आज समीराको हेडक्वाटरबाट जिल्लामा सरुवा भएको पहिलो दिन । जीवनकै एक सफल क्षण अथवा हेडक्वाटरमा निष्क्रिय भई गुम्सिनुपर्ने बाध्यताबाट मुक्ति पाएको क्षण । नयाँ जिम्मेवारी, कर्तव्य र आफ्नो कुशलता देखाउनुपर्ने संवेदनशील दिनहरूको शुरुवात । उनलाई आज धेरै खुशी लागेको छ र केही असहजता पनि । कुनै एउटा चौकिको इन्चार्ज भएर रहन्छिन आजवाट समीरा । त्यसैले त आज प्र.नि. समीरा त्यसै त्यसै रोमान्चित भइरहेकी छिन । सम्पूर्ण तयारीका साथ उनी वडा प्रहरी कार्यालयतर्फ बढ्छिन ।
प्रहरी कार्यालयको माहोल शान्त छ आज, अन्य दिनहरूको भन्दा सफा अनि सबै सुरक्षाकर्मीहरू पोसाकमा उपस्थित छन् स्वागातार्थको निम्ति । एक साथ उठेका हातहरू अनि सँगै बजेका धेरै जुत्ताहरूको कडा आवाज । समीरा गर्व महशुस गर्दैछिन । प्र.स.नि. रमेश तथा प्र.ना.नि.द्वय कमल र सूर्यबहादुरसँग उनी लाग्छिन आफ्नो निजी कक्षतर्फ, शालीन मुस्कान छर्कदै । प्र.ह. तथा प्र.ज.हरू आफ्नै कामतिर लाग्छन ।
सबैजना आ आफ्नै ड्युटीमा व्यस्त छन् अनि प्र.नि. समीरा प्र.स.नि. रमेशसँग कार्यालयको वर्तमान स्थिति र जिम्मेवारी बारे कुरा गर्दैछिन । रमेश कुरा भन्दा धेरै समीराको मनमोहक मुस्कानतिर नजर गाडिरहेछ, स्थिर । कति सुन्दर मुहार झन उनको मुस्कान कति शान्त छ शालीनताले भरिएको जुन मुस्कानले जो कोहिलाई गहिराईमा पु¥याउन सक्छ ।
प्रहरी परिसरमा उनकै चर्चा परिचर्चा हुन थालेको छ । कति कलिलै उमेरमा इन्सपेक्टर भएकी…यति राम्री केटी किन प्रहरीमा भर्ती भएकी ? यस्तीलाई बिहे गर्न पाए त…कत्तिको कडा छे मोरी…। यस्तै यस्तै डरमिश्रित अभिव्यक्तिहरू…।
अब यो कार्यालयमा अश्लीलताले उन्मुक्ति पाएको छ । महिला प्र.ज.हरूलाई सिनियरहरूले गर्ने शारिरिक छेडछाड र अप्रत्यक्ष यौनजन्य व्यवहारको अन्त्य हुने भएको छ । महिला प्र.ज.हरूले शायद न्याय पाउँदैछन । प्र.ना.नि. कमल र सूर्यबहादुर खिन्न छन् तर प्र.स.नि. आजकल प्रसन्न छ किनकि ऊ समीरासँग निकट हुन पाएको छ, उसको शालीन मुस्कानमा एकोहोरो रुपमा हराउन पाएको छ । समीरा उसको मौन दृष्टि बुझ्न सकिरहेकी छैन।
प्र. जवानहरू आफ्नै ड्युटीमा व्यस्त छन् तर अहिले प्र.ज. सरोजको ड्युटी अफ भएकोले ऊ कोठामा बिस्तरामा पल्टदै टि.भी. हेर्दै बसेको छ । कार्यालयको अन्य प्रहरीहरूभन्दा एकदम भिन्न स्वभावको सरोजलाई सहजै बुझ्न सक्ने सायदै होलान् । कम बोल्ने सरोज आफ्नो कर्तव्यप्रति इमान्दार छ, एउटा सच्चा प्रहरीमा हुनुपर्ने सबैजसो गुण उसले अँगालेको छ । नारीलाई इज्जत गर्नु उसको विशेषता हो ।
एक्लै पल्टिदै बस्दा उसको मनमा अनायासै समीरा झल्किन्छिन् । सरोजको ओठ स्वत मुस्कुराउँछ खुशीको भावले । ऊ समीराको आकृति कुद्ने प्रयत्न गर्छ आफूभित्र । निराधार रुपमा प्रफुल्लित भईरहेछ । किन आयो उनको सम्झना? शायद नआउनुको पनि कुनै कारण छैन । यस्तैमा उसको ड्युटीको टाइम हुन्छ र ऊ चुस्ता लगाएर जान्छ ।
प्र.नि. समीरा सबै प्रहरीहरूलाई मुद्धा फाँटमा बोलाउछिन, केही जानकारी लिनका निम्ति । उनको नजरमा विशेषरुपले सरोज पर्न जान्छ किनकि ऊ हेर्दै अरुभन्दा भिन्न थियो । समीरा ऊ बारे नै सोच्न थाल्छिन् । केही बेरपछि फेरी सरोजलाई बोलाउछिन । ऊ आईपुग्छ र जोडले सलाम ठोक्छ । उनलाई त्यो सम्मानले गौरवको आभाष नगराएर एउटा विचित्र किसिमको असन्तुष्टि पैदा गराइदिन्छ । सरोज आफ्नो जिम्मेवारी वहन गर्दै उनको अगाडि उभिन्छ, स्थिर । समीरा उसलाई बस्न आग्रह गर्न सकिरहेकी छैन तर उभ्याइरहने उनको चाहना थिएन ।
आफूलाई बोलाउनुको कारण बुझ्न सरोज अघिदेखि मौन भई उभिएको छ तर बोलाउनुको कारण समीरालाई पनि थाहा छैन । त्यसै अकारण बोलाएकी थिइन, जसको महशुस पश्चात उनलाई असहजपूर्ण लाग्दछ आफ्नो व्यवहार ।
औलामा कलम घुमाउदै उनी भन्छिन् …“हिजो राति चोरी मुद्धामा समातिएका केटाहरूलाई लिएर आउनुस त । “
सरोज दुईजना केटाहरू लिएर आईपुग्छ ।
समीरा ति चोरहरूलाई विविध प्रश्नहरूको वर्षा गर्न थाल्छिन् तर सोचेअनुरुप जवाफ नआएपछि केही कड्किदै भन्छिन् – “यिनिहरूलाई २÷२ भाटा कसेर दिनुस त…।”
सरोज अचम्ममा पर्छ उनको सुन्दर मुहारमा नजानिदो पाराले देखिन आएको क्रोधले तर उसको कर्तव्य प्र.नि.ले भनेको अनुशरण गर्नु हो । ऊ गहृौ हात लिएर भाटा मच्चाउन शुरु गर्छ तर ऊ केही कापिरहेको छ ।
समीरा आफ्नो मुहारमा जवर्जस्ती कठोरता ल्याउने प्रयत्नमा छिन् तर कहीकही उनी असफल भइरहेको सरोजको. विज्ञ आँखाले देख्दछ । शायद यस्तो गर्नु सरोजलाई आफ्नो नजिक राखी गहिराईसम्म जाँच्ने समीराको चाहना थियो ।
हरेक दिन यस्तै अनेक बाहनामा उनी सरोजलाई बोलाउँथिन् र एकटकसँग चोर नजर लगाउँथिन् । प्र.स.नि. रमेशलाई यो दिनहु भइरहेको असामान्य परिवर्तनप्रति शंका अनि ईर्ष्या जाग्दछ । ऊ सरोजलाई नभएको गल्ती देखाई कारबाहीको धम्कि दिने र हरेक कुरामा गाली गर्न शुरु गर्छ ।
दिनहरू यसरी नै बित्दैछ सरोजको । निराधारको गाली खानु, समीराको मौन समर्पण…केही अदृश्य खुशी भरिएको मन । जीवनलाई सुख या दुःखसँग परिभाषित गर्न नसकेको अवस्था । रमेशले गर्ने रिसले निम्त्याएको दुःखलाई समीराको एकोहोरो अव्यक्त समिप्यताको प्रयासले भुलाईदिन्छ ।
समीरा ज्यादै प्रेम गर्न थालेकी छिन सरोजलाई । अव्यक्त प्रेम जसको अभिव्यक्ति हुन सकेको छैन, न त सरोजको सोझो मनले नै भावना प्रकटको सामथ्र्य देखेको छ । अदृश्य अनि अभौतिक बाधाले दुई मनमा पलाएको प्रेमलाई विक्षिप्त बनाईदिएको छ । समीराको प्रेमले अहमलाई जित्न सकेन र सरोजको प्रेमले दुईबिचको तहगत उचाइलाई नाँघ्न सकेन ।
क्षणिक अनौपचारिक भेटमा दुई मन आनन्दित अनि केही आन्दोलित हुन्छन् । आँखाले कहिल्यै रसाएको संकेत दिएन तर यी दुईजोर नयन सधै त्रसित र थकित देखिन्थ्यो, ज्यादै नीरस । एकअर्काको भाव बुझेपनि जानीजानी अनभिज्ञता जाहेर गर्नु शायद अनौठो बाध्यता थियो जसको अन्त्य प्र.नि. बाट भएन र प्र.ज.ले आँट गर्ने कुरै भएन ।
सरोजको घरबाट बहिनीको बिहेको लागि आउनु भनि खबर आयो । ऊ बिदा माग्न लिखित निवेदनका साथ प्र.नि. कक्षमा जान्छ । समीरालाई सलाम गरी केही असहजताका साथ पत्र पेश गर्छ ।
“कति दिनको लागि जाने हो ?” असन्तुष्टिको भाव अँगालेको यो वाक्यले समीराको कठोरतााको प्रतिविम्व झल्काईरहेको थियो ।
“दश दिन जतिमा फर्किन्छु साब ।”
“तिम्रो यो बिदा मैले स्विकृत गरिन भने…”
“मेरो एक मात्र बहिनी हो साब…अनि बाबुको काख देख्न नपाएकी टुहुरी । म घर जानु अपरिहार्य छ साब त्यसैले…।” कम्पित अनि कारुणिक आवाजमा यति भन्न सक्यो सरोजले ।
“हा हा हा …।” अनियन्त्रित निर्लज्ज हाँसो …कोठाभरि फैलन्छ । सरोजलाई आफू उपेक्षित भएको आभाष हुन्छ…लज्जाबोध हुन्छ उसलाई ।
“मैले जिस्किन पनि नपाउने तिमीसँग ? जाऊ जाऊ बहिनीको राम्रोसँग बिहे गरिदिनु अनि मेरो तर्फबाट पनि शुभकामना सुनाउन नबिर्सनु है ।”
“हुन्छ साब…भैहाल्छ नि ।” सरोज प्रफुल्लित मुद्रामा एकै स्वासमा यति वाक्य भनिसकेर फर्किन खोज्छ ।
“एकछिन पर्ख त…”
“हजुर साब”
“अनि आफ्नो बिहे चाहि कहिले गर्ने त ?” यो प्रश्न कतिको उचित थियो या व्यवहारिक, अर्थहिन के थियो उनलाई थाहाँ छैन र प्रश्न गरेर सरोजलाई आफूसामु केही क्षण उभ्याउनु कत्तिको अर्थोचित हुन्छ उनी जान्न चाहदिनन् ।
केही छिनको स्तब्धता र त्यो मौनतालाई चिर्न ननिस्केका सरोजको हृदयदेखिका असफल भावनारुपी निर्जीव शब्दहरू…त्यसै त्यसै कहि भित्रै हराईरहेछन् ।
“खोई …साब…,कसैलाई आफ्नो बनाउनै सकिन अनि कोहि मेरो हुन पनि आएनन् ।” जवाफ सोझै समीराप्रति गरिएको व्यङ्ग्य थियो । उनको मनमा रहेको प्रेम प्रस्फुटन गराउन गरिएको एक आशारुपी प्रहार थियो ।
समीराको मुहारमा असामान्यताका लहरहरू दौडिन सुरु हुन्छ । निराशापन, वितृष्णा, असहजता, लाचारिपन अनि पराजित चित्रका रेखाहरू पनि त्यस शान्त, चञ्चल मुहारमा कोरिन थाल्छन् । ति चित्राङ्कित लहरहरूले लामो मौनता निम्त्याउँछ ।
“हुन्छ तपाई अहिले जान सक्नुहुन्छ ।”
सरोजको सत्प्रयासले असफलताको बाटो देखाउँछ । समीरा मलिन मुहार लिई सोचमग्न हुन्छिन्।
“म कति माया गर्छु सरोजलाई तर खै किन म भन्न सक्दिन । ऊ मलाई प्रेम गर्छ म जान्दछु तर आजसम्म किन मैले यो कुरा सुन्न पाएकी छैन । कस्तो विडम्वना यो…के यही नै हो माया…। दुई मनमै गुम्सिने आकर्षण पनि माया हुन सक्छ ? यो प्रेमको प्रारम्भ हो या अन्त्यको लक्षण । महशुस गर्नै नपाई मायाको अन्त्य हुन्छ भने के त्यो ‘प्रेम’ जस्तो पवित्र शब्दको परिभाषा बन्न सक्छ ? ममा किन यस्तो कमजोरी ? म किन अवाक हुन्छु सरोजसामु ? म प्रेम व्यक्त गर्न चाहन्छु र मैले थाहा पाएको उसको म प्रतिको प्रेमले मेरो अभिव्यक्ति सहर्ष स्विकार गरेको क्षणमा रम्न चाहन्छू । यो पल भोग्न म व्याकुल छु तर के यो सम्भव छ ? अनि असम्भव हुनलाई केही कारण छ ? म किन आफैसँग अन्यौलग्रस्त छु ? मेरो मान, प्रतिष्ठा, पद, अहमले यसो गर्न दिदैन तर ऊ त संघर्ष गर्न सक्ने पुरुष मान्छे हो । म उसलाई प्रेम अभिव्यक्त गर्ने बाटो दिन्छु र शायद उसले सामथ्र्य अपनाउनेछ ।”
अघिदेखि निराशपूर्ण रहेको अनुहारमा केही खुशीका, आशाका ज्योति झल्किन्छ र ओठ अनायासै मुस्कुराउँछ केही सन्तुष्टिको भाव लिएर ।
त्यो दश दिन वर्षौ वर्षझै लागेको थियो समीरालाई । आफू एकान्तमा हराई कल्पनामा सरोजसँग समय बिताउनुको आनन्द बिथोल्न हुने गरेको रमेशको असोचनीय आगमन समीरालाई पटक्कै मन पर्दैनथियो तर पनि त्यो उपस्थितिले पेशागत बाहना अँगालेको हुन्थ्यो जसलाई समीरा नकार्न सक्दिनथिईन् । उनीसँग नजिकिने रमेशको प्रयास…अनि निरन्तरको टिठलाग्दो कुराकानीमा समीरा नचाहदा नचाहदै पनि भिज्थिन् । तर ति यावत् आवाजहरूमा उनी एकाग्र हुन सकिनन् । रमेशको प्रयासमा डुब्न सकिनन् ।
बहिनीको बिहे सकेर पनि सरोजको फर्किने सुरसार छैन । उसको मनमा नयाँ विचारहरू पलाउन थाल्छ । ऊ त्यसै त्यसै मर्माहत हुन्थ्यो । “एउटै पेशा भएपनि काधमा भएको ‘खुकुरी क्रस’को चिन्हले हाम्रो मायालाई मारिदियो । यति पीडाका साथ हत्या भएको छ मेरो प्रेमको, जस्तो कुुनै मान्छेलाई धेरै ठाउँ काटेर लास नै क्षतविक्षत पारिन्छ । निर्मम हत्या भएको छ हाम्रो प्रेमको । जहिले पनि उनी सामु आफ्नो भावना व्यक्त गर्न खोजे, आँखा त्यहि उनको काधमा हुने ‘खुकुरी क्रस’ मा पुग्थ्यो जुन दृष्टिले मेरो शब्दलाई निरावाज बनाईदिन्थ्यो । म एउटा पुरुष र उनी एउटी नारी आखिर के अनमेल थियो र हाम्रो सम्बन्धमा । त्यो एउटा चिन्ह यत्रो बाधारुपी पर्खाल भई अडिग रह्यो । उनले त्यो उचाई पार गर्न सकिनन् र म पनि सधै लाचार बने ।”
“भयो अब पर्दिन उनको सामू…पीडा सहनलाई जादै जान्न । आफूले मन पराएको केटी अनि स्वयं उनी ममा समर्पित हुन खोज्ने जान्दा जान्दै असफलता र प्रेमबाट टाढिनुपर्ने बाध्यता…। शायद जीवन यस्तै रहेछ घाउले भरिएको र त्यो घाउ फेरी बल्झाउन उनी सामू जानु आफैलाई चोट पु्याउने मूर्खता हो । अह…म अब कहिल्यै जान्न । उनलाई कति पीडा भईंरहेको होला ? तर यी पीडाहरू साटासाट गर्न नसकिने परिस्थितिमा सामेल हुन म सक्दिन । आलो घाउ अझ कोट्याई पीडा सहने क्षमता रहेन अब म सँग । शायद अर्को जुनीमा उनको काधमा खुकुरी क्रस हुनेछैन र हाम्रो मिलन हुनेछ ।”
महिना दिन बित्यो तर सरोज कार्यालयमा देखा परेन र सम्पर्कविहिन भईदियो । सरोजको मुखबाट प्रेम प्रकट गराउन बाटो खुलाउने समीराको आशा निष्फल रह्यो । प्रयास हुनै पाएन ।

Heart touching story just
Heart touching story just love it………. gr8888888888
mero tarfa bata aavar prakat
dherai dherai dhanyabad bhanna chahanchu mero rachana prakashit garidinu bhayeko ma….ra aauda din haruma pani yestai rachana haru post garnechhu kina ki yo prakashanle malai ajha kehi lekhna utprerit garirahechha. Sachai ma yo majheri.com prati kritagyata prakat garna chahirahechhu barambar…
atti sundar
sarai ramro prem katha…mutu nai jhaskaidine..1 patak padhera chittai bujhena
ati ramro lagyo
ati ramro lagyo