प्रधान मन्त्री
सोझा जनतालाई
चर्को ब्याजमा
तम्सुक लेखाउने
गाउँको मुखिया बा।
मन्त्री
जनताको भकारी सोर्दै
सरकारको ढुकुटी फोर्दै
आफ्नो सामान जोर्दै
कहिलै नअघाउने
झुसली किरो
प्रशासन
मुखिया बाको
चाकडै गर्दै
सोझालाई थर्काउँदै
फटाहलाई तर्साउँदै
गोबर सङ्कलन गर्ने
गोब्रे किरो ।
योजना प्रमुख
कसरी बाँड्दा
अरुलाई किलो
आफूलाई धार्नी पार्ने
लोभी स्याल ।
डाक्टर
कुनै आपतले
गौशालामा आएको
गाईलाई
दुधमात्र होइन
रगत पनि चुस्ने
किर्नो किरो ।
समाजसेवी
भन्नेलाई सेवा
आफूलाई मेवा
समुन्द्रको माछा
बकुला भक्त ।
हाकिम
अरु छिटो आउँदा
ढिला आउने
अरु ढिला आउँदा
छिटो आउने
पुरानो रेल ।
भ्रष्टचार
जति मार्यो
उति फैलने
माखेसाङ्गलो ।
फेसन
पुरानो सिसी
नयाँ रक्सी
छुँदा डमी
हेर्दा सेक्सी ।
