवारसँग भेटघाट गर्ने मूल अभिप्रायका अतिरिक्त असम प्रवासमा रहेका नेपालीहरूका सुखदुःख बुझ्ने अपेक्षामा सीमित गर्ने सोच बनाएँ मैले । एक पन्थ दुई काज भनेको यही होइन त !
कात्तिक ६ गते झापाबाट बिहान १० बजे यात्रा सुरु गरियो । हाम्रा सहजकर्ता भाइ माधवले यात्राको सबै व्यवस्था मिलाएका थिए । जाँदा सिलगुडीबाट बसको प्रयोग गर्ने र असमबाट फिर्दा नयाँ जलपाइगुडीसम्म रेलबाट आउने कार्यक्रम बनाए । बसमा जाँदा १२ घण्टामा रौता पुगिन्छ, रातिको बसमा जाँदा बिहान असमको रौता पुगिन्छ । यस्तै सोचेर उनले झापाको बिर्तामोडमा नै बसको टिकट आरक्षण गरेका रहेछन् । आरक्षित टिकट लिई अनुमानित खर्चका लागि भा.रू. साटेर हामी लाग्यौँ सिलीगुडीतिर । दिनको १ बजे सिलीगुडी पुगेर पहिला आरक्षण गरिएको बस पत्ता लगाउनु थियो । एउटा होटलको प्रतीक्षा कक्षमा हामीलाई राखेर माधव त्यतातिर लागे । बस अपराहृन २ः३० तिर चल्ने रहेछ । माधवले बस फेला नपारिञ्जेल हामी होटलमै बस्यौँ । बस फेला पारेपछि बसमै गएर बस्यौँ । हेर्दा बस आरामदायी नै थियो ।
बसमा मान्छे भेला पारी बस चालकले ३ बजेतिर असमका लागि बस प्रस्थान गरायो । असम ट्रान्सपोर्ट सेवा नामको त्यो बस बिहान ९-१० बजेतिर रौता पुग्छ भन्थ्यो बस चालक । बसको अन्तिम गन्तव्यस्थल असमको तेजपुर रहेछ । बसलाई पश्चिम बङ्गालको जलपाइगुडी र कुचविहारका विभिन्न ठाउँ हुँदै जानु थियो । बेलुका ९ बजेतिर कुचविहार छिचोल्दै असमको प्रवेशद्वार मानिने शिवसागर गेटबाट हामी असम प्रवेश गर्यौं । बस चालकले के ठानेर हो बेलुकाको खाना कुचविहारकै सीमान्त सहरमा खाने प्रबन्ध मिलायो । चालकले सिफारिस गरेकै होटलमा पिरो तरकारीसँग सुख्खा रोटी खाएर असम सीमाभित्र घुस्नेबित्तिकै हामी फस्यौँ महाजञ्जालमा । असमको पश्चिमी सीमान्त जिल्लाको रूपमा रहेको कोक्राझार जिल्लाका आदिवासी विद्यार्थीहरूले अनेकौँ माग राखी तीन सय घण्टाको आमअड्तालको आहृवान गरेका रहेछन् । नेपालमा बारम्बार हुने हड्ताल र बन्दबाट पीडित भएर भारत छिरेका हामीलाई यो हड्तालले अरू पीडित बनायो । शिवसागर गेटबाट छिरेर असम प्रवेश गर्नेवित्तिकै हाम्रो गाडी रोकियो । एक दुई घण्टा त हामी गाडीको जाममा परेको जस्तो लाग्यो तर पछि थाहा भयो अघिल्लो दिन बन्द अवज्ञा गरेको भनी आन्दोलनकारीले केही बस जलाएका रहेछन् । त्यसैले सुरक्षा निकायले राति बस नचलाउने फर्मान जारी गरेको रहेछ । सो फर्मान पालना गर्दा हामीले भोलिपल्ट बिहान ६ः३० बजेसम्म बसभित्रै कोच्चिएर बिताउनु पर्यो सडकमा नै ।
कोक्राझारको शिवसागर गेटबाट असमको कोक्राझार जिल्लाको सिमाना बजारमा प्रवेश गरी लगभग नौ घण्टा बग्रेल रहेका बसमै यात्रुहरूसँग सडकमा रात बिताउँदा हामीले देख्यौँ-भारतीय सुरक्षा निकायमा मौलाएको चरम भ्रष्टाचारको नाङ्गो रूप । सडकमा घट्न सक्ने सम्भाव्य असुरक्षा र दुर्घटनाको व्यवस्थापन र नियन्त्रणका लागि भारतीय केन्द्र सरकार एवं असम राज्य सरकारले यथोचित सुरक्षाकर्मीहरू खटाइएका थिए । तिनीहरूको दोहोरीलत्त आवतजावत सडकमा देखिन्थ्यो । सडकमा दुई अढाई सय जति ठूला-साना सवारीसाधन रोकिएका थिए । विशेषगरी राज्य सरकारले खटाएका प्रहरी र केन्द्र सरकारले खटाएका सैनिकहरूबीच नाङ्गो प्रकारको वैरभाव रहँदोरहेछ । रोकिएका गाडी भए ठाउँ एक हूल प्रहरीहरू आए र उनीहरूले सुरक्षाको प्रत्याभूति गरिदिने भनेर हजार, पाँच सयका दरले गाडीको प्रकार हेरी सलामी उठाउन थाले । उनीहरूको सलामीको दर मालवाहक गाडीका लागि बढ्ता भयो भनी अलि गलफत्ती हुँदै थियो, एक हूल सेना त्यहाँ आइपुग्यो । सेना आइपुग्नेबित्तिकै प्रहरी टोली आफ्नो मेालमोलाइ छोडेर भागारेभाग भयो । सेना केही प्रहरीलाई मोलमोलाइ गरेका ठाउँमा नै रङ्गेहात पक्रन सफल सक्यो । यसरी पक्राउ परेका प्रहरीलाई निर्ममताका साथ पिट्न थाल्यो । कुरा के रहेछ भने प्रहरीहरू अत्यन्तै भ्रष्ट र घूसखोर हुँदारहेछन् तर सेनाका जवानहरू तुलनात्मकरूपमा कम घूसखोर हुन्छन् रे । त्यसैले सुरक्षा दिने दायित्व बोकेका प्रहरीले सुरक्षा दिने नाउँमा आफैँ सलामी उठाएकाले सेनाले धोवीधुलाइ गरेको रहेछ । सेना आउनुअघि प्रहरीको तुजुक र सेना आएपछि उनीहरूको भागाभाग देखेर मलाई हाँसो उठ्यो । सेनाको झम्टाइ र प्रहरीको भागाभागबाट गाडी चालकहरू निराश देखिए । प्रहरीलाई घूस दिएर भए पनि उनीहरूका गाडी अघिपछि लाएर सबै रोकिएका गाडीहरू चलाएर समयमै गन्तव्यमा पुग्न चाहन्थे गाडीका चालकहरू तर यो काण्डले भोलि उज्यालो नभइञ्जेल अब गाडी चल्ने भएनन् । सेनाका जवानहरू घुसिया प्रहरीलाई दच्काएर गए । हामी सबै बसभित्रै सुस्तायौं । बिहान ६ः३० बजेतिर फेरि सेनाको गाडी आयो र ७ बजे मात्र रोकिएका गाडी आफ्नो गन्तव्यतिर गए । यसरी रातभरि सकसमा परे पनि भारतीय भूमिमा मौलाएको भ्रष्टाचारको नाङ्गो रूपलाई बुझ्न पाएर मैले चित्त बुझाएँ । यसरी बिहान ९ बजे आफ्नो गन्तब्य रौतामा पुग्ने भनेर सिलीगुडी छोडेका हामी बेलुका ५ बजेमात्र रौता चारआली पुग्यौं ।
हाम्रो यो असम यात्राका दुई प्रमुख लक्ष्य थिए । एउटा आफन्तसँग भेटघाट गर्ने र अर्को असमका दर्शनीय स्थान विशेष गरी तेजपुर र गुवाहटी घुम्ने । असमका प्रमुख यी दुवै सहर घुम्दा हाम्रो सांस्कृतिक र सामाजिक दुवै प्रकारको यात्रा पूरा हुन्थ्यो । हामीले भेट्नुपर्ने आफन्तहरू सीमित थिए । रौतामा केवलीजीको पाहुना बनेर एक दुई दिन बस्दा नै आसपासका नेपाली समुदायसँग भेटघाट भयो । सानो पारिवारिक अर्थतन्त्र, सीमित आकाङ्क्षा, सानो व्यवसायका साथ आफ्नो सांस्कृतिक एवं जातीय पहिचानको कहिल्यै नटुङ्िगने लडाइँ लड्नुपर्ने बाध्यता बोकेका पूर्वोत्तर र पूर्वाञ्चल भारतका आप्रवासीहरूकै जस्ता साझा समस्या बोकेर यस क्षेत्रका नेपाली पनि बाँचेका रहेछन् । बोडो जातिको पेलानमा नरम भएर सहअस्तित्वको खोज गर्नु यिनीहरूको बाध्यता रहेछ ।
एक दुई दिन रौतामा सालीको घरमा बसेपछि हामी तेजपुर आयौँ । असम राज्यको सांस्कृतिक, शैक्षिक, सामाजिक र ऐतिहासिक धरोहर बोकेको तेजपुर सहरमा सालीकी छोरी, दैवकीदेवी र उनको परिवार हाम्रो मूल गन्तव्य थियो । कात्तिक ९ गते बिहानको खाना खाएर हामी ११ बजे तेजपुर आइपुग्यौं । राजनीतिक रूपमा असम राज्यको क्षेत्रीय केन्द्र रहेको तेजपुर सहर ठीकठीकैको रहेछ । तेजपुर नेपाली भाषा र संस्कृतिका दृष्टिले पनि निकै महत्त्वपूर्ण ठाउँ हो । यहाँ नेपालीभाषीहरूको बाहुल्य छ, नेपाली मठमन्दिरहरू, विद्यालय, महाविद्यालयहरू छन् । तेजपुरका कलेजहरूमा नेपाली भाषाको पढाइ हुन्छ । नेपालीभाषी र असमिया भाषाहरूबीच अनौठो सद्भाव कायम गरिएको रहेछ तेजपुरमा । नेपालीभाषीले असमिया भाषा बोल्ने र असमियाभाषीले नेपाली भाषा बोल्ने । रौताबाट तेजपुर आउँदा बसमा नेपाली पहिरनमा रहेकी एउटी युवतीले मेरा आँखालाई भुतुक्कै हुने गरी लोभ्याइन् । छेवैमा भएकी श्रीमतीको आँखा छलेर मैले उनीसँग वार्तालाप गर्न खोजेँ अनि पो थाहा पाएँ उनी असमिया युवती रहिछन् । मैले के बोल्न खोजेथेँ उनी हच्किइन् । नेपाली भाषाको राम्रो ज्ञान नभएकाले उनी हच्केकी रहिछन् । नेपाली र तेजपुरवासी असमियाबीचको सादृश्यता र त्यसले जन्माएको सद्भाव बुझ्न ती युवती पर्याप्त भइन् मेरो लागि ।
छोरी दैवकीदेवीको सानो परिवार छ । ज्वाइँ घनश्याम तिमसिना तेजपुरकै सरकारी कलेजमा नेपाली विषयको प्राध्यापन गर्दछन् । त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर उपाधि ग्रहण गरेपछि दाम्पत्य जीवनमा बाँधिएको यो जोडी दुई जना चिचिला छोरा प्राप्त गरी असममा नेपाली भाषा, साहित्य र संस्कृतिको विस्तारमा समर्पित भई जीवनयापन गर्ने सङ्कल्पका साथ कार्यरत छ । छोरी दैवी त आफ्ना बच्चाको पालनपोषण, घरपरिवार व्यवस्थापनसमेत भ्याई स्थानीय कलेजमा प्राध्यापनरत छन् । यी सबै व्यस्तताका बावजुद असमको नेपाली कविताको विश्लेषणमा त्रि.वि.बाट विद्यावारिधिको अध्ययन अनुसन्धान थालेकी उनको काम निकै चुनौतीपूर्ण रहेको छ । यो सानो परिवारमा साढुभाइ केवलीसहित हामीले दुई रात बितायौँ । यही दुई रातको सेरोफेरोमा हामीले प्राप्त गरेका तीन दिनलाई मैले राम्ररी व्यवस्थापन गरेर ब्रहृमपुत्रको घेरोमा रहेको तेजपुर सहरको सेरोफेरो घुम्न र बुझ्न भ्याएँ ।
मेरा साढुभाइ केवली सेढाईं असमको सामाजिक एवं राजनीतिक जीवनमा निकै राम्रो प्रभाव जमाएका व्यक्ति हुन् । राजनीतिकरूपमा विभिन्न राजनीतिक दलका नवप्रवेसी पाहुना हुने उनको विवशताले उनको राजनीतिक छवि त्यति उदीयमान नदेखिए पनि नेपाली भाषा, संस्कृतिको पहिचानका लागि असमिया नेपालीले चलाएका आन्दोलनमा उनको अग्रणी भूमिका रहेकाले उनी आफ्नो समाजमा आदरणीय व्यक्तिका रूपमा मानिँदारहेछन् । त्यसैले असम बसिञ्जेल त्यहाँका साहित्यिक, सांस्कृतिक एवं जातीय आन्दोलनका अग्रणी व्यक्तिसँग मेरो भेटघाट र अन्तक्रिर्याको चाँजो उनैले मिलाए अथवा उनकै कारणले छोटो समयमा मैले तेजपुर र गुहाटीका नेपाली समाजका अग्रणी व्यक्तिहरूसँग भेटघाट र अन्तक्रिर्या गर्ने शुभअवसर प्राप्त गर्न सकेँ ।
तेजपुरको चाँदमारी गाउँ अधिकांश नेपालीहरूले बसोवास गरेको ठाउँ हो । नेपाली मूलका प्राध्यापक, शिक्षक, इन्जिनियर, ठेकेदार र अन्य सर्वमान्यले पनि आफ्नो सीमित आयआर्जन बँचाई आ-आफ्नै गच्छे अनुसारका घर बनाई यो गाउँमा बसेका छन् । घर नहुनेहरू किराया गरेर पनि यहीँ बस्न रूचाउँदारहेछन् । त्यसैले नेपाली चाडपर्वमा नाटक, नाच, देउसी, भैलो, सङ्गिनी, मारुनी आदिको प्रदर्शनी आयोजना गर्ने, दसैं, तिहार र तीजजस्ता चाडपर्वहरू सामूहिकरूपमा मनाउने गरेर चाँदमारीवासी नेपालीले आफ्नो जातीय पहिचान अरूलाई देखाउँदारहेछन् । तेजपुर पुगेकै दिन मैले केवली सेढाइँको सार्वजनिक व्यक्तित्वको सदुपयोग गर्दै यहाँका अग्रणी व्यक्तिसँग भेटघाट मिलाउन आवश्यक देखेँ । त्यसो त यहाँको नेपाली समाजमा ज्वाइँ घनश्यामभन्दा छोरी दैवकी ज्यादा लोकप्रिय रहिछन् । बुबाको निर्देशनमा दैवकीले तेजपुरमा रहेका नेपाली भाषा, साहित्य र संस्कृतिप्रेमीहरूको एउटा रमाइलै भेटघाटको आयोजनाको तामतयारी गर्ने भइन् ।
पेशाले ठेकेदार भए पनि नेपाली कथा लेखनमा सिद्धहस्त भइसकेका तेजपुर चाँदमारीकै साहित्यकार खड्गबहादुर क्षेत्री ‘कौशिक’का घरमा कात्तिक ९ गते बेलुका ४ बजे निजकै संयोजनमा केही साहित्यकारको जमघटको आयोजना गरियो । कौशिकजी निकै दिलदार रहेछन् र उनको नेपाली समुदायसँग सम्बन्ध पनि राम्रै रहेछ । त्यसैले पन्ध्र -बीस जना नेपाली समुदायका अगुवा लेखक, प्राध्यापक एवं पत्रकारहरूलाई छोटो सूचनामा नै उनले भेला पार्न सके ।
भेला गतिलै अन्तक्रिर्यामूलक रहृयो । भेलामा दरङ कलेजका नेपाली विभागका प्रमुख रही सेवानिवृत्त भएका निबन्ध, नाटक र समालोचना क्षेत्रमा कलम चलाउने दुर्गाप्रसाद उपाध्याय घिमिरे, घरपति कथाकार खड्गबहादुर कौशिक क्षेत्री, शिक्षक गणेश पौडेल, नेपाली र असमिया भाषामा उत्तिकै रफ्तारमा कलम चलाउने लेखिका गीता उपाध्याय, अरूणाञ्चल प्रदेशमा निर्देशकसम्म भई सेवानिवृत्त भएका मित्रदेव शर्मा, समाजसेवी केवली शर्मा एवं लेखिका बसुन्धरा शर्मा, अध्यापक दीपक शर्मा, तेजपुरबाट निस्कने नेपाली साप्ताहिक ‘देशर्वार्ता’का सम्पादक कुश्माखर शर्मा, लेखक ज्ञानबहादुर क्षेत्री, दरङ कलेजका नेपाली विभागका अध्यापक घनश्याम तिमसिना र लेखिका दैवकीदेवी तिमसिनाका माझमा थियौँ म र माया । हाम्रो भेटघाटलाई औपचारिकता दिन साहित्यकार ज्ञानबहादुर क्षेत्रीले हाम्रो स्वागतमा केही शब्द खर्च गर्दै असमको साहित्य लेखन, नेपालीभाषाको स्थिति र जातीय पहिचानको आन्दोलनबारे सङ्क्षिप्त परिचय दिए । त्यसपछि अरू साहित्यकारले पनि असममा लेखिएको नेपाली साहित्य, साहित्यकारले झेल्नुपरेका समस्याबारे बताए । विशेषगरी नेपालका साहित्यिक प्रकाशन र असममा प्रकाशित नेपाली साहित्यको आदानप्रदानमा समस्या रहेको र यो समस्यालाई अन्तरदेशिक वितरण प्रणालीको सञ्जाल बनाइ समाधान गर्न सकिने कुरा बताए ।
मैले पनि नेपालको वर्तमान स्थिति, गणतन्त्र स्थापनापछि नेपाली भाषा-साहित्यले खेलेको र खेल्नुपर्ने भूमिकाबारे आफ्नो बिचार सुनाएँ । यहाँ भएको अन्तक्रिर्यालाई नै आधार बनाएर सम्प्ाादक कुश्माखर शर्माले आफ्नो देशर्वार्ता साप्ताहिकका लागि छोटो अन्तर्वार्ता मसँग लिए । यसरी दुई घण्टासम्म सौहार्दपूर्ण अन्तक्रिर्या चलाएर हामीले एक अर्कालाई बुझ्ने कोसिस गर्यौँ ।
भोलिपल्ट शनिबारलाई तेजपुरको सेरोफेरो चहार्न प्रयोग गर्नेगरी अघिल्लै बेलुका हामीले कार्यक्रम बनाएका थियौँ । त्यस दिनको यात्राको पथप्रदर्शन केवलीजीले गर्नुभयो ।
पथप्रदर्शक केवलीजी आध्यात्मिक व्यक्ति हुन् । त्यसैले पथप्रदर्शनको क्रममा उनले सर्वप्रथम तेजपुरका मन्दिरमा हामीलाई प्रवेश गराए । त्यसो त तेजपुर सहर मानवशास्त्रीय सूचना र पौराणिक गाथा बोकेको महत्त्वपूर्ण सहर हो । मेरो प्राथमिकता तेजपुरले बताउने मानवशास्त्रीय सूचना र पौराणिक गाथासँग थियो । यो कुरा बुझेर सर्वप्रथम हामीलाई चाँदमारीकै केही पौराणिक अवशेष भएका ठाउँमा पुर्याइयो । चाँदमारीमा रहेका केही पौराणिक स्तम्भका अवशेष र भग्नावशेषजस्ता लाग्ने ठाउँहरूले पारदर्शिताका लागि पुरातात्त्विक उत्खनन् पर्खिरहेझैं लाग्यो । त्यसपछि हामी गयौँ-तेजपुरको प्रसिद्ध महाभैरव मन्दिर । हाम्रो पशुपतिनाथको मन्दिर परिसरको प्रवेशद्वारमा रहेको साँढेको मूर्तिजस्तै आकार भएको साँढेको मूर्ति रहेको त्यो मन्दिर हिन्दूधर्म मान्ने असमिया र नेपालीको पहिचान अर्थ्याउने महत्त्वपूर्ण साधन लाग्यो मलाई । नेपालका मन्दिरको तुलनामा ठीकै स्तरको मानिने त्यो मन्दिरमा सहयात्री अरूले एकक्षण पूजा गरे तर मैले चाहिँ यसको पुरातात्त्विक र सांस्कृतिक महत्त्वलाई आँकलन गरेँ ।
मन्दिर दर्शनपछि हामी पुग्यौँ तेजपुर हुँदै बहने ब्रहृमपुत्रको छातीमाथि बनाइएको भमरागुडी पुलमा । ३.५ किलोमिटर लामो यो पुल तेजपुरको दर्शनीयस्थल रहेछ । केन्द्र सरकारको लगानीमा निर्माण गरिएको यो पुलको पूर्ण सुरक्षा भारतीय सेनाले गर्दाेरहेछ । ब्रहृमपुत्रमाथि बनाइएको यो विशाल पुलपारि पुलसँगै जोडिएको एउटा बजार रहेछ । त्यहाँ पुग्नेबित्तिकै एक जना परिचित व्यक्तिसँग भेट भयो । ब्रहृमपुत्रपारि सोलड गाउँका ती व्यक्ति सम्बन्धले छोरी देवीका मीतभाइ पर्दा रहेछन् । एक किसिमले पारिवारिक नातो तन्काउँदै जाँदा उनी मेरा पनि आफन्त पर्दा रहेछन् । उनले हामीलाई चिया खुवाए र उनको अनुरोधमा आफ्नो गाउँमा पनि पुर्याए । यो पुल नबनिञ्जेल उन्मत्त ब्रहृमपुत्रले प्रत्येक वर्षा ऋतुमा आफ्नो पञ्जा कहिले पूर्व त कहिले पश्चिम फैलाउँदै असमको यो क्षेत्रलाई हैरान पार्दोरहेछ । साथै ब्रहृमपुत्र वारिपारिका बस्तीहरू अन्तर्देशीय सीमाले छुटट्याएजस्तै एक अर्कामा गुमनाम रहने गर्दा रहेछन् तर पुल बनेपछि पारि तेजपुर र वारिका गाउँहरू एक अर्कामा जोडिएकाले विशेष गरी तेजपुर पारिपट्टकिा क्षेत्रको विकास एवं अर्थतन्त्रमा अकल्पनीय परिवर्तन भएको रहेछ । आफन्त भाइको सोलङ् गाउँमा केही क्षण बिताएपछि फेरि हामी फिर्यौं पुलतिर । पुलको पूर्वी मोहडामा आएर लम्पसार परेको ब्रहृमपुत्रलाई हामीहरूले नियाल्यौं । आफ्नो सपाट आयतनमा ढुङ्गा र जहाजहरू नचाएर ब्रहृमपुत्र शान्तसँग निदाएको अजिङ्गर पो देखिन्थ्यो । पुलबाट परसम्म हेर्दा थाहा भयो तेजपुर त ब्रहृमपुत्रकै घेरोमा बेरिएको पो रहेछ ।
मध्य र दक्षिण एसियाका अनुपम सभ्यतालाई हुर्काउने एवं आफूलाई सनक चढेको बेला लाखौँ, करौडौँको मानववस्तीलाई सखाप पार्ने ब्रहृमपुत्र नदीका बारेमा अनेकौं रोमाञ्चकारी कथाहरू मैले यो पहिला पनि सुनेको थिएँ । विशेष गरी लीलबहादुर क्षेत्रीज्यूको ‘ब्रहृमपुत्रका छेउछाउ’ नामको उपन्यास पढेपछि ब्रहृमपुत्रको एउटा बिम्ब तयार भएको थियो मेरा मनमा । मैले त्यो बिम्बअनुसारको ब्रहृमपुत्रलाई भमरागुडी पुलमाथि बसेर खोजेँ तर मैले मनोविम्बमा राखेको ‘ब्रहृमपुत्र’को रूप त्यहाँ भेटिएन । अर्को दिन गुहाटी पुगरे मात्र मेरो मनोविम्बको ब्रहृमपुत्रलाई भेटेँ । त्यसो त ब्रहृमपुत्रको छातीमाथि गाडी बजारेर दुईवर्षअघि नै मैले उसलाई आफ्नो टाङमुनि पारेको थिएँ-तिब्बतमा । मानसरोवरबाट निस्केर लामो एवं सुस्त यात्रा तिब्बती पठारमा गर्ने याुर्लङसाम्पो तिब्बती नाम लिएर ब्रहृमपुत्रले ल्हासालगायत धेरै सहर र गाउँलाई पालनपोषण गर्दै पूर्वी भारतको मैदानी क्षेत्रमा प्रवेश गरेको हो । यत्रो लामो यात्रामा यसले अनुपम मानवसभ्यताको स्थापना गरेको छ भने पर्यावरणमा मानवीय दखल भएका बेला यसले असंख्य मानववस्तीलाई उजाड पनि बनाएको छ । निर्माण एवं ध्वंशको अन्तरविरोधात्मक गतिविधि सञ्चालन गरिरहने यो नदीको छातीमाथि उभिएर तेजपुरको सेरोफेरो अवलोकन गर्दा मलाई एक प्रकारको आनन्दको अनुभूति भयो ।
ब्रहृमपुत्रको भमरागुडी पुलमा बसेर केही समय बहकिएपछि हामी लाग्यौं-वाणासुरको राजधानी मानिने अग्निगढतिर । भमरागुडी पुल परिसरबाट एक सप्को मारेर सर्पजस्तो गुडल्किंदै ब्रहृमपुत्रले तेजपुरको दक्षिण पश्चिम भागलाई अर्को सप्कोले घेरेको रहेछ । अलि उठेर बनेको सानो पर्वतजस्तो त्यो भूप्रकृतिले ब्रहृमपुत्रको छल्कोलाई जवर्जस्त फिर्ता धकेलेर तेजपुरलाई बचाएको रहेछ । यही पर्वतले बनेको भूभागलाई अग्निगढ भनिँदो रहेछ । असमक्षेत्रको सम्पूर्ण भूभागलाई आफ्नो साम्राज्य बनाई हैकम चलाउने पौराणिक राजा वाणासुरले साँढेको जुरोजस्तो उठेको यही भूभागलाई आफ्नो राजधानी बनाएका रहेछन् । यो ठाउँका महत्त्वपूर्ण सांस्कृतिक कथालाई बताउने दृश्यहरू भित्तामा खोपेर एक प्रकारकेा प्राकृतिक खुला सङ्ग्रहालयका रूपमा नै संरक्षण गरेको रहेछ यहाँ । अग्निगढको थुम्कोबाट देखिने ब्रहृमपुत्रको वहावलाई हेरी आनन्द लिन जीवनको उत्तरार्द्धमा पुगेका प्रौढप्रौढा, जीवनको रुमानी आनन्द लिन प्रकृतिको सहारा लिने युवकयुवतीहरू, जमिनको सतहभित्र लुकेको संस्कृति र सभ्यता खोज्न लागिपरेका शोधकर्ता पुरातत्त्वविद्हरूका लागि मानवसभ्यता र संस्कृतिलाई आफ्नो पोल्टामा लुकाएर धुम्धुम्ती बसेझैं लाग्यो मलाई यो ठाउँ ।
नेपाल र हालको पूर्वाञ्चल भारतका बीचको पौराणिक युगको सांस्कृतिक सम्बन्धलाई पनि यो अग्निगढले केही हदसम्म अभिलिखित गरी राखेको रहेछ आँखा उघ्रेका शोधार्थीहरूका लागि । पद्मपार्क, चित्रलेखापार्क नाममा भूप्राकृतिक आभूषणले सिँगारिएको अग्निगढ क्षेत्रमा आँखा उघि्रएका शोधार्थीले प्राप्त गर्न सक्ने मानवसभ्यता र संस्कृतिका धेरै महत्त्वपूर्ण सूचनाहरू त्यहाँ सतहमा तैरिएको देखेँ मैले । पुरातत्त्व र संस्कृतिको क्षेत्रमा आफ्ना आँखा त्यति सारो उघि्रन सकेकाले मैले आफ्नो भाँडोअनुसारको सूचना उघाउन सकेँ त्यस ज्ञानको महासागरबाट ।
चित्रलेखा नामको उद्यानको भित्तामा ‘हरिहर युद्ध’को पौराणिक कथालाई मूर्तिकृत गरिएर राखिएको रहेछ । वाणासुरकी अत्यन्तै सुन्दरी छोरी उषाले द्वापरयुगका पराक्रमी पात्र भगवान् कृष्णका छोरा अनिरुद्धलाई एकलौटी रूपमा मन पराइछन् र आफ्नी सहेँली चित्रलेखाको सहयोगमा कृष्णपुत्र अनिरुद्धलाई अपहरण गरी पतिको रूपमा स्वयंबरण गरी माल्यार्पणसमेत गरिछन् । सम्भवतः आफ्ना पिता वाणासुरको सम्र्मतबेगर यो सब काम भएछ क्यार, पछि वाणसुरको जानकारीमा यो कुरा आउनेबित्तिकै तथ्य नबुझी उनले कृष्णपुत्र अनिरुद्धलाई दोषी ठहर्याई बन्दी बनाएछन् । पछि आफ्नो छोरो वाणासुरद्वारा बन्दी बनाएको थाहा पाएपछि कृष्णले पनि वाणासुरको राज्य विरुद्ध युद्धको घोषणा गरी आक्रमण गरेछन् । भनिन्छ, यो युद्धमा कृष्णको प्रहारबाट वाणासुरले परमधाम प्राप्ति गरे रे । कृष्णले मच्चाएको यो उत्पातलाई सहन नसकी सो प्रदेशलाई बचाउन वाणासुरका सुरक्षाकवच मानिने शिवजी कृष्णसँग युद्ध गर्न अग्रसर भएछन् र महाभारतकै एक अंशजस्तो मानिने प्रलयकारी युद्धको सुरुआत भएछ । यो युद्धले गर्ने संहारलाई पूर्वावलोकन गरेर जगत्का स्रष्टा मानिने ब्रहृमाको हस्तक्षेपमा कृष्ण र शिवको सनकी आवेगलाई थामथुम पारी युद्धको अन्त्य भएछ र सम्भावित संहारबाट त्यो क्षेत्र बचेछ ।
ऐतिहासिक तथ्यबाट मूर्तरूपमा प्रमाणित हुन नसकेका यस्ता धेरै पौराणिक कथामध्येको वाणासुर-कृष्ण युद्धको विवरणलाई मूर्तिकृत गरी अग्निगढको चित्रलेखा उद्यानको भित्तामा खोपिएका मूर्तिहरूले कथित युद्धको ऐतिहासिकता राम्ररी अभिलिखित गरिएको रहेछ । चित्र र मूर्ति हेरेर हामीले महाभारतको त्यो पौराणिक घटनाले मानव मनोविज्ञानमा पारेको प्रभावको आँकलन गर्यौँ र ती भित्तेचित्र र मूर्तिलाई आफ्नो क्यामेरामा बन्द गरी हामी चित्रलेखा उद्यानबाट उकालो लाग्यौँ । यसरी उकालो लाग्दालाग्दै मलाई एउटा प्रश्नले घच्घच्यायो । त्यो प्रश्न थियो-वाणासुरकी सुन्दरी छोरीको प्रणयकथा र त्यसले सिर्जना गरेको विग्रह बताउने यो सुन्दर उद्यानलाई किन उषा उद्यान नभनी उनकी सहेली चित्रलेखाको नाममा नामाकरण गरिएको होला ? मेरो प्रश्नको उत्तर दिने त्यहाँ कोही थिएन । सम्भवतः त्यो प्रणय-लीलाकी सूत्रधार चित्रलेखा थिइन् क्यार र नै यो उद्यानका परिकल्पनाकारले उनको नामलाई प्राथमिकता दिएर उद्यानको नामाकरण गरेका होलान् । आफ्नै अनुमानमा मैले यस्तो निचोड निकालेँ ।
समय निक्कै घर्किसकेको थियो । म प्राप्त सूचनाहरूले अलि पुष्ट पनि भएको थिएँ । चित्रलेखा उद्यानबाट केहीमाथिको थुम्कोमा उक्लेपछि ब्रहृमपुत्र र तेजपुरको दृश्यावलोकन गर्न बनाइएको मचान देखियो । मचान चढ्ने स्फूर्ति ममा चढ्यो । माया र अरू सहयात्रीले धेरै थाकेको सङ्केत गरे र त्यो मचानमाथि उक्लने चाहना राखेनन् । त्यसैले म एक्लै मचानमा चढेँ र तेजपुरको सेरोफेरोमा आफ्नो नजर दौडाएँ । त्यो मचानबाट भरिपूर्ण बृक्षहरूभित्र लुकेर रहेका तेजपुरका भवनहरू झल्याकझुलुक मात्र देखिए । पर्यावरण संरक्षणमा अमेरिकी सहरहरूले अपनाएको विधि तेजपुरले पनि अपनाएको रहेछ-कैयौँ हरिया रुखहरूभित्र एक घरको प्रविधि अपनाएर । तेजपुरको सेरोफेरोमा नजर दौडाइसकेपछि म फिरेँ लमतन्न परेको ब्रहृमपुत्रको फैलावटतिर । अहिले मौसम हिउँदे थियो र ब्रहृमपुत्र पनि शान्त मुद्रामा लमतन्न थियो तर वर्षाको उन्मादमा यसले कस्तो रूप लिँदो हो त्यो हेर्ने अवसर तेजपुरवासीमै मात्र थियो-मलाई त्यो अवसर त्यत्तिकै प्राप्त हुनेवाला पनि थिएन । त्यसैले मैले त्यही शान्त ब्रहृमपुत्रलाई अघाउञ्जेल हेरेँ । यो हेराइबाट ब्रहृमपुत्रको सप्कोमा घेरिएर रहेको तेजपुर सहरको मनोविम्ब सिर्जना गरेर म मचानबाट ओर्लें । तेजपुरको सेरोफेरोको घुमाइ एक किसिमले सकिएको थियो । त्यसैले थकित भएका सहयात्रीसँगै म उद्यान परिसरबाट बाहिर निस्केँ । यसरी हाँस्तै रमाउँदै थकानलाई बिर्संदै घनश्याम ज्वाइँको गाडीमा चढेर हामी बासस्थानतिर लाग्यौँ । बासस्थान आइपुग्दा वाणासुरको राजधानीबाट विस्तारै घाम डुब्न लागेका थिए ।
मधुपर्क २०६८ असार
