वैशाख शुक्लपूणिर्मा अर्थात् बुद्ध पूणिर्मा शान्तिकामी, मुक्तिकामी मानवमात्रका लागि करूणामय बुद्धलाई सम्झने, श्रद्धा गर्ने प्रज्ञा दिवस । प्राणी मात्रलाई दुःख, शोक, भय, अविद्या, तृष्णाबाट मुक्त पार्ने महामानव बुद्धपथबाट पाठ लिने अविस्मरणीय जागरण दिवस । सन् ५२८ ईसापूर्वको वैशाख पूणिर्मामा बुद्धत्व प्राप्त सिद्धार्थ गौतम सम्यक सम्बुद्ध बनेको पावन दिन ।

जवाहरलाल नेहरू ‘इतिहासका महापुरूष’ नामक आफ्नो पुस्तकमा लेख्छन्, “बुद्धको जन्मको बेला भारतमा पुरानो बौद्धिक धर्म प्रचलित थियो तर त्यो धेरै बदलिसकेको थियो र आफ्नो उच्च आदर्शबाट खस्किसकेको थियो । ब्राहृमण पुरोहितहरूले थरिथरिका कर्मकाण्ड, पूजापाठ र अन्धविश्वास थुपारिदिएका थिए । जातिको बन्धन कडा हुँदै गइरहेको थियो र आमजनता साइत, मन्त्र-तन्त्र, जादू आदिबाट डराउँथे । यी तरिकाबाट पुरोहितहरूले जनतालाई आफ्नो मुठ्ठीमा राखेका थिए र क्षेत्री राजाको सत्तालाई चुनौती दिन थालेका थिए । यसरी क्षेत्री र बाहुनबीच सङ्घर्ष चलिरहेको थियो । त्यसबेला बुद्ध एक लोकप्रिय सुधारकको रूपमा प्रकट भए र उनले पुरोहितहरूको यी अत्याचारमाथि एवम् पुरानो वैदिक धर्ममा जुन खराबी आएको थियो त्यसमाथि आक्रमण बोले । उनले शुद्ध जीवन बिताउन र असल काम गर्न … सद्जीवनको बाटो बताए ।”

बुद्ध महापुरूष थिए उनले दुःखको मीमांसामात्र गरेनन् निकासको उपाय पनि बताए । जन्म पनि दुःख, बुढेसकाल, मरण, शोक, मनको उद्विग्नता, चिन्ता, मिलन, संयोग, प्रियसँग वियोग सबै दुःख हो । उनको विचारमा कुनै अभीष्ट र त्यसलाई प्राप्त गर्न नसक्नु पनि दुःख हो । संसारमा आएपछि एउटा न एउटा दुःख लागिरहन्छ, दुःखबाट छुटकारा मानिसको नियतिमा छैन । बुद्धले तृष्णालाई नै दुःखको मूल कारण बताए । तृष्णाबाट मुक्त भएर दुःखरहित अवस्थाको नामनै निर्वाण हो र मानिसले आफ्नो जीवनमै निर्वाण प्राप्त गर्न सक्छ, यस्तो बुद्ध ठान्दथे । राग, द्वेष एवम् मोहरहित, तृष्णारहित भएर, ज्ञानवान भएर मनुष्यले कर्म गर्‍यो भने उसले मोक्ष प्राप्त गर्न सक्छ । यसका लागि उनले आठ मार्ग बताएका छन् ।

बुद्धको सबभन्दा ठूलो शक्ति उनको विनम्रता, शालीनता, सहनशीलता, सहिष्णुता हो । उनी सहअस्तित्व, सद्भावको सिद्धान्तमा विश्वास गर्थे जसको अप्प दीपो भव उत्तिकै प्रासङ्गकिता छ । उनमा आत्मविश्वास त थियो झूठो आत्माभिमान थिएन । उनी अहंकाररहित थिए । उनी अरू धर्मगुरू जस्तै कृत्रिम देवत्वमा विश्वास गर्दैनथे । उनी स्पष्ट मन्थे, आज दियो भव अर्थात् आफ्नो उज्यालो आफैँ बन । श्रद्धाले मानिस उनलाई भगवान मान्छन्, भन्छन् । उनी स्पष्टरूपले भन्थे, “म त मोक्षदाता होइन, मार्गप्रदर्शक मात्र हुँ ।” उनी प्रशंसा वा निन्दा, स्तुति वा भक्तिको दुनियाबाट टाढा थिए, उनी व्यवहारिक मानवधर्मका व्याख्याता थिए । उनी भन्थे सधैं सबैले प्रशंसा गर्ने वा निन्दा गर्ने व्यक्ति पहिले पनि थिएन, आज पनि छैन, पछि पनि हुनेछैन ।” (जेतवन) । उनी कालजयी चिन्तक थिए । संयुक्त राष्ट्रसंघका महासचिव उथान्तले सन् १९६७ मा लुम्बिनी भ्रमणमा सही नै भनेका थिए, बुद्ध नेपालका मात्र नभई विश्व महापुरूष हुन् ।

यहाँ विवेचनाको प्रसङ्ग अर्कै छ, के बुद्ध चुपचाप एक रात कसैलाई केही नभनी दुःखतप्त मानवताको प्रश्न समाधान गर्न अकस्मात गृहत्याग गरेर निस्केका हुन् ? धेरैमा यो भ्रम छ, धेरै विद्वान्हरूले यस्तो भन्दै आएका छन् । बुद्धले प्रव्रज्या ग्रहण किन गरे ? परम्परागत जवाफ यो छ कि एक वृद्ध, एक रोगी तथा मुर्दा देखेर उनको मनमा विरक्तिको ज्वार उठ्न थाल्यो । उनको हृदयमा प्राणी मात्रको चिन्ता र दुःख हटाउने उपाय खोज्ने इच्छा दिनप्रतिदिन प्रवल हुँदै गयो । आचार्य धर्मानन्द कौसम्वीले यस महाभिनिष्क्रम (गृहत्याग) को समस्यामाथि प्रश्नसूचक चिन्ह लगाए । कालान्तरमा डा.वी.आर आम्वेडकरले ३५ वर्ष निरन्तर बौद्ध ग्रन्थहरूको अध्ययन गरेर कौसाम्वीको सन्देहको पुष्टि गरे (भारत र विदेशमा बौद्ध धर्म प्रसारक, डा. श्रीमती यमुनालाल) । उनले प्रश्न उठाए ‘यो कसरी हुनसक्छ कि २९ वर्षको आयुसम्म सिद्धार्थले कहिल्यै कुनै वृद्ध, रोगी तथा मृत व्यक्तिलाई नदेखेका होऊन ? यी जीवनका यस्तो घटना हुन जुन दिनहुँ सयकडौँ, हजारौँ घटित भइनैरहेका हुन्छन् । ….यो व्याख्या तर्कको कसीमा खरो उत्रँदैन ।” आम्बेडरको विचारमा यो प्रव्रज्याको कारण शाक्य र कोलियहरूबीच रोहिणी नदीको जल विवाद हो । अम्वेडकरले बुद्ध एण्ड हिजधम्ममा सिद्धार्थले आमा बा, श्रीमतीसँग आज्ञा लिएर, छोरा राहुललाई माया गरेर गृहत्याग गरेको तथा विदाको बेला यशोधराले लोककल्याण पथ खोज्ने निवेदन गरेको दावी गरेका छन् ।

यो दावी तर्कसम्मत देखिन्छ र अन्य कैयौँ बौद्ध विद्वान्लेसमेत यसको पुष्टि गरेका छन् । कता कता बुद्धले आफ्ना श्रीमतीसँग विश्वासघात पनि गरे कि जस्तो विवेचनाहरू पनि हुँदै आएको छ । खासगरी यशोधरा साहित्यकारहरूका लागि एक उर्वर पात्र बन्दै आएकी छन् । यशोधराको भावना, वेदना आफ्नो ठाउँमा अनुचित पनि छैन । परम्परागत मान्यता अनुरूप बुद्ध एक्लै चुपचाप घर छाडेर निस्केका हुन् यो कुरा बुद्धको स्वभाव, चरित्र बुझ्दा पनि सुपाच्य देखिँदैन । उनमा पर्याप्त आत्मविश्वास थियो । उनले अकस्मात गृहत्यागको निर्णय गरेका पनि होइनन् । हो उनी करूणामय थिए । उनी चिन्तनशील थिए । उनी सोचिरहन्थे, दुनियामा यति दुःख किन छ ? बलिया मािनसले निर्धाको शोषण किन गरिरहेका छन् ? मानिस एक आपसमा किन लडिरहन्छन् ?

राजा शुद्धोधन छोरा कतै सन्यासी बन्छन् कि भन्ने डरले चिन्तित रहन्थे । छोरालाई कामभोगका लागि सबै बन्दोबस्त गरे, तीन अलग महल बनाउन लगाए र प्रधानमन्त्री उदायीलाई सुन्दरी तरूनीहरूद्वारा सिद्धार्थको मन जित्न व्यवस्था गर्न खटाए । उदायीले एकान्तमा सिद्धार्थलाई भने, प्राचीनकालमा इन्द्रसमेतले गौतम ऋषिको पत्नी अहिल्यालाई आलिंगन गरेका थिए । यस्तै, अगस्त्य ऋषिले सोममाया रोहिणीसँग औतथ्य पत्नी मरूतकी पुत्री ममतासँग ऋषि वृहस्पतिले सहवास गरेको फलस्वरूप भारद्वाजको जन्म भएको आदि अनेकौँ उदाहरण दिए । तर्क दिए, महान् पुरूषले समेत काम-भोग गरे भने प्रशंसनीय काम भोगको सेवनमा दोष नै के छ र ? (आनन्द श्रीकृष्णः गौतमबुद्ध र उनका उपदेश)

बुद्धले विनम्रता तर दृढतापूर्वक जवाफ दिए म संसारका विषयहरूको अवज्ञा गर्दिन । मलाई थाहा छ, सारा जगत् यिनै कुरामा आसक्त छ तर किनभने म जान्दछु कि सारा संसार अनित्य छ, त्यसैले मेरो मन तिनमा रमाउँदैन .. जहाँसम्म ठूल ठूला महात्माहरू विषयको वशीभूत भएको प्रश्न छ यस विषयमा पनि प्रमाण छैन किनभने अन्त्यमा उनीहरू पनि क्षयलाई प्राप्त भए ।

बुद्धले लामो तर दृढतापूर्वक मन्तव्य राख्दै उदायीलाई भने, ‘आशा छ तपाईंले मलाई विषयभोगको अशोभन कुपथमा लग्नुहुनेछैन ।’ यस्ता थिए बुद्ध । २० वर्ष पुगेपछि प्रत्येक तरूणलाई शाक्यसंघमा दीक्षित हुनुपथ्र्यो । संघका आठ नियम थिए । आठ वर्षसम्म सिद्धार्थ संघका प्रिय सदस्य रहे तर त्यसपछि घटनाक्रमले नयाँ मोड लियो । सिद्धार्थ २८ वर्षका भइसकेका थिए । शाक्यहरूसँगै टाँसिएको कोलियहरूको राज्य थियो र बीचमा थियो रोहिणी नदी । दुबै राज्य यो नदीका पानीले सिचाईं गर्थे । यदाकदा उपभोगका कुरामा दुबै पक्षबीच विवाद भइरहन्थ्यो । कहिलेकाहीँ युद्धको स्थिति पनि उत्पन्न हुन्थ्यो । संघको सभा डाकियो । सिद्धार्थ र शाक्य सेनापतिबीच समस्याको समाधानका उपायबारे मतभेद उत्पन्न भयो । सेनापति युद्धका लागि तत्पर थिए तर सिद्धार्थ युद्ध चाहँदैनथे । सिद्धार्थको मत थियो कि युद्ध कहिल्यै कुनै समस्याको समाधान हुनसक्दैन । (डा. भीमराव आम्वेडकर) । सिद्धार्थको विचार थियो, परस्पर एक अर्काको विनाश गर्नुमा बुद्धिमानी छैन । सिद्धार्थ यो पनि मान्दथे झगडा शाक्य पक्षधरले नै उठाए यसैले गलती शाक्यहरूकै छ । यो ठूलो कुरा थियो । सिद्धार्थ पारम्परिक मान्यताअनुसार राष्ट्रवादी थिएनन्, उनी मानवतावादी र सत्यका पक्षधर थिए । उनले सुझाव दिए, शाक्य र कोलियहरूका तर्फबाट दुईदुई जना रोजियोस्, ती चार जनाले मिलेर एक पाँचौं व्यक्तिको चयन गरोस् र ती पाँच जना मिलेर विवादको समाधान गरून् । उता, सेनापतिको कथन थियो कि कोलियहरूलाई कडा दण्ड दिइनुपर्छ । ब्राहृमणको धर्म हो यज्ञ गर्नु, क्षेत्रीको धर्म हो युद्ध गर्नु, वैश्यको धर्म हो व्यापार र शुद्रको धर्म हो सेवा गर्नु । उनको विचारमा प्रत्येकले आफ्नो धर्म निर्वाह गर्नुपर्छ । अनि सिद्धार्थले जवाफ दिए, वैर कहिल्यै शान्त हुँदैन । त्यो मात्र अवैरबाट शान्त हुन्छ । आगोले आगो कहिल्यै निभ्न सक्दैन, त्यो मात्र पानीले निभ्न सक्छ । झगडाबाट झगडा कहिल्यै सुल्झिन सक्दैन ।

शाक्य संघको बहुमत सेनापतिको पक्षमा थियो । संघलाई सिद्धार्थको मत स्वीकार्य थिएन र सिद्धार्थलाई संघको फैसला स्वीकार्य थिएन । संघको नियमअनुसार संघविरूद्ध जाने व्यक्तिलाई संघले उसको परिवारको सामाजिक बहिष्कार गर्न सक्थ्यो, खेती (सम्पत्ति) जफत गर्न सक्थ्यो, व्यक्तिलाई दण्डित गर्न सक्थ्यो, देशनिकाला गर्न सक्थ्यो । आम परिभाषामा सिद्धार्थ ‘राष्ट्रद्रोही’ थिए जबकि सिद्धार्थ मेलमिलाप, सहकार्य, सद्भाव, सहिष्णुताको भाका बोलिरहेका थिए । सिद्धार्थले विन्ती गरे, मेरो परिवारलाई दण्डित नगरियोस्, म स्वयम् दण्ड भोग्न तयार छु । समस्या के थियो भने कोसल नरेशलाई यो कुरा थाहा भए शाक्य संघविरूद्ध कारवाहीगर्न सक्थे, शाक्यहरूको राज्य कब्जा गर्न सक्थे । त्यसैले सिद्धार्थ स्वयम्ले यो सुझाव दिए कि यदि म परिव्राजक (सन्यासी) बनूँ र स्वयम् देशबाहिर जाऊँ भने एकप्रकारले देश निकाला पनि हुनेछ र शाक्य संघलाई त्यसका लागि कोसल नरेशले दण्ड पनि दिने छैन । स्मरणीय छ, कोलियहरू सिद्धार्थका ससुराली खलक थिए ।

अन्ततः सिद्धार्थले महाभिनिष्क्रम (गृहत्याग) निर्णय लिए । यो वडा मार्मिक प्रसङ्ग छ । सिद्धार्थ गौतमले आमजनतालाई युद्धको विनाशबाट जोगाउन र जीवजगतमा जुन दुःख विद्यमान छ, ती दुःखको कारण र निवारण गर्ने उपज खोज्न आफ्ना राज्यका जनता, मातापिता र पत्नीको जानकारीमा परिव्राजक बन्ने निर्णय लिए र गृहत्याग गरे । (आनन्दश्रीकृष्णः गौतमबुद्ध र उनका उपदेश)

अनन्त करूणामय, अनन्त मैत्रीमय सिद्धार्थले घर छोड्ने भएपछि हाहाकार मच्चियो । पितासँग विदा माग्दै उनले भने, ‘म आशा गर्दछु, यति त हजुरले बुझ्नु नै हुनेछ कि मैले परिस्थितिलाई थप बिग्रनुबाट जोगाएँ । दण्ड मैले आफ्नो सिरमा लिएँ ।’

भावविहृवल पिताले भने, तिमीले यो सोचेनौ कि हामीमाथि के बित्नेछ ?

सिद्धार्थले वृद्ध पितालाई आश्वस्त पार्न खोजे, यसैकारण त मैले प्रब्रज्या लिन स्वीकार गरेँ । सोच्नुस्, यदि शाक्यले सारा खेत (सम्पत्ति) जफत गर्ने आदेश दिएको भए के हुन्थ्यो ? शुद्धोदन झनै विचलित भए, बाबु, तिमीविना यी खेत (सम्पति) लिएर के गर्छौ ? सारा परिवार नै शाक्य जनपद परित्याग गरेर किन नजाने ।

दृश्यबडो मार्मिक थियो । प्रजापति गौतमीको गहभरि आँसु थियो, सबै रोइरहेका थिए । गौतमीले पनि भनिन्, हामीलाई त्यागेर यसरी एक्लै कसरी जानसक्छौ र ?

सिद्धार्थले सान्त्वना दिए, आमा क्षत्राणी भएर दुःखी हुनु शोभा दिँदैन । यदि म युद्धभूमिमा गएर मारिएको भए के गर्नुहुन्थ्यो । गौतमीले मानिनन्, शाक्यको देश छोडेर सबै कोसलतर्फ जाउँ भनिन् तर पनि गौतमले मानेनन् । सम्झाए, पत्नी र पुत्रको वास्ता दिए । अनि राजनीतिक परिस्थिति पनि सम्झाए, त्यसो गर्दा शाक्यहरूले देशद्रोही भन्न सक्छन् । उता कोसल नरेशलाई समेत शाक्यहरूविरूद्ध केही गर्ने अवसर मिल्नेछ । शुद्धोदनले अर्को जुक्ति निकाले, शाक्य संघले केही समयका लागि युद्ध स्थगित गरिदिने घोषणा गरेको छ, हुनसक्छ युद्ध अब नहोला । (बाबु) तिमी आफ्नो प्रव्रज्या स्थगित गर !

सिद्धार्थले जवाफ दिए, हुनसक्छ मेरो प्रव्रज्या ग्रहणपश्चात शाक्य संघले युद्धको घोष्णा स्थगित गरिदियोस् तर यो त पहिला मेरो प्रव्रज्या ग्रहणमै निर्भर गर्छ … । वचनभंगको नराम्रो परिणाम हुन सक्छ ।

त्यसपछि सिद्धार्थ र यशोधराबीच मार्मिक वार्तालाप हुन्छ । वार्तालापको सही विश्लेषण कुनै सच्चा मनोविद् या साहित्यकारले नै गर्न सक्छ । यशोधरालाई थाहा थियो, पति आफ्ना विचारमा अटल छन्, उनी बुझ्थिन् सिद्धार्थको मनोभाव । मन रोइरहेको थियो, पतिलाई विदा गर्नै पर्‍थ्यो चाहि नचाहिकन । त्यसैले भारी मनले भनिन्, .. कुनै नयाँ पथ खोज्न सक्नुहोस् जुन मानवताका लागि कल्याणकारी होस् ।

बुद्धको गृहत्याग कता कता रामको वनवास प्रसङ्ग झँै मार्मिक छ । फरक यति छ, रामलाई वनवास दिइएको थियो, बुद्धले भने गृहत्याग स्वयम् रोजेका थिए । सिद्धार्थले नयाँ पथ खोजे पनि । मानवताका लागि कल्याणकारी र व्यवहारिक मार्ग पनि बताए । यी सारा प्रसङ्ग इतिहासको अमर आख्यान हुन् । बुद्धको विनम्र दृढता सारा मानवजातिको लागि उत्कट प्रेरणाको स्रोत बनेको छ । एक तरूण शाक्यको भद्र एकल अवज्ञा अभियान जसले बहुमतको गलती कुरालाई शिरोधार्य गर्नुभन्दा आत्मदण्डको महान पथ रोजे । विलक्षण उदाहरण स्थापित गरे । तर आत्मदण्डको अवसरलाई आत्मग्लानि वा कुनै प्रतिशोध साधनको माध्यम बनाएनन् । बुद्धमा राजसी कुलको कुनै मिथ्या अभिमान, अहंकार कहिल्यै बोलेन । शाक्य र कोलियहरूको विवादमा आफ्नै गल्तीलाई पनि दृढतापूर्वक उजागर गर्नसक्ने बुद्ध, युद्धको निरर्थकतालाई निर्भिकतापूर्वक वहस गर्नसक्ने बुद्ध हाम्रा प्रेरणाका अजस्र स्रोत हुन् । बुद्धका भावनालाई निष्ठापूर्वक आत्मसात गर्न तयार हुनसके आज अलंघनीय देखिएका हाम्रा यावत समस्या, सङ्कट र सङ्क्रमणबाट हामी पार हुनेमा शङ्का छैन । नेपालका महात्मा पुत्रलाई हार्दिक श्रद्धाञ्जलि ।

शनिबार, गोरखापत्र
बैशाख ३१, २०६८

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *