म गरीब भएर
चलाई राखेको भए पनि ठेला
र तिमीले यसको
चिन्ता लिइराखेको बेला
मलाई
अर्को पीडा थपिए पनि
तिमीले कुनै चिन्ता नगर
तिम्रो घरमा पार्टी चलेको बेला
मेरो घरमा चामल नहुँदा
भोक भोकै बस्दा पनि
छोराको उपचार गर्न नसकी
शोक शोकै बस्दा पनि
मैले बाँच्न सिकेकोछु
मैले हास्न सिकेकोछु
किनभने
भोक मेरो नसा भएको
शोक मेरो नसा भएकोछ ।
अब मलाई
पेडा होइन
पीडा भए पुग्छ
खीर होइन
पीर भए पुग्छ
किनभने
बियोग मलाई
भाँग भन्दा मिठो लाग्छ
बिजोग मलाई
अफिम भन्दा छिटो लाग्छ
त्यसैले
तिमीले मलाई
गरीबीको रेखा मुनी राखे पनि
सडक, पुल मुनी फ्याके पनि
मलाई कुनै आपत्ति छैन
मलाई कुनै बिपत्ती छैन ।
मेरो नाममा
भोज, भातेर, सेमिनार गर्नेहरू
मेरो मममा
धन, सम्पत्ति जोडन मर्नेहरू
सुखहरूमा तिमी जियू
दु:खहरू मलाई देऊ
तिम्रो धुखको बिष
म घुटक्क पिइदिन्छु
तिमी सुखमा भट्किरहेको बेला
तिमीलाई सुख खट्किरहेको बेला
म दु:खमा पनि
आनन्दले जिइदिन्छु।
मलाई एक छक खाना नभए पनि
मलाई तिम्रो कुनै साथ नभए पनि
वेदना पिउदा पिउदै
समवेदना जिउदा जिउदै
झुपडिमा पनि रमाउन सक्छु
पसिनामा खुशी कमाउन सक्छु
मलाई गरीब हुनुमा
कुनै चिन्ता छैन भने
तिमी महलमा बसी
गरिबको चिन्ता नगर
गरबिको सुर्ता नगर
बरु सक्छौ भने
हाम्रो नाउँमा अझ भ्रष्टचार गर
हाम्रो गाउँमा अझ अत्याचार गर
सक्छौ भने अझ
तिमी र हामी बिच
एउटा ठुलो खडल खान
म त्यो खाडलमा खस्दा पनि
म त्यो खाडलमा फस्दा पनि
खुशीका साथ जिउन सक्छु
र त्यो बेला
तिम्रो दु:ख पनि
एक घुट्कीमा पिउन सक्छु।
