रामबहादुरको मिहिनेत

  • by


कुनै एउटा गाउँमा हर्कबहादुर नाम गरेको मानिस बस्थ्यो । सम्पत्तिको नाममा उसको आफ्नो केही थिएन । जीवन निर्वाहका लागि ऊ अर्काको घरमा हली बसेको थियो । हलीको काम गर्नु नै उसको दैनिकी थियो । उसको परिवारमा ऊ अनि छोरो रामबहादुर मात्र थिए । रामबहादुर वर्षको छँदा उसकी आमा रामप्यारीको क्षयरोगबाट मृत्यु भएको थियो ।

समयको क्रमसँगै रामबहादुर हुर्कदै गयो । हुने बिरुवाको चिल्लो पात भनेझैं सानै उमेरदेखि रामबहादुरमा विलक्षण प्रतिभाहरू देखा पर्न थाले । गरिबीको कारणले घरमा पढने अवस्था नहुँदा पनि रामबहादुर आफ्ना मालिकको छोराले च्यातेर फ्याँकेका पुराना किताब भेला पारेर पढ्थ्यो । मिहिनेतको फल मिठो हुन्छ भनेझैं रामबहादुरले बाह्राखरी मात्रै होइन ए बी सी डि पनि जान्दै गयो । छोरालाई पढाइ गुनाइ गरेर ठूलो मान्छे बनाउने चाहना हर्कबहादुरको भए पनि ऊसँग पैसा नहुँदा रामबहादुरले स्कुल जान पाएको थिएन ।

उता मालिकको छोरो नरेश रामबहादुरको साथी थियो । ऊ गाउँकै सम्पन्न स्तरीय बोर्डिङ स्कुलको कक्षा ६ मा पढ्थ्यो । नरेशले सधै नयाँ ब्यागमा कापी किताब बोकेर टाई लगाएर स्कुलको ड्रेसमा स्कुल गएको देख्दा रामबहादुरलाई ज्यादै नियास्रो लाग्थ्यो । म पनि सम्पन्न परिवारमा जन्मिएको भए यसरी नै स्कुल जान पाउने थिएँ होला ।’ रामबहादुर सधैँ गम्भीर भएर यस्तै कुरा मनमा खेलाइरहन्थ्यो ।

एक दिनको कुरा हो । गाउँमा कसले अङ्ग्रेजी भाषाको हिज्जे ठीकसँग भन्ने विषयमा १० वर्ष मुनिका बालबालिकाहरूबीच प्रतियोगिता हुने भयो । यसमा अन्य बाल बालिकाका अतिरिक्त नरेश र रामबहादुरले पनि भाग लिए । सबैको ध्यान नरेशतर्फ खिचिएको थियो । नरेशका बाबु धनी सम्पन्न साहु थिए । गाउँमा उनको ठूलै रवाफ चल्थ्यो । त्यसैले उनीहरूको ध्यान नरेशतर्फ खिचिनु स्वाभाविकै थियो । सबै भनिरहेका थिए – नरेश प्रथम हुन्छ । निर्णायक मण्डलले सबैको ध्यान भङ्ग गर्दै परिणाम घोषणा गरिदिए – रामबहादुर प्रथम भए । सबै तिन छक्क परे । रामबहादुरले फूलमाला र तालिको गडगडाहटबीच पुरस्कार थाप्यो र मञ्चमा दुई शब्द बोल्ने अवसर पनि पायो ।

यसै क्रममा रामबहादुरले भन्यो-साथी हो निराश हुनुपर्दैन, मिहिनेतको फल मिठो हुन्छ । आज म यही मिहिनेतको कारणले प्रथम हुन सकें । सबैले ताली बजाएर होस्टेमा हैंसे थपिदिए ।

चन्द्रमा दाहिना भएपछि कसैको केही लाग्दो रहेनछ । पुरस्कार वितरणको कार्यक्रम सकिएको केही समयपछि नै रामबहादुरको मिहिनेत र लगनसिलताको प्रसंशा गाउँभरी फैलियो । एउटा गैह्र सरकारी संस्था बाल कल्याण समितिले छात्रवृद्धि दियो रामबहादुरलाई नरेश पढने स्कुलमै कक्षा ६ मा भर्ना गरिदियो ।

रामबहादुर पढाइमा सधैं अब्बल हुँदै गयो । नरेश भने सधैको फेलका फेल । रामबहादुर सबैको प्यारो साथी भयो, नरेश मारपिटको नाइके भयो ।

समय बितेको पत्तै भएन । एस.एल.सी.मा राम्रो अङ्क ल्याएर डाक्टर पढन थालेको केही वर्षमै रामबहादुर डाक्टर बन्यो ।

एक दिन रामबहादुर आँखा अस्पतालको अत्याधुनिक मेसिनले जडित ल्याबमा रोगीको आँखा जाँच गर्दै थियो । बाहिरबाट ढोका ढक्ढकाएको आवाज आयो । ढोका खोलेर हेर्छ-एक जना जवान ठिटो अर्ध मूर्छित अवस्थामा छटपटाई रहेको थियो । सोधखोज गर्दा पत्ता लाग्यो – ऊ त नरेश पो रहेछ । साथी साथीबीचको झगडामा तीखो चुच्चो जस्तो औंठीले हानेको घुस्सा नरेशको आँखैमा लागेको रहेछ । डाक्टर रामबहादुरले बढो धैर्य र मिहिनेतका साथ आँखाको उपचार गरे । उपचार सफल भयो । आजकल भेटघाट हुंदा सबैसँग नरेश भन्ने गर्छ

मिहिनेत गर मिहिनेत गर मिहिनेतको फल मिठो हुन्छ मिहिनेत गरे के हुँदैन र डाक्टर रामबहादुरलाई हेर ।

मुना २०६७ चैत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *