देशबिहिन
देश भएर फहराउँछ
मेरो झन्डा!
म यो नीलो रातको
निरवतामा-
न सूर्य देख्छु
न चन्द्रमा !
विक्षिप्त मनको
बलेसीबाट
चुहिइरहन्छ
तप्प तप्प
आँसु मदिरा ।
बिहानै उठेर दैलो पोत्छु,
अनि,
मनको दैलो खोल्छु
तर यो मनको
रहरको
दैलो घ्यार्र खोलिंदैन!
तुइन तरेर
दरौंदीको
भेलहरू माथि धावा बोल्छु
नीलो रातका
भोगाइहरू-
मनैमनमा गोड्न थाल्छु
हरियै धानका गाभाहरू
सुनगाभामा परिणत हुन
महिना बाँकी छ,
आगत पर्खेर बसेको
समय बाँकी छ ।
मनमा अचाक्लि
घाउ लाग्छ,
मनकै क्यानभासमा
रंग पोतिन्छ!
म रंगहरूमा
रंगिन सक्तिन!
कमेरो खान्छु,
माटो खान्छु ।
आलि आलिमा
सिर्जनाका
पाइलाहरू टेक्दै हिँड़छु ।
गीतहरूको पेटारो
खरबारीमा
खोल्दै हिँडछु
यद्यपि
म रम्न सक्तिन
नीलो रात यो –
नियतीको
चिहानबाट बौरिएर
संविधानको कालो अक्षर
मेरै आँखामा लेख्छु भन्छ
तर म चिन्दिन –
रक्तरंजित
शान्तिप्रिय अक्षरहरू!
प्रणयसुखको
नीलो रात
बल्छीमा परेर
देश मर्यो
मूल्यहिन चित्कारका
ऐनाहरूमा-
हेर्दै रमाए गिद्धहरू ।
आफ्नै झण्डाको
कात्रो ओढेर
मेरो प्यारो देश जल्यो
म त्यही देशकी
विधवा प्रकृति !
यद्यपि
म लुकीरहेछु –
अनाम बगरका खेतहरूमा !
स्वर्गबाट –
समवेदना
लिएर झर्छन् – देउताहरू
जुनकिरीका रहरहरू
पिएर जान्छन् – देउताहरू
देउताहरूको दयाले
टारी फाँटको
कुलो चल्छ
उनीहरूकै दयाले
अनिकालमा
चुलो बल्छ
अनि
सुखका सूत्रहरूमा
जेलिंदै गरेको
नीलो रात
क्रमश: ढल्छ – आँखाबाट
ऐठन भएर रातभर
बेस्मारी बल्झिन्छु
कैद छ मेरो स्वतन्त्रता
अबोधगम्य छ अस्तित्व
म सार्वभौम छैन,
किनकी
मसित देश छैन
बादलका टुक्रा टुक्रा
गरा मुनि, गरा माथि
भन्ज्यांग भएर फैलन्छ
अनि म सम्झन्छु
प्रेम कथा,
प्रेमिल रंगका आभाहरू !
दुख्नुको पनि त सीमा हुन्छ
अचेल म
देश दुख्दिन,
माटोबिहिन छु- माटोमा!
कुल्चन्छु-
उसको सीमारेखा,
तरेर जान्छु- वैतरणी!
अनि मनको मझेरीमा
लम्पसार पर्छ नीलो रात…
प्रेमातुर मेरो देशको अनुहार !
नीलो रातको गर्भमा
राखेको छु
नीलो आकास,
त्यसैले
म जन्माइदिन्छु –
नयाँ देश,
नयाँ सीमाना,
झरी पछिको
नीलो आकास-
मेरो मृत्यु उत्सव
गणतन्त्र
नीलो रातको!!
