मेरो प्रिय हिजोको दिनहरूमा
मगमगाउने फूलहरू गोड्ने
तिम्रा ती हातहरू
आज विवशतामा काँडाहरू
सुसुम्याउन बाध्य छ
कसैको आँखामा रसाएको
एकथोपा आँशु देख्दा
टप्प टिपी आफैमा दल्दै
टल्पलाउने ती आँखाहरू
आज वेदनाले ताल बनेको छ
खुला आकाशमा आजाद पंक्षी झै
विचरण गर्न मनपराउने
मेरो प्रिय तिमी आज
कसैको पिंजडमा थुनिएकाछौ
बन्द कोठा बन्द धड्कन
यस्तै उच्छवासहरूमा तिमी
उकुसमुकुसिएर बाँच्न विवश छौ
के दिन के रात
के घाम के झरी
मेरो प्रिय हरपल घोटिदैंछ
खियाँउदैँछ आफ्ना हाडहरू
केवल मेरो लागि
केवल मेरो लागि
मलाई थाहा छ प्रिय
भोलिका दिनमा खुसीका
उत्सवका रङ्गहरू भर्न
आज तिमी त्यो मरुभूमिमा
बालुवाका कणसंगै विलिन हुदैंछौ
सुख्खा, बंजर डगरहरूमा
सेता मोती फलाउन
असह्य कष्ट खप्दैछौ
गर्मीका दिनहरूमा
नूनिला ती सागरहरूमा
धमिलो छाँयामा
मलाई प्रतिविम्वित गर्दै
सकी-नसकी पौड्दैछौ
पसिनाका एक एक थोपा
मुद्रामा परिणत गर्दैछौ
केवल मेरो लागि
केवल मेरो लागि
अनि हरदिन भित्तामा
टाँगिएको गते र महिनामा
औँला भाँच्दै आफै टाँसिदैछौ
केवल मलाई भेट्न
केवल मलाई भेट्न
आफूलाई अग्निमा होमेका छौ
तिम्रो त्यो बलिदानले
मेरो मन तरङ्गित पारेको छ
मेरो स्पन्दनमा तिमी
प्रेमिल गीत बनी धड्किएका छौ
सुसुप्त मेरो मष्तिस्कमा
चेतनाको बिज बनेका छौ
अँध्यारा जीवन गल्छेडाहरूमा
तारापुञ्ज झै झल्मलाएका छौ
त्यही उज्यालोले म सुन्दर
मार्गहरू प्रसस्त मात्रामा देख्दैछु
जहाँ हामी भोलिका दिनमा
सँगै जीवन यात्रा गर्नेछौ ।
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं
