Skip to content


भाषाले एकअर्काको मनोभाव र आवश्यकतातर्फ सङ्केत गर्दछ । ध्वनि, शब्द र भावको सम्मिश्रणबाट भाषाको निर्माण हुन्छ । भाषाको प्रष्फुटन प्राणी जीवनमा जन्मदेखि नै उच्चारण हुन थाल्छ र विस्तारैबिस्तार विकासको उपयोगितामा परिवर्तित भई संसारसामु सुखद चिनारी बनाउन सफल सिद्ध हुन्छ । कुनैपनि समुदायको वंशानुक्रम, पारिवारिक, सामाजिक सभ्यता, शिक्षा तथा संस्कृतिको उत्थानमा भाषा प्रमुख मानिन्छ ।

भाषा शब्द, आकाश तथा ब्रहमाण्ड, पशुपंक्षी चराचर जगत्मा सञ्चारित छ । संसारको सर्वश्रेष्ठ जाति मानव भएकाले उसको चरण विचरण विचारको सम्प्रेषण गर्ने माध्यम भाषा नै हो । कहिं राष्ट्रिय भाषा त कतै अन्तर्राष्ट्रियस्तरको भाषाको प्रभावकारिता त त्यत्तिकै संख्यामा ९२ जति मातृभाषा पनि हाम्रा समाजमा व्याप्त छन् । नेपालको राष्ट्रिय जनगणना २०५८ ले १०३ जाति रहेको देखाएतापनि ९२ जतिलाई मातृभाषाका रूपमा सूचीकरण गरेको पाइएको छ । भाषा सबैका निम्ति प्रयोगायुक्त छ र त्यत्तिकै आवश्यक पनि छ ।

नेपालका भाषाहरूको वर्तमान अवस्था, वर्तमानको साहित्यिक अवस्था र समस्या, सामाजिक रूपान्तरणमा स्रष्टाहरूको भूमिका एवं नेपालको राष्ट्रिय शैक्षिक तथा संस्कृतिको स्वरूप निर्धारण गरी नीति निर्माणमा सघाउ पुर्‍याउने अभिप्रायले नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको संयुक्त पहलमा नयाँ कदमको थालनी धरान, सोलुखुम्बु, बिर्तामोड झापा, बाग्लुङ्ग र महेन्द्रनगर, कञ्चनपुर हुँदै हाल दाङको लमहीमा मातृभाषा संगोष्ठि सम्पन्न गरिएको छ । यसलाई स्वागतयोग्य अभियानका रूपमा मानिएको छ ।

मातृभाषाको समाजशास्त्रीय अध्ययन, विवेचन, विश्लेषण एवं अन्वेषणात्मक कार्यका निम्ति प्रत्यक्ष ती समुदायसँग सम्बन्धित विज्ञ, भाषाविद्हरूका माझ बसेर सङ्गोष्ठी, संवाद, छलफल र निष्कर्षको खोजमा यतिखेर नेपाल प्रज्ञा प्रतिष्ठान तथा आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको सक्रियता निकै देखिएको छ । यही उद्देश्य अनुरूप भर्खरमात्र २०६८ बैशाष २६ र २७ का दिन दाङ देउखुरीको मनोरम नगरी लमहीमा मध्यपश्चिमाञ्चल स्तरीय मातृभाषा सङ्गोष्ठी तथा बहुभाषिक कविगोष्ठीको आयोजन गरिएको थियो । जसको संयोजन एवं व्यवस्थापन अवधी सांस्कृतिक विकास परिषद् जिल्ला कार्यसमिति दाङका अध्यक्ष जगतराम यादव र नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् दाङ देउखुरीका तिल बहादुर पुनले मिलाएका थिए ।

कार्यक्रमलाई तीन चरणमा विभाजित गरिएको थियो । उद्घाटन एवं सम्मान कार्यक्रम, शुभकामना आदनप्रदान र सांस्कृतिक कार्यक्रम त्यसैगरी दोस्रो चरणमा विभिन्न मातृभाषाका कार्यपत्रको प्रस्तुति, टिप्पणी र छलफल त्यसपछि बहुभाषिक कविगोष्ठी, प्रशंसा पत्र, सहभागिताको प्रमाणपत्र वितरण, समापन र धन्यवाद ज्ञापन रहेको थियो ।

पहिलो चरणको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कुलपति बैरागी काइँलाले मन्तव्य दिँदै समावेशी चरित्र भएको दुई उपत्यका दाङ देउखुरीमा विविध सामाजिक संरचना भएको हुँदा संस्कृति र साहित्यको खानी नै दाङ रहेको विचार व्यक्त गर्नुभयो यसैगरी मातृभाषाको विकास खोज र अनुसन्धानका लागि प्रज्ञा प्रतिष्ठानले अहिले मुलुकभरि नै सक्रियता देखाइरहेको कुरा औँल्याउदै राज्यबाट सदियौँदेखि उपक्षित तमाम भाषाहरूको संरक्षण र विकास गर्नु युगको आवाज भएकाले यसको पहिचान गरी संरक्षण एवं सम्बर्द्धन गर्न आवश्यक रहेको मन्तव्य व्यक्त गर्नुभएको थियो । अवधी सांस्कृतिक विकास परिषद् दाङका अध्यक्ष जगतराम यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपकुलपति गंगा प्रसाद उप्रेती, भाषा विद् डा. नवलकिशोर राई, अवधि सांस्कृतिक विकास परिषद्का अध्यक्ष विश्वनाथ पाठक र समाजसेवी एकराज शर्माले पनि मन्तव्य राख्नुभएको थियो । सोही कार्यक्रमकाबीच भाषा एवं साहित्यको फाँटमा राष्ट्रियस्तरमा योगदान पुर्याउने नित्यानन्द शर्मा (नेपाली), मेदिनीकुमार केवल (अवधी तथा नेपाली), कृष्णराज सर्वहारी (थारू), अशोक थारू (थारू), बम कुमारी बुढा (मगर खाम), जुक्तिप्रसाद पुन (मगर खाम), बिक्रममणि त्रिपाठी (अवधी), आशाराम मौर्य (कला) एकराज शर्मा (समाजसेवा) र अस्फाक संघर्ष( उर्दु) तथा विभिन्न भाषाका लेखक तथा स्रष्टाहरूलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा विभिन्न मातृभाषाको कार्यपत्र प्रस्तुत गरिएको थियो । भाषाविद् डा. नवरकिशोर राईको अध्यक्षतामा सम्पन्न मातृभाषा संगोष्ठीमा जीवन रानाले राना थारू भाषाको कार्यपत्र, डंगौरा थारू भाषाको कार्यपत्र कृष्णराज सर्वहारीले कठरिया भाषाको कार्यपत्र मुकेश चौधरीले प्रस्तुत गरेका थिए । उर्दु भाषाको कार्यपत्र अब्दुल सलामले श्रीमती अम्बिका रेग्मीले काइके मगर भाषाको, पाङ खाम मगर भाषाको कार्यपत्र बमकुमारी बुढाले प्रस्तुत गरेकी थिइन् । विष्णुकुमार सिंजालीद्वारा प्रस्तुत ढुटमगर भाषाको कार्यपत्र, अवधि भाषाको कार्यपत्र विश्वनाथ पाठकद्वारा प्रस्तुत गरिएको थियो ।

मातृभाषाका कार्यपत्रको प्रस्तुती एवं छलफल र सङ्गोष्ठीप्रति सबैको चासो एवं उत्साहजनक सहभागिता रहेको थियो । यस कार्यक्रमले दाङ देउखुरीलाई मात्र होइन, राष्ट्रियस्तरमा भाषा, सहित्य, संस्कृति तथा मातृभाषाका सहभागी प्रतिनिधिहरूमा निकै आर्कषण बढाएको प्रतीत हुन्थ्यो ।

कुनै कसैको भाषाप्रति कसैले पनि विद्वेष एवं वैरभाव किमार्थ राख्नु हुदैन । एकले अर्काको भाषा एवं साहित्यको सम्मान गर्न सिक्नु र अधिकाधिक भाषाको ज्ञान राख्नु अझ उत्तम कुरा हो । अहिले नेपालका राजनीतिक दल र तिनका नेताहरूले जात, धर्म, भाषा र क्षेत्रको नारा दिएर राजनीति गर्ने अति घृणित खेल समेत खेल्दैछन् । जुन कुरालाई सङ्कीर्णताको पराकाष्ठा मान्न सकिन्छ ।

भाषा कथ्य, लेख्य, तथ्य एवं साङ्केतिक वर्णवाणी उल्लेख्य रूप हुन् । फरक फरक हावा, माटो, पानी, रहनसहन, बोलीवाणी सर्वरूप प्राणिका छन् । त्यसैले भाषा भित्रका अनेक रङ्गरूप, वणर्, कथा, र पुराण पाइने गरेको यथार्थ हो । भाषा समाजसँग गाँसिएको प्रमुख अभिन्न अंग हो । त्यहि भाषाको अभावमा मानव जीवन प्राणहीन तुल्य बन्न पुगेको हुन्छ । अहिले आएर नेपालमा सबैभाषिका समुदायले आ आफ्ना मातृभाषाप्रति अध्ययन अनुसन्धान लेखन पठनपाठन एवं वाचनतर्फ निकै चासो देखाइरहेको आभास मिल्दैछ र अहिले देशव्यापी रूपमा मातृभाषाप्रतिको बहस जारी छ । जुन कुरा बडो सान्दर्भिक बन्न पुगेको छ । त्यतिकै समाजशास्त्रीय ढङ्गले मातृभाषाप्रतिको सार्थक बहसको खाँचो छ ।

शनिबार, गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *