
असङ्ख्य मौरीहरूको अथक परिश्रमपछि अमृततुल्य मह चाकामा भरिए जसरी अनेकौं अथकित सर्जकहरूका साहित्यिक सिर्जनाले साहित्यभण्डार भरिने कार्य निरन्तर चलिरहेको छ । यस्तै एक अथकित स्रष्टा हुनुहुन्छ, राममणि पोखरेल !
किशोरावस्थादेखि साहित्य सिर्जनामा चलेको राममणि पोखरेलको कलम जीवनको उत्तराद्र्धमा पनि उत्तिकै सक्रियरूपमा चलिरहेको छ । समाजमा दुःख पाएका, अन्यायअत्याचार गरिएका, शक्तिसम्पन्नहरूको थिचिमिचोमा परेका, आफ्नो आवाज ठाउँमा पुर्याउने पहुच नभएका, निर्धन, निमुखा आदिको बोली सर्जकले बोलिदिनुपर्छ भन्ने मान्यता राख्ने र सोहीअनुरूप निरन्तररूपमा साहित्य सिर्जनामा साधनारत उहाँद्वारा नेपाली साहित्यले सिर्जना–रत्न प्राप्त गरिसकेको र गरिरहेको छ । यसै क्रममा उहाँ आफ्नो नयाँ कथासङ्ग्रह ‘नेरम्पा काका’ लिएर आउनुभएको छ ।
जीवन र जगत्को निश्चित प्रयोजनयुक्त घटना र प्रसङ्गहरूको संयोजन गरी संवेदनात्मक अनुभूतिको सूक्ष्मतम अभिव्यक्तिका साथ पन्ध्रवटा कथाहरूको सङ्ग्रह ‘नेरम्पा काका’मा पीडितहरूको पीडा पोखिएको र अभावैअभावमा जिन्दगी बाँच्नेहरूको व्यथा छताछुल्ल भएर पोखिएको छ । शोषणको सास्तीले खिइएका निमुखाहरूको पक्षमा लेखिएको प्रस्तुत कथासङ्ग्रहभित्रका कथाहरूलाई सरसर्ती हेरौँ—
‘नेरम्पा काका’ कथासङ्ग्रहको पहिलो कथा पुस्तकको शीर्षक कथा ‘नेरम्पा काका’ दोस्रो विश्वयुद्ध ब्रिटिस सरकारकातर्फबाट लडेको लाहुरेको कथा हो । युद्धभूमिमा प्रस्थान गर्नु अगाडि सधैं कमान्डरले ‘…तिमीहरू मरेर नेपाललाई केही नोक्सान हुँदैन । बेलायतले हार्नुभएन…’ भनेर हरेक दिनभन्दा उनीहरूले लाहुरेको जीवन कति सस्तो ठान्थे भन्ने कुरा प्रष्ट हुन्छ । युद्धभूमिको पीडा, कष्ट भोगेर अर्काका लागि आफ्नो ज्यानको बाजी थापी, हत्केलामा प्राण लिएर हिँड्ने लाहुरेको कष्टपूर्ण र रोमाञ्चकताका साथै गाउँघरमा अँझै पनि मर्दापर्दा साथ दिइन्छ भन्ने कुरा ‘नेरम्पा काका’ कथामा देखिन्छ ।
‘नेरम्पा काका’ कथासङ्ग्रहको दोस्रो कथा ‘धागोले बाँधेको चिठी’मा राज्यले आफ्ना नागरिकलाई काम दिन नसकेपछि, खेतबारीको उब्जनीले परिवारको पेट पाल्नका लागि विदेशिनुपर्ने बाध्यता कथामा ऐना हेरे जसरी छर्लङ्ग देखिन्छ । जवान पत्नीले लाहुरे पतिसँग बस्न नपाएको पीडा र बाध्यता अनि शरीरको प्राकृतिकरूपमै जागृत हुने नैसर्गिक आवश्यकता पूरा गर्न गलत बाटो समात्न सक्ने कुरालाई नकार्न नसकिने कुरा उठाइएको छ ।
‘दश तोला सुन’ कथामा समयमा पानी नपर्दा किसानले भोग्नुपर्ने मानसिक पीडा, पतिले परदेशमा रगतपसिना चुहाएर कमाएको धनसम्पत्ति पत्नीले सिरीखुरी पारेर लिएर अर्कैसँग हिँडेपछि उसको परिवार, बालबच्चाले भोग्नुपर्ने पीडा र संकट, स्वतन्त्रताको नाममा मान्छे अराजक र विश्वासघाती भएपछि परिवारका अरू सदस्यले खप्ने सास्ती आदि कुरा छ । एकातर्फ देशले वैदेशिक रोजगारका माध्यमबाट रेमिट्यान्स भित्र्याएर राज्यव्यवस्थाका उच्च पदस्थ व्यक्तिले सुखसुविधा भोरिरहेका छन् भने अर्कोतर्फ श्रम बेच्ने श्रमिकको परिवार भताभुङ्ग भइरहेको वर्तमान परिस्थिति उजगार गर्न कथा सफल छ ।
मधेश आन्दोलनका कारण पत्नी र पति गुमाएका ससुरा र बुहारी एकै घरमा रहँदा बस्दा शारीरिक सम्पर्क भएर गर्भ रहेपछि लोकलाजका कारण आफ्नो गाउँठाउँ छोडेर शहर भित्रिएको कथा छ– ‘प्रसादी’मा ।
‘जनी जात छी’ कथामा अशिक्षित र निर्धन परिवारका बुहारीले आफ्नै परिवारका पुरूष सदस्यहरूबाट भोग्नुपरेको यौनशोषणको कुरा उठाइएको छ र नारीले अलिकति निर्भिक भएर आफूमाथि भइरहेको शोषणका विरूद्धमा आवाज उठाउने हिम्मत गरेमा कसैले पनि शोषण गर्न सक्दैन भनेर समाधानको बाटो पनि देखाइएको छ ।
दुर्गम गाउँका सरकारी विद्यालयका शिक्षक, जि.सि.अ. आदिका कारण देशका भोलिका कर्णधार, आजका कलिला बालबालिकाको पढाइमा परिरहेको असर, छापेदलको झोले कार्यकर्ता भएपछि आफ्नो कामकर्तव्यप्रति उत्तरदायी नहुने, नेतालाई रिझाएर लेबी बुझाए पुग्ने, ‘रूपैयाँपैंसा त एकअर्कामा आदनप्रदान भइरहन्छ नि ! के कसैसँग आर्थिक कारोबार गर्नु गलत कार्य हो र ?’ भन्ने सोचेर आफ्नो घटिया कामलाई नै सही र सत्य मान्ने घिनलाग्दो प्रवृति, नैतिकता गुमाएपछि गर्वले शिर ठाडो पार्न नसके पनि लाज पचाएर बस्नेहरूका काला कर्तुत उदाङ्ग पार्न ‘पार्टी सदस्यता’ कथा सफल भएको छ ।
सन्तानले डाँडाकाँढा ढाकेका तर आमालाई वास्ता नगर्दा असहाय भएर एक्लै वृद्धावस्था बिताइरहेकी वृद्धाको करुण कथा ‘सुलोचना दिदी’मा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।
धर्मकर्म गर्दै धार्मिक पूराण वाचन गर्ने पण्डितले विधवाले लगाएको सप्ताहमा गएर पूराणमा वाचन गर्ने अनि तिनै विधवालाई खेदो गर्दै नानाथरी कुरा भन्ने कुसंस्कारी पण्डितलाई ‘पूराण वाचक र एकल महिला’ कथामा सही बाटो देखाइएको छ ।
‘तिमी त हिन्दू भइछौ’ कथामा यात्रामा भेटिएको सहयात्रीसँग अनावश्यकरूपमा नजिकिएपछि भोग्नुपरेको अप्ठेरो परिस्थितिलाई रोचक तरिकाले दर्शाइएको छ ।
पतिपत्नीका बीच असमझदारी भएपछि जीवन कसरी बर्वाद हुन्छ अनि दोष पति या पत्नी जसको भए पनि आखिर जिन्दगी त दुवैको तहसनहस हुन्छ भन्ने तीतो सत्य ‘दोषी को ?’ कथाको विषयवस्तु रहेको छ ।
आमा बन्न लालयित, सन्तान प्राप्तिका लागि जस्तोसुकै जोखिम उठाउन पनि तयार हुनसक्ने नारीको अभिलाषा ‘सन्तानको चाहना’मा देखिन्छ ।
‘दाइजोको सकस’ कथामा समाजमा कलङ्कको रूपमा रहेको ‘दाइजो’ प्रथाका कारण मृत्युवरण गर्न बाध्य पारिएकी बुहारीको करूण चित्कार गुञ्जेको छ ।
सिर्फ अहिलेको गाँसका बारेमा मात्रै सोच्ने, भरेका लागि नसोच्ने, जीवनको उद्देश्य नै एक छाक पेट भर्ने रहेका अशिक्षित, गरीब दलितहरूको कुरा ‘जीवन’ कथामा छ ।
सिमानाका बासिन्दाहरूको पीडा बोकेको, दक्षिणी छिमेकीका प्रहरीले पदीय शक्ति देखाएर सताउँदा र छोरीबुहारीप्रति कुदृष्टि लगाउँदा, लोभलालच देखाउँदा पनि ‘हाम्रो देशको जनसङ्ख्याभन्दा धेरै तिम्रो देशमा माग्ने छन्’ भन्दै राष्ट्रियताको कुरामा कुनै सम्झौता नगर्ने बरू मर्न तयार हुने देशप्रमीहरूको पीडा ‘राष्ट्रियता’ कथामा पोखिएको छ ।
रोगव्याधिले सताउँदा डा.लाई देखाउन अस्पताल जानुपर्छ भन्ने चेत नभएका, जे कुरामा पनि प्रकृतिमै भरपर्ने, साधारण रोगले पनि ज्यान गुमाउनेहरूको अज्ञानताको कथा ‘माटो’मा छ ।
‘नेरम्पा काका’ कथासङ्ग्रहका कथाहरूमा विभिन्न घटना र चरित्रका आधारमा चाखलाग्दो गरी विषयवस्तुहरू प्रतिपादित भएका छन् । कथामा सामाजिक, मनोवैज्ञानिक, आर्थिकका साथै अनेकौं समस्याहरू औंंल्याइएका छन् । कथाका अधिकांश पात्रहरू संघर्षशील छन् । ‘नेरम्पा काका’भित्रका कथालाई विभिन्न घटना, दुर्घटना र अलग प्रकारका पात्रहरूले रङ्गिन, उज्यालो र चम्किलो पारेको छ ।
निमुखा, शोषित, पीडितहरूको पक्षमा आफ्नो लेखनको स्वर र अन्तर्दृष्टि राख्ने प्रवृति राममणि पोखरेलको लेखनीमा देखिन्छ । उहाँका कथा कृत्रिमता र यान्त्रिकताबाट निकै टाढा छन् । कुनै पनि कथामा कोरा सिद्धान्त र खोक्रो आदर्श छाँटिएको छैन । कथाका पात्रहरू जति सरल छन् भाषा पनि त्यतिकै सरल छ । कुनै पनि शब्दको अर्थ खोज्न शब्दकोश पल्टाउनुपर्दैन । गाउँले जीवनका घटनालाई टपक्क टिपेर सरल शिल्पशैलीले सिँगारेर कथालाई आस्वाद्य र हृदयस्पर्शी बनाउनसक्नु कथाकारको खुबी हो । कथामा प्रयोग भएका उखानटुक्काले अचारको काम गरेको छ । विश्वयुद्धदेखि वर्तमान समयसम्म या भनौँ एक शताब्दीभन्दा बढी समय सीमाभित्रका पात्रहरू समेट्नसक्नु कथाकारको मौलिक खुबी होभन्दा फरक नपर्ला ।
कुनै स्थान अथवा पात्रको वर्णनमा सजीव दृश्य प्रस्तुत गर्नसक्नु कथाकारको विशेषता मान्न सकिन्छ । उहाँका कथाका पात्र, परिवेश, स्थान आदि कुनै पनि कुरामा बनावटीपन पाइँदैन अर्थात् कुनै फूलबुट्टे आवरणले कथालाई ढाकिएको छैन, जे छ, जस्तो छ त्यस्तै छ । कथा पढ्दा पाठकका आँखाअगाडि सबै पात्र र कुरा सजीव, जीवन्त हुनाको कारण कथाकारले सत्यलाई नछोड्नु, नमोड्नु हो र यो इमान्दारिता राममणि पोखरेलका सबै कथामा पाइनु उहाँको विशेषता हो ।
आञ्चलिकताको मीठो स्वाद भएका, ग्रामीण परिवेशमा मगमगाएर फुलेका ‘नेरम्पा काका’ कथासङ्ग्रहका कथाहरूले पाठकको मनमस्तिष्कमा स्थान पाउने छन् अनि कथाकारको कलम निरन्तर रूपमा चलिरहने छ र नेपाली साहित्य बगैँचामा नयाँ नयाँ कथाहरू फक्रिरहने छन् ।
श्रद्धेय राममणि पोखरेलज्यूको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै प्रस्तुत कथासङ्ग्रहका लागि उहाँलाई हार्दिक बधाई ! शुभकामना !
–सुमी लोहनी
भाटभटेनी, काठमाडौं
२५ पुस २०७७
