क्याम्पसबाट थकित अनि भोकी शोभना आफनो कोठामा प्रवेश गर्नासाथ झोला फ्यात्त टेबलमा राखेर आफ्नो पलङमा डङ्गरङग पल्टिन्छिन् पुरै जीउ छाडेर । मानौ पलङले उसलाई सम्हाल्न आउँनेछ र आफ्नो काखमा राख्नेछ थकाइ मेटाइदिनको लागि । उसलाई आफ्नो कोठा यति प्यारो लाग्छ कि कुनै कुरासँग सम्झौता गर्न चाहदिनन् । शोभना, ए शोभना ! हैन यो कलेजबाट आएकी जस्तो लागेको थियो । हैन कि कया हो? ए रामु ! हेर त, दिज्यू कोठामा हो कि हैन? आमु दिज्यू त यही आइसकिस्यो रामु भन्दै थियो ।
शोभना के भयो तँलाई? अनुहार मलिन छ नि ! किन सन्चो भएन कि? प्रश्न माथि प्रश्न राख्दै हुनुहुन्थ्यो आमुले । तर शोभना भने मलिन रुपमा नै जबाफ दिदै थिइ- हैन आमु त्यस्तो केही हैन । मात्र थकाइले हो । तँलाई मन पर्ने तरकारी पकाएकी छु-मटन पनिर, मासको दाल र गोलभेंडाको अचार । आज किन हो कुन्नि, शोभनामा कुनै उत्तेजना नै छैन । सबैलाई खाना तताएर थालमा पस्केपछि मात्र खान आउँछन् । तर शोभना भने सकेसम्म आफ्नो काम आफैं गर्न रुचाउने स्वभावकी भएकीले सबै आफैंले तताइन् अनि टेबलमा खान बसिन् । खानामा कुनै कमेन्ट थिएन सधै झै । तर ताडिफ पनि पटक्कै छैन आज । रामु छक्क छ, आमु पट्टि फर्किएर ओठ लेब्र्यायो- खै कुन्नि के भएको हो भन्ने सङ्केत गर्दै । शायद थकाइले नै होला भनेर आमु आफ्नो काममा ब्यस्त भइन् अनि रामु पनि । बिहानको कलेजको गृहकार्य केलाउँछे र त्यसमा ब्यस्त हुनखोज्छे । तर पटक्कै स्थिर हुनसक्दिन ।
धनी परिबारमा जन्मेर पुगी-सरीमा हुर्केकी भए पनि शोभनामा कुनै कुरामा पटक्कै घमन्ड छैन । पढाइमा हेरौं- अब्बल नम्बरमा पास, ब्यबहार हेरौं त्यस्तै । खोट लगाउने ठाउँ नै छैन । आफ्ना समकालीन साथीहरू अत्यन्तै डाह गर्दछन् । केटाहरूको समाजमा त उनको इज्जत छुट्टै नै थियो । जो कोही पनि उनलाई पाउन लालायित हुन्थे । एक जना भए पो हेर्नु, कसलाई इन्कार गर्नु अनि कसलाई स्वीकार भन्ने भान पर्दथ्यो अरु समकालीनको बीचमा ।
सुशोभन मध्यम बर्गीय अझ भन्नु पर्दा अभावमा हुर्किएको तर साह्रै फाइँफुट्टी लगाउने, अर्काको सामु अत्यन्तै धाक लागाउने प्रकारको । कसैलाई पनि उसको व्यबहार पच्दैनथ्यो । सबैलाइ थाहा हुदा हुदै पनि हाक्काहाक्की नै झुट बोल्न ऊ माहिर थियो । पढाइमा पनि ठिकै थियो । शोभनालाई मन पराउनेहरूलाई ऊसले गिज्याउने गर्दथ्यो । त्यो शोभनामा के छ? किन मरिमेट्छौ तिमीहरू ? न त राम्री छे, न त मिठो व्यबहार नै छ भन्ने गर्दथ्यो । जवाफ हुन्थ्यो साथीहरूको- हो नि सबै गुणहरू तँमा नै छ नि ! तँ नै राम्रो अनि तैं नै असल ।
सुशोभनको नराम्रो व्यबहार र नमिठो व्यङ्ग शोभनाले नभोगेकी पनि हैन । तर जे भने पनि र जति नमीठो व्यबहार शोभनालाई सुशोभनले गर्दथ्यो त्यसको उल्टो जवाफ- फक्रंदो गुलाफ जस्तो मुस्कान हुन्थ्यो शोभनाको । कहिले त सुशोभन आफैं अचम्म हुन्थ्यो शोभनाको व्यबहार देखेर । अनि सोच्दथ्यो- केले बनेकी होली यो केटी? जति घृणा गर्यो, जति नमीठो व्यबहार गर्यो उसलाई फरक नै पर्दैन । उल्टो मुस्कानले जवाफ फर्काउछे ।
एक दिन कलेजको क्यान्टिनमा साथीहरूसँग चिया पिउँदै थिई शोभना । अनि अर्को पट्टीको ग्रुपबाट सुशोभनले उनलाई छड्के आंखाले हेर्दै व्यङ्ग्य गर्यो- हैन ! कसै कसैलाई आफू राम्री छु भन्ने घमन्ड कति छ है? न अनुहार नै आहा छ, न त अन्य कुनै कुरा नोटीस गर्न लायक नै छ । तर पनि मानिसमा घमन्ड किन आउँछ होला है साथी हो? साथीहरूले व्यङ्गात्मक रुपमा भने तँ जस्तो असल त सबै कहां हुन्छन र? यो कुरा सुनेर सबै हाँसे पनि शोभना भने मौन नै रहिन् । यो पटक पनि सामान्य रुपको व्यबहार थियो शोभनाको । उता सुशोभन भने आफूले खनेको खाल्डोमा आफैं परेको बुझेर रिसले आगो भयो मनमनै ।
शोभनालाई भित्रभित्रै मनमा भने लाग्छ- किन यो केटाले राम्रो व्यबहार देखाउँदैन? मैले त उसलाई कहिल्यै नराम्रो व्यबहार गरेकी छैन । बरु कतै आपत परेको वेलामा मित्रबत नाताले सहयोग नै गरेकी छु । उसका परिवारको बीचमा पनि यस्तै व्यबहार गर्दछ भन्छन् । आमा बुवालाई कति ननिको लाग्दो हो यस्तो पीरो नुन खुर्सानी जस्तो व्यबहारले । मनमनै सोच्दछे- जस्तो भएपनि सहपाठी हो । उस्को ब्यबहारमा सुधार ल्याउन पाए… । अठोट गर्दछे म यसलाई सामान्य तथा मायालु ब्यक्तित्वमा परिणत गर्छु भनेर । तर कसरी? मलाई देख्नासाथ उसको पारा चढ्छ । जे होस भगवानले पनि भन्छन् नि- तँ आंट म पुर्याउँछु । फेरि सोच्दछे- मलाई केको कमी छ र? म प्रति सबै मायालु छन्, सहयोगी छन्… । तर मेरो मनले त्यो बाटोमा लाग्न किन प्रेरित गरिरहेको छ । के आवस्यकता पर्यो तँलाई? केको कमी भयो? किन विचलित छेस् तँ? भनेर बारम्बार आफ्नो आत्माले भन्दा पनि किन हो कुन्नि शोभनाको मनमा एउटा दरीलो अठोट उभियो ।
आफ्नो र सुशोभनको बोली व्यबहार केलाउछे । सुशोभन खहरे खोला जस्तो छ भने शोभना शान्त तलाउ । करेलाको तीतोपन सुशोभनको बोलीमा प्रस्ट छ भने मिस्रीको मीठास छ शोभनामा । संसारमा असंभव भन्ने कुरो मुर्खको डायरीमा मात्र हुन्छ भन्छन्, म त मुर्खमा पर्दिन नि ! किन नआँट्ने? शायद मेरो सानो प्रयासले कसैको परिवार र उसको व्यक्तित्वमा सुधार आउँछ भने मपछि हट्दिन भन्ने सोच्दै शोभना निदाउन कोशिश गर्छे ।
सधै आफूलाई हेरेर घृणा भाव देखाउने सुशोभनलाई पटक-पटक हेरिरहन्छिन् । सुशोभनको आँखा नजुधेको हैन शोभनासँग । यसरी पटक पटक आखा जुध्दा । यो पटक सुशोभन केही नर्भस भएको भान शोभनालाई परिसकेको थियो । टिफिन टाइममा शोभना सुशोभन भएको ठाँउमा जान्छे, उसका साथीहरूका वीचमा । सबैको अगाडि शोभनाले प्रस्ताव राख्छे- सुशोभन म तिमीसँग विवाह गर्न चाहन्छु, के तिमी मलाई स्वीकार गर्छौ ? अनायास सोचे भन्दा बिपरितको प्रश्न आफ्नो अगाडि तेर्सिंदा सुशोभन एकदम नर्भस हुन्छ भने अन्य उसका साथीहरू चकीत पर्दछन् र शोभनाको अनुहारमा टोलाईरहन्छन् एकनासले । जवाफ नआएकोले फेरि सोध्छिन्- के सोचिरहेको तिमीले? सुनेनौ? हतारिएर जवाफ दिनु पर्देन, सोचेर मात्र भन, म तिम्रो जवाफको पर्खाईमा हुने छु ।
२ दिन भयो सुशोभन कलेज आएको छैन तर शोभना पनि विचलित छैन । जसलाई मैले पटक पटक घृणा भावले हेरें, व्यङग्य गरें तर मलाई नै किन प्रस्ताव राखी उसले? सबैको माझमा असल गनिएकी, उसको एक झल्को पाउन मरिमेट्नेहरूका वीच मलाई उसले प्रस्ताव राखी । अव कसरी स्वीकारूँ? कुन अनुहार लिएर शोभनाको अगाडि जाउँ? अदि आदि भवानाले विचलीत भएको सुशोभन आज ३ दिनपछि कलेज आयो । मनमा डर थियो, आँट थिएन शोभनाको अगाडि जाने । कसैको अनुहार नहेरी, कसैसँग नबोली कछ्यामा पस्यो । सबै छक्क थिए उसका साथीहरू । मौन छ, मौनमा नै बस्न चाहन्छ । टिफिन भएको उसले पत्तै पाउँदैन । सबै साथीहरू क्यान्टिन गइसकेछन् । झन डराउछ ऊ जव शोभनालाई अगाडि सामुन्ने देख्दा । के सोच्यौ सुशोभन? तिमी मलाई अपनाउन सक्दैनौ? एक्कासि शोभनाको अगाडि झुकेर भन्छ- शोभना मलाई माफ गर है ! मैले तिमीलाई दुर्व्यबहार गरें । तर तिमीले झन मलाई अपनाउने बिचार गर्यौ । तिमीलाई पाउन लालाईत हुने हजारौ छन् । तर ती मध्ये म त यती भग्यमानी रहेछु कि मलाई केही भन्न नै आइरहेको छैन, हुन्छ शोभना हुन्छ म तिमीलाई स्वीकार गर्छु । अझै पनि उसको स्वरमा घमण्ड आइरहेको शोभनाले थाहा पाए पनि थाहा नपाएझै गरिरहेकी थिइन् ।
दिन बित्दै गयो । सुशोभनमा पनि परिवर्तन आएको देखिन्छ । पढाइ, व्यबहार, सँगत, बोलीचाली सबै कुरामा सुधार आएको छ । असल र व्यबहारिक केटामा ऊ परिबर्तन भैसकेको छ । आज सुशोभन शोभनामा यती मरीमेट्छ कि शोभनाको मुस्कान हेर्न अनेक क्रियाकलाप गरेर हसाउँछ । तर शोभना ! के उनी पनि प्रेम गर्छिन त सुशोभनलाई ? उनले सुशोभनको अगाडि न त आफू मरीमेटेको प्रेम प्रदर्शन गरेकी थिइन न त प्रेम नभएको जस्तो व्यबहार नै । सामान्य व्यबहार थियो उनको पहिलाको जस्तै । मात्र सुशोभन पुरापुर परिवर्तन भएको देखिनथ्यो । बिचार गर्ने हो भने शोभनामा परिवर्तन पटक्कै थिएन । तर सुशोभनसँगको भेटघाट भने बाक्लिएको थियो, फोनको घन्टीको रफ्तार बढेको थियो । शोभनाले सोच्दथी पनि -के मैले सुशोभनलाई धोका त दिइरहेकी छैन, उसलाई सुधार्छु भन्ने बाहानाले । प्रेम त म गर्दिन उसलाई तर शायद उसले चाहि गर्छ मलाई । अव सुशोभन पुरै परिवर्तन भैसकेको छ- एउटा असल अनि व्यबहारिक केटामा । अब मैले उसलाई स्वतन्त्र छाडिदिनु पर्छ- आफ्नो संसारमा । अब मैले झुठो आश्वाशनमा बाध्नु उचित छैन भन्ने सोच्दा सोच्दै निदाउँछे । ब्युँझदा बिहानी भैसकेछ, हत्तपत्त कलेज लाग्छे । आज सुशोभन आएको छैन । शोभनाका आँखाले सुशोभनलाई खोजिरहन्छ । मनमा अनेक कुरा आउने जाने क्रम बढेको छ । मुटुको ढुकढुकी पनि बढेको अनुभव गर्दछे । एक किसिमको डरले सताइरहेको छ उनलाई । मन अनिस्चितताले पोल्दछ उनको । सुशोभनको अनुपस्थितिले अधैर्य बनाएको अनुभव भैरहेको छ । हिजो फोन पनि आएन, मैले गरेको भए पनि त हुन्थ्यो नि ! आफैंलाई सोध्दछे शोभना । पसिना चिटचिट आएको छ पुषको महिनामा पनि । क्क्ष्यामा जान मन पनि छैन । ध्यान केन्द्रित नै छैन उनको । के भयो होला, , बिरामी पो पर्यो कि, किन फोन पनि गरेन जस्ता प्रश्नले सताइरहेकोले क्क्ष्या बाट जुरुक्क उठेर बाहिर जान्छे । फटाफट ५०-६० पाइला अगाडि बढाएपछि झल्याँस्स हुन्छे । ओहो ! यो के भैरहेको छ मलाई? म किन यसरी एकोहोरो सुशोभनलाई सम्झिरहेकी छु? ऊ एक दिन नआएर के भो त? मलाई फरक पर्न त नहुने, किन म अधैर्य भैरहेकी छु? फेरि आफूले आफैलाई सम्झाउँछे- साच्चै नै खेल-खेलमा मैले सुशोभनलाई माया पो गर्न थालें कि के हो- अनायास आवाज निस्किन्छ – सुशोभन ! सुशोभन म पनि तिमीलाई माया गर्न थालेछु, आउ अव हामी मीठो सन्सार बसाउँ । जहाँ तिम्रो र मेरो प्रेमको फुलबारी होस । तिमी र म त्यो बगैंचामा अत्यन्त रमाउने छौं । मेरो जीवनमा बहारै-बहार लीएर आयौ तिमी । अब यसरी नै मेरो दिलमा राज गर है ।
मनमनै दङ्ग छे शोभना, प्रेम रोग लागेछ भनेर । शोभना आफैमा एक प्रेमकी प्रतिमुर्ति त्यसमा झन आफै त्यसमा बाँधिइ अनि मीठो भावना संगाल्दै सुशोभनलाई भेट्ने अठोटका साथ घरतिर लागि । उसको इच्छा पुरा नहुने त्यति ठुलो बाधा त थिएन किनकि उनका बुवा- आमाको पानि प्रेम विवाह नै थियो ।
पहिला स्वीकारेका थिएनन् । तर छोरीको खुशीको लागि अन्त्यमा स्वीकृत भएकोले उनीहरूको विवाह भयो । विवाह लगत्तै एउटा सन्तान पनि भयो । अब त छोरी पनि चार बर्ष पुगेर पाँचमा लागि सकी । उनीहरूको पारिवार शुखी तथा खुशी छ । सुशोभन आफ्नो व्यबसायमा व्यस्त छ भने शोभना कलेजमा पढाउँछे । जिन्दगीले झन झन सफलता दिरहेको थियो उनीहरूलाई । एक दिन ठूलो खुशीले शोभनाको ढोका ढक्ढक्यायो । त्यो ठूलो अवसर थियो उनीहरूका लागी । सुशोभनले २ बर्षको बिजनेस ट्रिप हात पारेको थियो अमेरीकाको लागि । दुवै प्रशन्न थिए केही समयको लागि बिछोडीन पर्ने भए पनि । दुवै एक अर्काको अङ्गालोमा बेसरी बधिएका थिए मानौ अहिले नै उनीहरूले छुटि्नु परेको छ । त्यस रात दुवैले रुन्चे हाँसोका साथ एक अर्काको अङ्गालोमा विताए पनि मैले तिमी बिना २ बर्ष कसरी बिताउने होला भनेर जुनै बेला पानि शोभना रोइदिन्थि । तिमीसँग त छोरी छ, मसँग के छ भन त? म त तिमीहरूको मायाँ लिएर जाँदै छु । मन बाट टाढा हुन दिने छैन एकपल पनि । बरु मलाई नविर्सीनु है शोभना । छोरीलाई राम्ररी पढाउनु । धेरै दु:ख नगर्नु । म वेला वेलामा पैसा पठाउने छु । खुशी अनि सुखसित बस्नु । मैले के भन्नु पर्छ र ! त्यैपनि तिमी आफै सक्छम छौ । अहिले म जहाँ छु त्यसको स्रेय तिमीमा नै त जान्छ नि । फोन, इमेल भए पनि महिनाको एउटा चिठ्टी चाहिं पठाउ है शोभना भन्दै गहभरि बिछोडको मोती लिएर आफ्नो अङ्गालोमा भर्छ शोभनालाई ।
भोलि बिहानको फ्लाइट छ सुशोभन, तिमी सुत । छोरी सुतेपछि म प्याकिङ मिलाइदिन्छु भन्छे तर सुशोभनको मनले किन पो मान्थ्यो र ! ऊ पनि आयो शशोभनालाई सघाउन । दुवै मिलेर प्याकिङ गरे अनि एक अर्काको आँखामा हेरेर, एक अर्कालाई आश्वाशन दिएर, विश्वासमा बाँधिएर रात बिताए । मानौ उनीहरू नव विवाहीता जोडी हुन । बिहानी पख अलि चाँडै उठेर शोभनाले सुशोभनका लागि दुई चार अक्छर लेख्छे अनि सुशोभनको पर्समा राखिदिन्छे ।
आँखाभरि आँशु मुटुभरि बिछोडको पिडाका साथ ओठमा रुन्चे हाँसोले आमा -छोरीले वाबुलाई विदा गर्छन् सुनौलो र सुखी भविष्यका लागि । समय बित्दै जान्छ, मेल, फोन अनि चिठ्ठी पानि आउने जाने भैरहेको छ । खुशी छ उनीहरूको जीवन । एक दिन शोभनाले फोन गर्छे अनि सुशोभनको स्वरमा मलीनता पाउँछे तर सुशोभनले थकाईले गर्दा हो भनेर सम्झाउँछ र पनि शोभना अलि तरङ्गित हुन्छिन । मनमा केही आशङ्का आए पनि आफ्नो विश्वास र प्रेम प्रती विश्वस्त छिन । सबै कुरा सामान्य थियो तर फोन र मेल आउने समयको अन्तर भने अलि बढेको थियो । शोभनाले पनि कामको व्यस्तताले भन्ने राम्ररी बुझेकी थिइ ।
सुशोभनको फिर्ति पनि अर्को हप्तामा छ । मनमा उमङ्ग बढेको छ शोभनाको । छोरीसँग अनेक कुरा गर्छिन तर बाल शुलभ मनले के पो बुझ्दथ्यो र ! मात्र आमाको अनुहारमा टोलाईरहन्थि । घर सिगार्ने र सरसफाईमा धेरै समय दिइरहेकि थिइन् शोभनाले । फूलको सौखिन भएकिले बगैचा विशेष प्रकारले सिंगारेकी थिइन् । सुशोभनको मनपर्ने खाना पानि बनेको थियो- पकौडा । शोभना ! शोभना ! कता छौ तिमी? मलाई लिन पनि नआएकी? यस्तो आवाज सुन्ना साथ दौडिइन् शोभना ढोकातिर । ठिङ्ग उभिई, अनुहार मलीन भयो । मनभरि शंङ्खा उपशंङ्खा आयो । सुशोभनमा मत्र हाड छाला थियो, अनुहारमा न कुनै चमक थयो न ता रौनक नै । के भयो तिमिलाई? किन यसरी दुब्लाएको मेरो राजा? बिरामी परेका थियौ कि के हो? जस्ता प्रश्न अगाडि तेर्स्याइन तर सुशोभनले तेती मायालु पाराले जावाफ दिएन बरु अलि झर्केको आवाज पोख्यो शोभनाको आगाडी ।
उनको उमङ्ग अलि मत्थर भयो अनि पहिलाको सुशोभनको बारेमा सोचीरहिन, सुशोभन अगाडि नाचिरह्यो । छोरी पनि गइन बाबाको कखमा । कति कोसिस गर्यो तर छोरी पटक्कै मानिन । चकलेट, खेलौना, नाना केहीले पनि तान्न सकेन छोरीलाई आफूतिर । शायद लामो समयको अन्तरले होला भन्ने भयो दुवैलाई । बेलुका मीठा नमीठा सबै कुरा गरुँला भनेर बसेकि शोभनाको सपना तेतिबेला टुट्यो जति बेला उनी आफ्नो २ बर्षको बिछोडको पीडा मेटाउनलाई मनभरि थुपारेर राखेका सबैकुरा साट्छु अनी आफ्नो प्रीय शुशोभलाई प्रेममा बाध्छु भनेर कोठामा गइन् । शोभना हेरेको हेरै भइन् । कहिले पनि रक्सीलाई नछुने मान्छे अहिले रक्सीमा पुर्णतया डुवेको छ । होस नै छैन । सुशोभन तिमीले यो क गरेको? के भयो तिमीलाई? भन्दै मायालु स्पर्स दिएकि शोभनालाई लात्ती हान्छ, हात हाल्छ रक्सीको वेहोसीमा । शोभना हेरेकोहेरेइ हुन्छिन- केही बोल्न साक्दिन । कुनै शब्दबिना आफ्नो सपनालाई आफ्नै मनमा दबाएर आफ्नो बेडमा पल्टन्छिन् । सुशोभन कति बेला आउँछ भनेर कुर्दा कुर्दै विहान भैसकेछ । चराहरूको चिरीबिरीले ब्युँझेर सुशोभन भएको कोठामा जाँदा बेलुकाको अबस्थामा नै देखिन् अनि केही नबोलि ओढ्ने ओढाइ दिइन् मायाँलु हातले ।
सधैं झैं बिहानको काम सिध्याएर कलेज गइ पढाउन शोभना । कलेजबाट आएपछि छोरीलाई स्कुल पठाउन तयार गर्दै थिइन । सुशोभनलाई हेर्न गइन् । सुशोभन उठेर फेरि पिउन थालेको रहेछ । छोरीसँग कुरा गरी बाबाले फेरि पिएको हो भनेर । मैले बाबा लाई नपिउनुस भनेको त मामु मलाई यहां बेसरी पीट्नु भयो भनेर आफ्नो गोडा देखाई । बाबालाई सन्चो नभएर हो, सन्चो भएपछि तिमीलाई धेरै मायाँ गारिसिन्छ भनेर बाल सुलभ मनलाई बुझाउने कोसिस गरी । छोरीलाई स्कुल पुर्याएर फर्किएकी शोभनालाई फेरि तेस्तै दुर्ब्यबहार गर्यो सुशोभनले रक्सीको मातको सुरमा । यो पटक पानि शोभनाले केही नबोलि बासिन् अनि खाना टेबलमा लगाइन् । खाना सबै पोखिदियो सुशोभनले । आत्मा देखी रोइन् शोभना । सुशोभन बोल्न हुने नहुने शब्दहरू ओकल्दै थियो विषको रुपमा ।
शोभनाको धैर्यको बाँध अझै कमजोर भएको थिएन । मात्र छक्क थिई – किन अनि केले यस्तो परिबर्तन ल्यायो ? कसरी पिउने बानी पर्यो होला? एक छण मात्र नपिए पनि सोध्थे आदि आदि कुराहरू आए गए । ऊ एक मौकाको खोजीमा थिई तथ्य पत्ता लगाउन । आफैंलाई सम्झाउँछे म हार खान्न । कस्तो सुशोभनलाई मैले कस्तो बनाए । कति नै भयो र सुशोभन म बाट टाढा भएको? यो २ बर्षको बिचमा आएको उसको बिकृति म हटाएर नै छाड्छु भन्ने मनमनै अठोट फेरि एक पटक लिएर सुशोभन भएको ठाउँ तिर बढी । सुशोभन लडीरहेको छ- मुखबाट रगत पनि बगेको छ नीकै नै । सबै सफा गरेर सुताई शोभनाले उसलाई । अचेत शोभनालाई सुम्सुम्याई । अलिकति चेतमा आएको छ सुशोभन रक्सीको मातबाट । आँखा टलपलाएको छ उसको अहिले । अनुहारमा ग्लानिले ढाकेको बुझिन्छ । शोभना ! मलाई माफ गर है? मलाई अमेरिकाले कुलतमा धकेलिदियो ठूलो बिजनेस म्यान बनाएर । तिमी मेरो जस्तो ब्यबहारमा पनि उही रुपकि शोभना भएर बसेकी छौ । मलाई माफ गर है? आफ्ना सबै पीडालाई बिर्सेर सुशोभनलाई फेरि एकपटक अंगाली मुटुभरिको मयाँ खन्याएर । भैगो सुशोभन जे भयो भयो, अब तिमीले रक्सी छोड । हामी फेरि शुखी अनि खुशीको संसार बसाउँ है? हेर ! छोरीले जहिले पनि भन्ने गर्थी-बाबा आएपछि त मलाई स्कुलमा लिन आइसिन्छ है? तिमी जान चहाँदैनौ छोरीलाई लिन? हिड्ने कोसिस गर्यो शोभनाको सहाराले तर धेरै हिड्न सकेन् । शोभनाले सम्झाई-भोलि डाक्टरकहाँ जाने जचाउने, सल्लाह लिने । तिमीलाई निको भएपछि तिम्रो काम है त छोरीलाई लिन जाने । शोभनाको कुराले नसुहाउदो हासो पोतियो सुशोभनको अनुहारमा ।
भोलिपल्ट झन च्याप्यो सुशोभनलाई । खोक्दा फेरि रगत बान्ता भयो । शोभना आत्तिई । डाक्टरलाई फोन गर्न गई तर सुशोभनले लड्खडाँउदै शोभनालई समात्न पुग्यो । शोभना ! म मर्न चाहन्न । मलाई बचाउ । मैले छोरीलाई स्कुलमा लिन जानै छ । तिमीलाई खुशी दिनु छ । शोभना मलाई तिम्रो काखमा राखन ! मलाई स्वास फेर्न गाह्रो भैरहेको छ । डाक्टरलाई फोन गरेर शोभनाले सुशोभनलाई आफ्नो काखमा राखी । तिमीलाई केही हुन दिन्न सुशोभन, तिमी नआत्तिऊ । डाक्टर आउँदै छन् । तिमी निदाउने कोसिस गर, म कपाल मुसारी दिन्छु । मायाले ओतप्रोत सुशोभनले शोभनाको हात समाउँछ । शोभना ! शोभना ! भन्दा भन्दै निदाउँछ । डाक्टर आएर नाडी छाम्छन्, ढुकढुकी सुन्छन् र मलिनो अनुहारले केही भन्न खोज्छन् । तर बिचमा नै भन्छिन- डाक्टर साव सुशोभन अहिले निदाएको छ । उसलाई मैले कपाल सुम्सुम्याएपछि निद्रा आउँछ, त्यसैले उसलाई दिस्टर्व नगर्ने कि? मपछि औषधि खवाउँछु । डाक्टरले एक शब्द पनि बोल्न सक्दैनन् केही समयसम्म । अव उसले कहिले पनि औषधी खान सक्दैन शोभनाजी, तपाईंले औषधी खुवाउने प्रयास नै… ।
सफलता- उनीहरूकी एक्ली छोरी दौडेर आई । मामु ! मामु ! खोइ त आज पनि बाबा मलाई लिन आइबक्सेन त? त्यसैले म साथीहरूसँग आए । भोलि त बाबा र म सङ्गै स्कुल जाने है? भन्दै झ्वाम्म शोभनालाई अङगालो हाल्दा शोभना भूईंमा ढल्छे । छाम्दा त हिउँ जस्तो चीसो भेसकेकी थिई । सुशोभन र शोभनाको एकै लास भयो त्यहाँ । सफलता ! अब तिमीले सधै एक्लै स्कुल जानु पर्छ । कसैको आशमा बाच्न हुन्न तिमीले । तिमी बलियो हुनुपर्छ भन्दै थिए डाक्टर तर सफलताले केही नबुझेपनि हुन्छ भन्ने स्वीकारोक्ति दिई । डाक्टर आँखाभरि आँशु लिएर सफलतालाई डोर्याउँदै निस्किन्छन् । तर सफलता भने रुँदै- म डाक्टर अंकलसँग नजाने, म बाबा मामुसँगै बस्ने भन्दै डोरिइँदै छे – पितृ बात्सल्यको तृष्णा समेट्दै ।
NDF Japanको स्मारिकामा सम्प्रेषित
सेप्टेम्बर, २०१०
टोकियो
