ओहो ! बिहानको आठ बजिसकेछ । उसको आँखा भित्तामा झुण्ड्याएको घडीमा पर्न जान्छ । बिहान सबेरै निन्द्रादेवीले न्यानो अङ्गालोबाट छोडे पनि आज सहनशीलालाई ओछ्यानमा गुडुल्किरहन मात्र मनलाग्छ । किनकी आज उसको बिदाको दिन । शरीरमा कुनै जोश-जाँगरनै छैन । मन त्यसै-त्यसै हावामा बहकिरहेको छ । उखरमाउलो गर्मीले गर्दा उसको शरीरले थकानको महसूस मात्र गरिरहेछ । बिदाको दिन बाहेक १६ घण्टा मेशिनझैं काममा पेलिनु पर्छ । कामले थाकेर-थाकेर लखतरान भई कोठाको मायालु विश्राममा जान हतार गरिरहेका कामदार युवायुवती जस्ले पाएको हण्डरलाई सोचेर भावुक बन्छे सहनशीला । आफ्नी आमाको न्यानो काखलाई लत्याएर आएका ती कामदारहरूप्रतिको सोचाइले गर्दा भनौं या आफ्नी आमाको सम्झनाले भरिएका अतीतका स्मरणले गर्दा हो , आज ऊ आमाप्रति आफूले नाजायज गरेँकी भन्ने भाववोधले छटपटाइरहेकी छ । आज आफ्नै आमाको न्यानो काखमा बसेर पसिना बगाउन पाएको भए अभावको खडेरीले चिराचिरा परेको छाति त रसाउन पाउँथ्यो । आज आमाले आफ्ना कर्मठ सन्तानहरूलाई दिनप्रतिदिन विदेशीको दासी बनाउने भनेको भोलिको लागि आफ्नो काख झनझन मरुभूमि तुल्य उजाड बनाउनुनै हो । आज यत्तिका सन्तानहरूले आफ्नो उर्वर समयलाई बिदेशी भूमिमा तिलाञ्जली दिन बाध्य छन् । कठै ! विचरी आमा ! कति विवश छिन् आफ्ना सन्तानलाई मातृत्व बर्साएर लुटुपुटु आफ्नै काखमा खेलाउने अधिकार खोसिँदा समेत चुपचाप बस्नु परेको छ । बाध्यता उनको शरीरको एक अभिन्न अङ्ग बनेको छ । जसलाई उनी चाहेर पनि पन्छाउन सक्दिनन् । बिवश छिन् बिचरी आफ्ना सन्तानलाई अर्काको कमारो बनाई अशान्तिले छट्पटिन । कुन आमालाई नहोला र ! आफ्ना आँखाका नानी आफ्नै समीपमा राखेर उनीहरूको प्रगति हेर्ने रहर । ऊ कल्पनाको सन्सारबाट हावारुपी यानमा वास्तविक यो स्वार्थपूर्ण संसारमा अवतरण गर्छे जब उसको मोबाइलमा टिनिनिनि आवाज आउँछ । फोन गाउँको दाइले गरेको हुन्छ । सधैं आमाले फोन गर्नुहुन्थ्यो । किन आज चेतनाथ दाइले गर्नुभयो ? ऊ अचम्म पर्छे । भर्खरै हिजो मात्र आमाले फोन गरेर धान रोपिसकेको तर पानी परेको पर्यै भएर धान डुबाइराछ भन्नुभाथ्यो । बहिनीहरू सबैले पालैपालो कुरा गरेका थिए । दिदी अब कहिले आउने भनेर सोध्दै थिए । उनीहरूलाई मैले अब एकवर्षा आउँछु भनेकी थिएँ । हस् दिदी आमाको बारेमा कुनै चिन्ता लिनु पर्दैन । आमा अहिले सञ्चै हुनुहुन्छ , हामीले राम्रोसँग हेरबिचार गरिराछौं भनेर मेरो चित्त बुझाएका थिए । तर आज कहिल्यै फोन नगर्ने चेतनाथ दाइले किन फोन गरी तिमी तुरुन्त आऊ भनेर बोलाउनु भएको होला ? उसले प्रश्न गर्न नपाउँदै फोन काटिन्छ । ऊ बहिनीको मोबाइलमा फोन गर्न खोज्छे तर सर्म्पर्क हुन सक्दैन । फोन कतै लाग्दैन । उसलाई के गरौं के नगरौं जस्तो हुन्छ । उसलाई कताकता डर लागेर आउँछ । आमा बिरामी पो पर्नु भएको हो की ! बहिनीहरूले पनि भन्नु पर्ने ! म अत्तालिन्छु भनेर पो नभनेका हुन् कि ? किन हो फेरि कहीँ फोन नलागेको ? उसको दिमागमा यस्तै-यस्तै नानाभाँतीका कुराहरू खेल्न थाल्छन् । अब के गरुँ ? अहिलेनै फर्किउँ भने पनि भर्खर साहूको ऋण मात्र चुक्ता भएको छ । पैसा कमाउन सकेको छैन । नफर्किउँ भने आजै तुरन्त आइज भनेर दाइले बोलाउनु भयो । केही घटना नभई त्यत्तिकै त पक्कै बोलाएको हैन होला ? जे पर्ला पर्ला मैले जानु पर्छ । एक पटक गएर आमालाई , बहिनीलाई अनि साथीभाइलाई पनि भेटेर आउनुपर्ला , त्यसपछि २-४ वर्षदुःख गरेर पैसा कमाएपछि म मेरी आमालाई सुखसाथ पाल्छु । यत्ति सोचेर ऊ उसको अफिसको सरलाई भेट्न जान्छे र ऊ तुरुन्त नेपाल र्फकनु पर्ने भयो घरबाट फोन आयो मलाई जसरी भए पनि महीना दिनको बिदा मिलाइदिनु पर्यो भनी निवेदन गर्छे ।
अब ऊ महिना दिनको लागि नेपाल फर्किने भई । नेपाल र्फकनु पर्दा उसमा एक प्रकारको खुशि तरङ्गति हुन्छ तर मनमा कताकता डर पनि लागिरहेछ । कहिँ कतै घरमा नराम्रो घटना त घटेन ? भन्ने डरले बेलाबेला ऊ झोक्राउँछे अनि मुटु दह्रो बनाएर जुरुक्क उठी २ दिन पछिको यात्राको लागि तयार हुन थाल्छे । के के सामान लाने होला – बहिनीहरूले दिदीले के के न ल्याइदिएकी होली भनेर आश गरेर बसेका होलान् । अनि आमालाई के लगिदिउँ भनी ऊ सोच्छे । हैन काठमाण्डुबाटनै किनेर लग्नुपर्ला भन्दै एटेचीमा उसको लुगाफाटा मिलाउन थाल्छे । उसको प्लेन चढ्ने बेला आयो । प्लेन भित्र पसेपछि ऊ आफ्नो सानो ब्यागबाट एल्बम पल्टाएर हेर्न थाल्छे । जसमा उसको बच्चा बेलाको फोटोहरू राखिएको हुन्छ । फोटो पल्टाउँदै जाँदा उसले आफ्नो बाबाको फोटो पनि देख्छे । त्यो फोटोमा उसको बाबाले उसलाई बोकेको अनि माहिली बहिनीलाई आमाले । ओहो मेरो बाबा अहिले कहाँ हुनुहुन्छ होला ? कत्ति मायाले च्याप्नुभएको मलाई ! अहिले भैदिएको भए म पढेर इञ्जिनिएर भएकोमा कत्ति दङ्ग पर्नुहुन्थ्यो होला ? उसका आँखाभरी अतितका घटनाहरू एकपछि अर्को गर्दै नाच्नथाल्छन् । खासमा उनीहरूको पूर्ख्यौली घर पूर्वी नेपालको पाँचथर जिल्लाको भारपा गा.बि.स.मा थियो जहाँ उसले वाल्यकाल विताएकी थिई । कस्तो रमाइलो थियो । उसको जन्मथलो । कलकल बग्ने पानीका खोल्सा-खोल्सी , तालमा ताल मिलाउँदै अप्सरा झैं नाच्दै बग्ने झरनाहरू , चराचुरुङ्गीहरूको मधुर कलरव , जताततै हरिया थुम्काथुम्की अहो ! स्मरणलेनै पनि मन त्यसै त्यसै फुरुङ्ग हुने । नाचुँनाचुँ लाग्ने उसको जन्मथलोको शब्दले वर्णन गरी साध्य छैन । देवताहरूले मान्छेका लागि बनाएको अर्कै र्स्वर्गलोक पो हो कि जस्तो । पढ्नलाई पनि विद्यालयको सुबिधा त्यही विद्यालयमा प्रधानाध्यापक उसको बाबु । कस्ती चञ्चल थिइ ऊ , बिहानी पखको बतासझैं । भुवादार कपासको खेलौनाझैं समाउँ-समाउँ लाग्ने सरस्वतीको आसन श्वेत कमलझैं स्वच्छ सुन्दर यस्ती छोरी हुँदाहुँदै पनि उसको बाबुले छोराप्रतिको परम्परागत सोचाइका कारण पाँच-पाँचजना छोरीहरू जन्माउन बाध्य बनाएको थियो उसकी आमालाई । अन्त्यमा छोरा नभएपछि अर्की बिहे गरी आजसम्म नापत्ता छ उसको बाबु । हो यही कुराले गर्दा बारम्बार ठुङ्गीरहन्छ सहनशीलालाई , किनकी उसको बाबाले छोरीलाई सन्ताननै ठानेन । यस्तो र्स्वर्गभन्दा रमणीय ठाउँ छोडेर उनीहरू पनि अरु आफन्तहरूकै पछि लागेर झापाको तल्लो भागमा बसाइ सरी आजभन्दा १३ वर्षघि आएका थिए । जुन ठाउँमा सरे पनि उसको वाल मस्तिष्कमा पितृसत्तात्मक समाजले रोपेको छोरीप्रतिको नकारात्मक सोचाइको बिउ झन-झन झाँगिदै गयो । त्यसैले ऊ छोरीले पनि समाजमा राम्रो काम गरेर देखाउन सक्छन् भन्ने नमूना बन्न चाहन्छे । ऊ सरकारी बिद्यालयबाटनै विशिष्ट श्रेणीमा एस.एल.सी. पास गरी एक कुशल इञ्जिनियर बन्छे । तर पनि आफ्नो देशमा भनेजस्तो काम नपाएपछि विदेशिएको हो । यो उसको रहर नभै बाध्यता हो । किनकी उसले बहिनीहरूलाई शिक्षित बनाएर आमाको मुहार हँसाउनु छ । उसको पढाइ पूरागर्नलाई उसकी आमाले जमिन बेच्नु परेको थियो । जमिन बेचेरै भए पनि उसलाई उसकी आमाले उसको रोजाइको बिषय पढाएकी थिइन् । म पढेपछि बहिनीहरूलाई पढाउने अनि आमालाई पाल्ने जिम्मा मेरो हो भनेर बेलाबेलामा ऊ आमालाई अभावमा पोलेको घाउमा मलम लगाइ दिन्थी । उसको यस्तो कुराले आमाको निस्तेज अनुहारमा अलिकति भए पनि कान्ति सलबलाउँथ्यो । आमा पनि आशाको मधुर मुस्कान र्छर्दै भन्थिन् ” छोरी ! हेर कसो गरेर हुन्छ यो अलिकति बचेको जमिनलाई दुष्टहरूको पञ्जाबाट मुक्त गर्नुपर्छ है ? दिनदिनै सीमाना मिचेर हाम्रो जमिन हडप्न लागिसके यी राक्षशहरूले । यिनीहरूबाट आफ्नो स्वाभिमान र अस्तित्व बचाउन गाह्रो भइसक्यो । चाँडै हामी पनि सम्पन्न भएर यिनीहरूको कठोर दृष्टिलाई परिवर्तन गर्नुपर्छ है ? ” त्यसैले गर्दा आज ऊ विदेशिएको हो । मूख्य कुरो त उसले समाजको पितृसत्तात्मक सोचाइलाई परिवर्तन गरी छोरी पनि छोराभन्दा कम छैनन् भन्ने देखाउनु छ उसलाई । अनि आमाको सपना साकार पार्नु छ । यस्तै-यस्तै बाध्यताले ऊ विदेशीएकी हो ।
जब एयरहोस्टेजले अब हामी चाँडैँनै त्रिभूवन विमानस्थल काठमाडौं अवतरण गर्न लागिरहेछौं भनी कराएको सुन्छे अनि मात्र ऊ आफ्नो अतीतमा बगिरहेको सोचाइबाट ब्यूँझन्छे । ए नेपालपो आइपुगिसकिएछ । तन्याकतुनुक लुगा मिलाउँछे । अनि बिमानबाट ओर्लन्छे । अब गाउँ र्फकने कसरी ? बसमा जाउँ भने ढीलो हुन्छ । प्लेनबाटै जाने निधो गरी टिकट मिलाउँछे । भोलि बिहान ६ बजेको बुद्ध एयरबाट ऊ भद्रपुर जाँदैछे । त्यसैले यसो अलिअलि किनमेल पनि गर्छे आमा र बहिनीहरूको लागि भनेर । उसले आमालाई रातो सारी , चोली , पछ्यौरा सबै रातै किनिदिन्छे । अनि बहिनीहरूको लागि भनेर उसले टिर्सट , पाइन्ट किनिदिन्छे । सबै सामान मिलाएर बेलुकी सुत्ने ठाउँको बन्दोबस्तको लागि लजमा गएर हल्का खाना र एक रातको सुत्ने ब्यबस्था मिलाउँछे । भोलिपल्ट बिहान उठेर एयरपोर्ट पुग्दा प्लेन छुट्नै लागेको हुन्छ । प्लेनबाट उसले सेतै हिउँले ढाकिएका हिमाल , भीरपाखा अनि तराइका साना साना घरहरू हेर्दै ४५ मिनेटमै भद्रपुर बिमानस्थल आइपुग्छे । अब उसलाई गाउँ जानुपर्ने बसमा चढ्नुपर्छ । त्यहाँबाट ३ घण्टाको बसको यात्रापछि ऊ गाउँ पुग्छे । ओहो ! कत्ति धेरै पानी परेछ । सबै सडकहरू पनि खोला जस्तै डामाडोल छ । पानी अझै रोकिएको छैन । झन् गाउँमा त खोला बढेर के गति भएको होला भन्दै बस स्टपमा पुग्छे । बस स्टपमा पुगेर ऊ बिर्तामोड जाने बसमा चढ्छे । उसको दिमाग त अहिले त्यसै त्यसै फुरुङ्ग भैराछ । अब त आमा बहिनी र साथीभाइ सबैलाई दुइ अढाइ घण्टापछि भेट्छु । अँ साँच्ची आमाले आज के को सब्जी पकाउनु भएको होला ? आमाले जे पकाए पनि कत्ति मीठो हुन्छ । आमाले पकाएको खाना सम्झेर उसको मुख रसाउँछ । घरमा आफू नेपाल फर्केको अझसम्म थाहानै छैन । एकपल्ट फेरि फोन लगाई हेर्नु पर्यो । फोन लागि पो हाल्छ कि ? म विर्तामोड आइपुगेँ भन्नलाई फोन गर्न खोज्छे । कति खुशि हुँदा हुन् मलाई देखेपछि बहिनीहरू । दिदी मलाई के ल्याइदिनुभयो भनेर ब्याग खोतल्न आउँदा होलान् । आमाले त आफ्नो मायालु अङ्गालोमा कसेर म्वाइ खानुहुन्छ होला । छोरी भैगो अब जानु पदैन मलाई छोडेर विदेश भन्दै हर्षका आँसु मेरो गालामा तपतप चुहाउँदै मेरो कपाल सुम्सुम्याउनु हुन्छ होला । मैले ल्याएको रातो सारी चोली लगाई रातो पछ्यौरी ओढ्दा मेरी आमा आज दुलहीझैं देखिनु हुन्छ होला । कति खुशि हुनुहुन्छ होला । साँच्चै भन्ने हो भने आमाले आजसम्म गतिलो लुगा लगाउन पाउनुनै भएको छैन । मैले ल्याइदिएको लुगा लगाएर भोलि मज्जाले फोटो खिचिन्छ अनि साथीभाइसँग भेटघाट गरिन्छ । आहा ! क्या रमाइलो क्षण होला त्यो । उसको फोननै लाग्दैन । अनि ऊ चेतनाथदाइलाई पनि फोन गर्दछे । चेतनाथदाइलाई चाहिँ फोन लाग्दछ । दाइ म सहनशीला बिर्तामोड आइपुगेँ । घरमा फोन नलागेर हैरान भैसकेँ । दाइ किन फोन नलागेको ? यत्ति भनेपछि चेतनाथदाइले तमतमाइलो स्वर निकालेर पख म तिमीलाई लिन आउँछु तिमी अहिले कहाँ छौ भन्छ । ऊ भन्छे म बसस्टपमै हो । आधाघण्टा पर्खन्दा पनि चेतनाथदाइ नआएपछि ऊ बस चढ्छे । बसको सिटमा बसेर चारैतिर आँखा कसैको खोजिमा दौडाउँछे , कोही चिनेजानेका मान्छे भेटी पो हाल्छ कि भनेर । ड्राइभरले बजिरहेको लोकगीतको सिडी अफ गरेर समाचार लगाउँछ । कान्तिपुबाट बिहान ८ बजेको समाचार भनिरहेको हुन्छ । समाचारमा बाढीपहिरोले ठाउँठाउँमा पुर्याएको क्षति र मान्छेको बिचल्ली परेको , ज्यान गुमाएको बारेमा मात्र भनिरहन्छ । उसलाई आफ्नो देशको गरीब जनता जो दैवी प्रकोपमा ज्यान गुमाउन बाध्य छन् , उनीहरूप्रति सहानुभूति प्रकट हुन्छ । किन यो देशका नेताहरूले आफ्नो लुछाचुँडीमा गरीब जनताप्रति चासो देखाउन नसकेका होलान् – उनीहरूले मोजमस्ती गर्ने पैसाले नदीनालालाई तटबन्धन गरी व्यवस्थित बनाइदिएको भए पनि त गरीबले ज्यान त गुमाउनुपर्ने थिएन । अनि कतिले घरबार बिहीन हुनुपर्ने त थिएन । बिचरा सुत्केरी , वालबच्चाहरू आज बाढी पहिरोमा परी भोकभोकै मरिराछन् । खोइ जनताले पाउने अधिकार गाँस , बास र कपासको व्यवस्था – शिक्षा स्वास्थ्यको कुरै छैन । यहाँ त भोको पेटले सारङ्गी रेट्नु परेको छ । आफन्तको अकालको वियोगमा छट्पटिनु परेको छ । उसका आँखामा अनायासै आँसु टलपलाउँछ । धिक्कार छ नेताहरू ! तिमीहरूलाई । शहरमुखिभै सुविधा सम्पन्न महलमा बस्दै भागबण्डाको लागि बैठक बस्दैमा बर्षौं बिताइसक्यौ । गरीब जनताको आत्माले तिमीहरूलाई सराप्नेछ , कहिल्यै तिमीहरूको भलो नहोस् भनेर । यति सोच्दासोच्दै बस गुड्न थाल्छ । चेतनाथदाइ आइपुग्छ । ऊ सहनशीलालाई देखेपछि परैदेखि निन्याउरो अनुहार लगाउँदै आउँछ । अनि उसको दुःख पोख्ने साथी भेटेझैं घोप्टो परेर सहनशीलाको घुँडामा घोप्टिएर डाँको छोड्छ । के भयो दाइ – किन यसरी रुनु भएको भन्दै सम्झाउँछे । उसको सम्झाइले त झन कोकोहोलो गर्छ । सहनशीला ! हाम्रो गाउँ बाढीले बगायो । सबैजना……………………. भन्न नपाउँदै सहनशीला भन्छे अनि आमा बहिनीहरू कहाँ जानुभयो त ? कसको शरणमा पर्नुभाछ अहिले ? बाढीले उहाँहरूलाई पनि बगायो । आजसम्म लाश पनि भेटिएको छैन । म साथीको घर बिर्तामोड आएको भएर बचेँ भन्दै कङ्कला शब्द गरेर चेतनाथदाइ रुन्छ । यस्तो कुरा सुनेपछि सहनशीला पूरै बरफ बन्छ । उसलाई हजारौं मीटर अग्लो भीरले थिचेझैं हुन्छ । पूरै अरिङ्गालको गोलो खनिएझैं लाग्छ । उसका बिष्फारित आँखामा अश्रुसरिताले डम्म भरिएर पूरै तुवाँलाले ढाक्छ । ऊ टाउको भुइँमा बजार्छे । छाति पिटीपिटी अलापविलाप गर्न थाल्छे । हे भगवान ! मलाई सजायँनै दिनु थियो भने अरुनै सजायँ दिन किन सकेनौ ? मलाई मुटु बिनाको अनि प्राण बिनाको निर्जिव ढुङ्गो किन बनाएर मेरी प्राणप्यारी आमा र मुटुका टुक्रा मेरी बहिनीलाई चुँडेर लग्यौ ? उनीहरूलाई जहाँ लगेका छौ मलाई पनि अहिलेनै लैजाऊ । हुँ हुँ ……..गर्दै दाँत किटकिटाउँछे । साँच्चिकै तिमी छौ भने मेरो पुकार सुनिदेऊ । मेरी आमा ! तिमी कहाँ छौ ? किन मलाई आज एक्ली बनाएर बहिनीलाई चाहिँ साथमा लिएर गयौ । मेरो के गल्ती थियो मैले कुन जन्मको पाप भोग्नु परेको यो ? सानै छँदा हामी छोरीलाई जिउँदै मारेर बुबाले छोराको लागि अर्कै बिहे गरेर आजसम्म कुनै अत्तोपत्तो छैन । तिमी पनि मलाई छोडेर गयौ । अब म कसको मुख हेरेर बाँचौं ? खोइ त मलाई तिम्रो सपना पूरागर्ने समय दिएको ? म कति अभागिनी रहेछु आफ्नी आमाको कुनै इच्छालाई पूरा गर्न सकिन भन्दै बेहोश भई भुइँमा पछारिन्छे ।मान्छेहरूको भीड लाग्दै जान्छ । अनि चेतनाथदाइले उसलाई नजिकैको क्लिनिकमा पु्र्याएर सलाइन चढाउँछ । उसको होश आएकै छैन । पूरै शरीर नीलो छ , रगत सुकेजस्तो । उसले सपना देख्छे आमाले आएर उसका आँखाबाट झरेका आँसु पुछ्दै छोरी ! तेरी आमा भनेको त नेपाल आमा हुन् । तैँले नेपालआमाको मुहार हँसाउनु पर्छ । यहाँका सारा जनतानै तेरा दाजुभाइ दिदीबहिनी हुन् तँ किन धन्दा मान्छेस् ? मेरो आत्मा मरेको छैन । म तँ भित्रनै छु । बाहिरी आँखाले मलाई देख्न सक्दिनस् । पीर नगर छोरी ! अब उठ । अभावमा पिल्सिएका गरीब दुःखीको सहारा बनेस् छोरी ! नेपाल आमाको बाँझो कोखमा शान्तिको बिउ रोपेस् । सुख सम्बृद्धि फैलाऊ छोरी ! यसबाटनै मेरो सपना पूरा हुन्छ । नेपालआमाको सपना पूरा गर्नु भनेकोनै मेरो सपना पूरा गर्नु हो । यति भनेपछि उसकी आमा सपनाबाट हराउँदै उसको मुखभित्र पसी हराउँछिन् । ऊ ब्युँझन्छे । छेउमा चेतनाथदाइ झोक्राएर बसेको हुन्छ । ऊ जुरुक्क उठ्न खोज्छे तर सक्दिन । बेडबाटै दाइलाई सम्झाउँछे । दाइ ! पीर नगर्नुस् । अब जे हुनु भै हाल्यो अब हामी आफ्नो देशलाईनै आफ्नी आमा मानेर यहाँनै केही गर्नुपर्छ भन्दै मु्ठ्ठी कस्छे । ऊ छक्क पर्छ । कतै यो बहुलाएकी त होइन ? अचेत अवस्थामै पो छ कि ! भनेर एक टक लगाएर हेरिरहन्छ । हेरिरहन्छ । सहनशीला भने देश-प्रेमको भावनाले ओतप्रोत भएको गीत गुनगुनाउन थाल्छे ।
टीका खरेल
कुलेश्वर , काठमाण्डौ
tikakharel@rocketmail.com
http://pallawa.com.np/?p=12789
