बाग्मती देवी चाहिँ कता गइन्
नदी मात्र यहाँ राखेर ?
र त पानी बग्नसमेत सकेको छैन यहाँ
निरन्तर थपिइरहेको फोहोर र दुर्गन्धमा निसास्सिएर
बान्ता गरिरहेको नदी
फोहोरलाई ठेलेर आफू बग्ने मेलो गरिरहेको छ ।
वास्ता नगरिएका बाँदरहरू
स्याहार नगरिएका कुकुरहरू
मालिक नभएका गोरुहरू
र, सायद समाज नभएका मानिसहरू
यही फोहोरको थुप्रोमा खोजिरहेछन्
आफूसित नभएका कुरा
म छक्क परिरहेछु
यो सबै यसै छाडिराखेर
शिवजीचाहिँ कता लागे हुन् ?
– – – – –
म आँसु बिनाको पानी मात्र बग्ने नदी हुन चाहन्छु
म आकाशका सबै तारा बगाउन सक्ने नदी हुन चाहन्छु
सास फेर्ने नदी, मीठा धुनहरू सुसेल्ने नदी
माछा उफ्रने नदी
पानीहाँसले डुबुल्की लगाउने नदी
म सुनचाँदीको बगरमा
तपाईंको हात समातेर बग्न चाहन्छु
म छाड्न चाहन्छु यहाँ हाम्रा गौरवशाली पदचिन्हहरू
पुर्खाले जस्तै
म साँच्चै नै
देवताले बास गर्ने
बाग्मती नदी हुन चाहन्छु ।
(दक्षिण कोरियाली कवि चुङ हाल कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)का तर्फबाट बाली उत्पादन सल्लाहकारका रूपमा नेपाल सरकारको कृषि मन्त्रालय, हरिहरभवनमा कार्यरत छन् ।)
भावानुवाद : केदार शर्मा
नेपाल साप्ताहिक ४४८
