एकादेशमा एउटा देश थियो रे ! देश भएपछि त्यहाँ नागरिक हुने नै भए। नागरिक भएपछि कसै न कसैले त्यहाँ नेता भएर अवतार लिने नै भए। नेता जन्मेकैले गर्दा त्यहाँका नागरिक जनतामा रूपान्तरति भए रे ! यदि त्यहाँ नेता नभएका भए ती नागरिक नागरिक मात्रै हुन्थे वा मान्छे मात्रै हुन्थे रे तर तिनीहरूभन्दा धेरै माथि टाउकामा बसेर शासन गर्ने नेताहरूको प्रतिष्ठाका लागि तिनीहरू जनता भइदिए रे !
जनता भएपछि निरीहता हुने नै भयो। जनता निरीह थिए। उनीहरूलाई सधैँ खान लगाउनको दु:ख थियो। यातायातको असुविधा थियो। खानेपानी थिएन। अस्पताल थिएन। स्कुल थिएन। बिजुली थिएन। भए पनि कम्ती थियो, अपुग थियो। उनीहरूलाई आफ्ना भाग्यविधातासँग अनेक मागहरू राख्न सिकाइएको थियो। नेता नहुँदा देउतालाई उनीहरू भाग्यविधाता सम्झन्थे, नेता जन्मेपछि नेतालाई नै भाग्यविधाता सम्झन थाले। आफूसमक्ष माग राखिएपछि नेताहरू साह्रै खुसी हुन्थे। आफूलाई देउता नै ठान्थे र जनताले जति माग गर्थे, त्यसमा कैयौँ गुना थपेर उनीहरू जनतालाई ‘तथास्तु’ भनिदिन्थे।
सुरुसुरुमा त्यहाँका जनताले कसैसँग केही माग्न जानेका थिएनन्। आफ्नै मेलोमेसो गर्थे, हलो-कोदालो गर्थे, खर्क र बेसी गर्थे। मिहिनेत गर्थे, खान्थे। नेताहरूले नै आफैँसँग उनीहरूलाई माग राख्न उक्साएका हुन्। जनताका माग सारै सामान्य खालका स-साना हुन्थे। उनीहरू विचार गर्थे पूरा हुनेसम्मका माग राख्नुपर्छ, पूरा नहुने सपना देख्नुहुन्न। तर, नेताहरू एकपछि अर्को उनीहरूका घर-आँगनमा आउँथे र जनताले देखेका सपनाभन्दा सय गुना ठूला सपना देख्न लगाउँथे।
जनता बिहान-बेलुकाको छाक ढिँडो, गुन्द्रक, आटो-पीठो जेले भए पनि टार्ने सपना देख्थे र नेताहरूसमक्ष त्यसका लागि भरथेगको माग राख्थे। नेताहरू दाल, तरकारी, अचार, गाईको दूधसँग मसिना चामलको भात खुवाउने कुरा गर्थे। साताको एक-दुई छाक माछामासु र फलफूल पनि खान पाउने व्यवस्था गरििदने वचन दिन्थे। प्रत्येक जनतासँग एउटा घर, खेती, चरन र लैनो गाई हुनेछ भनेर घोषणा गरििदन्थे।
जनताले गाउँमा एउटा प्राथमिक स्कुलको सपना देखे। नेताहरू आएर तिमीहरूलाई नाथे प्राइमरी स्कुलले कहाँ पुग्छ, विश्वविद्यालय नै चाहिन्छ भन्दै विश्वविद्यालय ल्याउने निर्णय गरेर सही गरििदए। जनता स्वास्थ्य कार्यकर्तासम्म भएको एउटा स्वास्थ्य चौकी भए हुन्थ्यो भनेर कुरा उठाउँथे, नेताहरू डाक्टरहरूले भरिएको कुन्नि कति शय्याको ठूलै अस्पताल ल्याइदिन राजधानीतिर लाग्थे।
जनताको गाउँमा बाटोको सारै समस्या थियो। कति भरियाहरू, कति गोठालाहरू, कति घाँसीहरू, कति स्कुले केटाकेटीहरू बाटो हिँड्दा कतिपटक भीरको ढुंगामा ठोक्किएर खोँचमा खसेका थिए। त्यो ढुंगो फुटाएर टाउको नठोक्किने बनाइमाग्न उनीहरूले नेतालाई गुहारे। नेताहरू आएर त्यस भीरमा ढुंगो फुटाउने होइन, सडक खन्ने र कालोपत्रेसमेत गर्ने कटिबद्धता प्रकट गरेर गए। अरू धेरै जना भीरबाट लडेपछि अर्कोपल्ट कुरा उठाउँदा त्यस भीरमा सुरुङ मार्ग नै बनाउने टुंगो लगाएर नेताहरू सहर पसे र उतै बसे। जनताको गाउँमा केटाकेटीका लागि खेल्ने चौरको दर्कार थियो। गाउँलेले श्रम लगाएर चौर खन्ने निर्णय गरेको थाहा पाउनासाथ नेताहरूले त्यो ठाउँमा खेल्ने चौर होइन, हवाईजहाज बस्ने एयरपोर्ट नै बनाउने घोषणा गरे।
खानेपानीको झन् कुरै भएन, दुई घन्टा लगाएर कुवामा पुगिन्थ्यो। जनताले त्यस कुराको समाधानका लागि डाकेको बैठकमा एकाएक प्रवेश गरेर नेताहरूले गाउँमा खानेपानी मात्रै होइन, घरघरमा माछा पाल्नसमेत पुग्ने गरी पानी ल्याउने कसम आए। डाँडापारकिो खोलाबाट टनेल खनेर कुन्नि कति मेगावाटको विद्युत् उत्पादन केन्द्र बनाउने र सिँचाइसमेतलाई पुग्ने पानी ल्याएर त्यो गाउँलाई नमुना गाउँका रूपमा विकास गर्ने गरी जनताले आशै नगरेका मागसमेत पूरा गरििदए नेताहरूले।
जनताले देशमा विकास खोजे, नेताले हिंसात्मक क्रान्ति नै उपलब्ध गराए। जनताले क्रान्ति पुग्यो अब शान्ति र सुरक्षा भए पुग्छ भने, नेताले कहाँ पुग्नु तिमीहरूलाई त संविधानसभा पो चाहिन्छ त भने। जनताले लौ ठीकै छ तर सानो आकारको संविधानसभा भए हामील्ााई पुग्छ भने, नेताले सानोले कहाँ पुग्छ, कम्तीमा ६ सय १ जनाको संविधानसभा चाहिन्छ भन्दै जनताले मागेको भन्दा कैयौँ गुना ठूलो आकारको संविधानसभा दिएर नेताहरूले चमत्कारै गरे। जनताले दुई वर्षमा बनाएको संविधान हामीलाई पर्याप्त हुन्छ भने। नेताहरूले भने दुई वर्षमा बनाएको संविधानले तिमीहरूका अधिकार रक्षा गर्न सक्तैन, तीन-चार वर्ष लगाएर बनाइदिन्छौँ। यसरी नेताहरूले जनताको मागभन्दा धेरै गुना बढी पूर्ति गर्दै गए, गर्दै गए।
लामो अनुसन्धानपछि पत्ता लाग्यो, त्यो देशमा विकास नहुनु र जनताले झन्झन् दु:ख पाइरहनुको खास कारण नेताको मन साह्रै ठूलो र जनताको मन साह्रै सानो भएर रहेछ। जनताको बुद्धि नपुगेर तिनीहरूले दु:ख पाएका रहेछन्। जनता थोरै थोरै माग्ने, नेता घ्यापघ्यापी दिने। यो माग र आपूर्तिको असन्तुलनले गर्दा देश अगाडि नबढेको रहेछ।
ती महान् र दयालु नेताहरू र साह्रै छोटो मन भएका मूर्ख जनता भएको देश अरू कुन हुन्थ्यो ! हाम्रै देश नेपाल थियो रे !
नेपाल साप्ताहिक ४४४

very very nice luv it
very very nice luv it