Skip to content


म फूल फुलाउन चाहन्थे
सुन्दर बगैंचाको निर्माण गरेर
बेली चमेली र गुन्केसरीहरू
लरक्क परेका डालीहरूमा
उपकारी गुणी,
तर सपनाको खोजीमा
सुन्दर झोपडीलाई
जबर्जस्ती भत्काएर
भौतारी रहेछु,
आजकल म रेगिस्थानतिर
सपनाको खोजीमा,
योग्यताको प्रमाण पत्रहरू
शिरानी बनाएर
काल्पनिक स्वार्गमा विचरण गर्दैछु
बहादुरको उपनाम पुच्छर लगाएर
प्रियसीको सुनको बाला सजाउने
सपनामा सहभागी हुदै
स्वप्न संसारका ताजमहलहरूमा
भौतारिदैछु सपनाको खोजीमा,
ब्यञ्जन ज्युनार गर्ने अनि
सुकिला मुकिला भएर
शहरमै थान्को लाग्ने
मृगतृष्णा पालेर
भएको गुमाएर
नभएकाको प्राप्तिको चाहनामा
बन्धकी जीवन बाच्दैछु
आफै पैसामा बेचिएर
सपना खोज्दै छु म
अचेल रेगीस्थानतिर
उन्मुक्तिको अभिलाषामा
बिचरा चाहनाको गला निमोठेर
सृष्टिको सहारा, निर्माताको
आशाको बसन्त,
निर्मित हुनुको घमण्डले
फुलेर म आफै हराएको छु
सातसमुद्रपारीको संसारमा
हो, सपनाको खोजीमा ।

तीर्थ “यात्री” पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *