Skip to content


सन् २००८ को अगस्त २३ का दिन मैले गजलका बारेमा दोस्रो भावभिनी परीक्षा दिएको थिएँ, गजलनगरी चित्तवनमा गएर, त्यो प्रिय दिवसलाई म आज पनि डरले सम्झिन्छु, प्रेमले बिर्सिन्छु।

कविता र गीतसितको मेरो सम्बन्ध रेडियो सुन्न थालेदेखि नै हो तर गजलसितको मेरो सम्बन्ध त्यति परापूर्वकालीन होइन भन्छु म। गजल मैले पहिलोपटक पाकिस्तानी गायक मेंहदी हसनको स्वरमा एक परििचताको निवासमा काठमाडौँमै सुनेको हुँ।

गजल भनेको मेरा निम्ति त्यतिबेला एक धीमा गतिको गीत मात्र थियो र जब परििचताले मलाई गजलको गायन, प्रस्तुति र संरचनाका बारे व्याख्या गर्दा म झन् टाढा भागेँ।

संयोगले वा बाध्यतामा मैले पत्रकारतिा कर्मका दौरानमा मेंहदी हसन, गुलाम अली, पंकज उधास, अनूप जलोटाको नेपाल आगमनका बेला अन्तर्वार्ता गर्न पाएँ, त्यसपछि साँच्चै गजल मेरा निम्ति चिरपरििचत विधा हुन पुग्यो। अनि, गजल सुन्न होइन, पढ्न थालेँ… गालिब, मीर, मोमिन, दाग हुँदै मजाज, शीरानी, फैज, साहिर, कतिल शिफाइ, नासिर काजमी, अहमद फराज, फरहत शहजादको हाराहारीमा आइपुगेँ। गजल केही बुझ्न थालेँ अनि बुझाउन थालेँ। त्यसपछि म गजल पारखीका अगाडि कतआत के हो, मख्ता के हो, तखल्लुस कहाँ प्रयोग हुन्छ बोल्दै हिँड्न थालें।

यति जानेको भरमा एकदिन साँच्चै मैले गजलसम्बन्धी कार्यक्रम चलाउनुपर्ने दिन आयो, त्यसलाई मैले सुरुमा सौभाग्य ठानेँ। त्यो सौभाग्य मेरा निम्ति विस्तारै चुनौती बन्दै गयो। ‘शाम ए गजल’ नामको सो कार्यक्रम एफएम जगत्को पहिलो गजल कार्यक्रम थियो र दुर्भाग्यवश म त्यसको पहिलो प्रस्तोता।

गजल जानेको र बुझेका आधारमा मैले काठमाडौँलाई सानो सहर ठानेँ तर त्यो होइन रहेछ। तर, यहाँ गजल बुझ्ने मभन्दा भयानक योद्धा हातमा हतियार नलिई मैदानमा उभिएका रहेछन्, कार्यक्रम सकिएकै भोलिपल्ट कोही पत्र लेख्थे, कोही फोन गर्थे, कोही इमेल गर्थे। म ती सबलाई एकान्तमा लुकेर पढ्थेँ र मौनसाधना गर्थें, यिनै हुन् गुरु भनेर।

ती सब गुरुवरलाई भेट्ने मौका मिल्यो एकदिन देवकोटा जयन्तीमा डिल्लीबजारको सांस्कृतिक भवनमा। भेट आकस्मिक थिएन तय थियो, अलिअलि भय पनि थियो। त्यस भेटमा तिनले मलाई पालैपालो परीक्षण गरे। म त्यसदिन चकित भएँ, नेपाली गजल भनेर म जे गजल बजाउँदै थिएँ, ती गजल होइनन्, ती त गजलभित्रका गुगल मात्र रहेछन्। हेर्नूस्, त्यो कालीप्रसादको गजल गलत छ, प्रकाश अधिकारीले लेखेको गीत हो, गजल होइन … फलाना गजलको काफिया खोइ, फलाना गजलको रदीफ मिल्दैन … आदि-इत्यादिको नाउँ लिँदै तिनले मलाई त्यस सभामा घेराबन्दी गरे। ती सबै ममाथि औँला उठाउनेको अनुहार मिलाएर म हेर्छु, ती कोही गजलकार होइन रहेछन् तर कसरी तिनले यतिविघ्न जाने, कसरी दाबाका साथ मलाई धर्ना दिँदैछन्, म चकित परेँ। म आत्तिन पनि थालेँ, यति लोकप्रिय भइसकेको कार्यक्रमलाई रोकूँ कसरी? नरोकूँ आफैँ त्रासदीमा छु।

चलचित्रकर्मीका रूपमा कमाएको अलिकति ख्याति पनि एउटा रेडियो प्रस्तोताका रूपमा नाश हुने हो कि? डर बढ्दै गयो। तर, ती सबै अभ्याक्रमी र आक्रोशी अनुहारभित्र मलाई अपार माया गर्ने भावकको तस्बिर साक्षात् थियो। म विम्बित भएँ। ती विद्रोही श्रोताले मलाई भोलिपल्टदेखि राम्राराम्रा गजलका श्रोतव्य सामग्री दिएर मलाई थप बल दिए। करबि एक वर्षको त्यो नैरन्तर्य यात्रामा मेरा श्रोता र मेरा बीचमा गजलको भूगोल बिगि्रँदै र बन्दै गयो। मलाई काठमाडौँमा हुने हरेक कार्यक्रममा गजलको गोताखोरका रूपमा व्याख्या र परचिय दिन थालियो। मञ्चमा उभ्याइने काम थालियो। यसबीच मिडियाचक्रमा थुप्रै गजलप्रधान कार्यक्रम चल्न थालिसकेका थिए।

म एउटा यस्तो आत्मबञ्चक बन्न पुगेँ, जो घोडादौडमा घोडा दौडेर प्रथम भएको समारोहमा तक्मा थाप्ने त्यस्तै घोडसवार हुनपुगेँ, जो अरूले गरेको मिहिनेतमा छाती थाप्दै थियो। यहाँ नजानेर दिइने पपसम्राट, गजलकिंग यस्ता पद्वीबाट म विस्तारै परििचत हुन थालेँ। काठमाडौँको हरेक कार्यक्रममा तिनै गजलकार भेटिन थाले, जसलाई सुरुसुरुमा म गजलकार भनेर उनका गीत बजाउँथे, तिनै यसपालि यसो भन्दैछन्, “तपाईंले गरेर हामी शुद्ध गजल के हो बुझ्दैछौँ।”

विक्रमाब्द २०५६ र ०५७ का बीच मैले गजलका थुप्रै कार्यशाला, गोष्ठी र सभा समायोजन गरेँ, जसमा साँच्चैका गजल कस्ता हुन्छन् चर्चा मात्र भएनन्, त्यही शिविरमा गजल लेखन प्रशिक्षण पनि आयोजन भो। जुन प्रशिक्षणबाट थुप्रै अपरििचत अनुहार गजलकारको नाउँमा मैदानमा आए। त्यसपछि मैले गजल कार्यक्रमबाट बिदा लिएँ। यतिबेलासम्म पोखरा र चितवनका एफएममा गजलसम्बन्धी कार्यक्रमको विस्तारण भइसकेको थियो।

गजलबाट विश्राम लिएकै समय म हुत्तिएर एकदिन चितवन पुगेँ, त्यहीँको एक व्यावसायिक एफएमको व्यवस्थापन मिलाउन। पेसा र कर्मले यो मेरो चौथो मुकाम थियो।

सन् २००८ को अगस्त २३ का दिन चितवनको ‘अग्रगामी समाज नेपाल’ र ‘गजल मञ्च चितवन’को आयोजनमा हुन गइरहेको १४३औँ मोती जयन्तीमा मलाई एक विशेष अतिथिका रूपमा मञ्चमा बोलाइयो। ‘मोती हाम्रो स्मृतिमा’ नाम दिइएको सो कार्यक्रममा मलाई उद्घोषक मित्रले मञ्चमा बोलाउने क्रममा गजलका ज्ञाता भनेर सम्बोधन गर्दा म फेरि दोस्रोपटक चुनौती र परीक्षाको परबिन्दमा परेँ। मसँगै प्रेमपूर्वक मञ्चस्थ प्रिय गीतकार प्रेमविनोदन नन्दनले दिएको मेरो परचियलाई उद्घोषक विनोद अनुजले बारम्बार गजलकार भनेर परचिय दिइरहँदा मेरो नाउँमा जम्माजम्मी दुई गजल प्रकाशित थिए वा उनले दिएको त्यो तक्माको भागी थिएँ कि थिइनँ, झन् अलमलमा परेँ। जेसुकै त होस् भनेर म मञ्चमा चढेँ।

मञ्चमा बसेर त्यहाँका एकसे एक गजलकारलाई सुन्दै जाँदा मैले आफ्नो परीक्षा अझै कठोर हुने अनुभाव्य क्षण देखेँ। स्थानीय तहका निकै लोकप्रिय गजलकार मिथिला प्याकुर्याल, भीम न्यौपाने, विमलप्रकाश देवकोटा, सुरेन्द्र अस्तफल, भूपिन व्याकुल, भावना पाठक, जीवन शर्मा प्रणय, सामना पहाड, विजयराज ज्ञवाली, प्रभाकर पण्डितका गजलले वाहवाही पाइरहेका बेला म चिन्ताका क्षणमा एक्लै दौडिरहेको थिएँ।

गजल वाचनमा स्वरको उस्तै आरोह-अवरोह, शब्द चयनमा उस्तै नवनीत खाका। हरेक प्रस्तुतिमा आवेश र संयम एकसाथ देखिन्थ्यो।

मञ्चमा रहेका गजलकारहरूलाई एकसरो आँखा च्यातेर ती सबै आ-आफ्नो दम जमाएर बसेका हस्ती छन्, केशवराज आमोदी, गोविन्दराज विनोदी, धनराज गिरी, कपिल अज्ञात, प्रेमविनोद नन्दन… आदि-आदि। म ती सबका सामु नामधाम गुमाएर बसेको थिएँ, एक अपरििचतजस्तै।

नयाँ गजलकार मिथिला प्याकुर्यालले ‘तिम्रो घरमा शंख बज्दा…’ भन्ने गजल वाचन गरिरहँदा बाटोमा उभिएर सुनिरहेका एक रिक्सावालाले वाह! भनेको सुन्दा सारा मञ्च नै तरंगित भएको त्यो क्षण मैले आफूमा पनि त्यस्तै झस्का पसेको महसुस गरेँ। वरिष्ठ गीतकार प्रेमविनोद नन्दनले दिनमा ११ वटा गजल लेख्ने गजलकार भनेर चिनाएका प्रमिला कोइराला हुन् वा घनश्याम परश्रिमीले तालिमी गजलकार भनेर चिनाएका भीम न्यौपाने, यिनलाई सुन्दाको क्षण अति प्रीतिकर र मधुर रहेको त थियो तर मेरा निम्ति त्यति नै अवसादपूर्ण बन्दै गयो। म यो गजलनगरीमा अब गजलबारे फेरि कस्तो बयान दिऊँ? मेरा चारैतिर गजलकार होइनन्, न्यायमूर्तिहरू बसिरहेको मैले महसुस गरेँ।

गजलबारे मैले के बोल्ने, के वाचन गर्ने मेरा निम्ति दोस्रो परीक्षा थियो यो। गजलकारका साथी, गजलका सारथि पुष्प अधिकारी ‘अञ्जलि’ मञ्चमा बोल्न उक्लेपछि उनले मतिर हेर्दै भने, “आज हाम्रा आगे गजलका विज्ञद्वय हुनुहुन्छ, घनश्याम न्यौपाने र प्रकाश सायमी सर…।” उनले मेरो नाममा दिएको ताउले म झन् विचलित भएँ। अब मलाई डरले भित्रभित्र र गजलले बाहिरबाहिर सुम्सुम्याउन थालिसकेको थिए। चितवन गजल क्षेत्रमा यति विघ्न अगाडि र युवापुस्ता यति विघ्न सक्रिय होला भन्ने मलाई थाहा थिएन।

गजल यतिबेला मेरा लागि नयाँ विधा नभएर मचाहिँ गजलका निम्ति नयाँ मात्रा बन्नपुगेको त्यतिबेला महसुस गरेँ, जब पुष्प अधिकारी ‘अञ्जलि’ले चितवन गजलको राजधानी हो भने।

हुसैन खाँ, गोर्खे साइँलो, बालकृष्ण थपलियाले आफ्नो गजल सुनाएपछि म विस्तारै भारतका चर्चित गजलकार वशीर बद्रको उपकथाको नजिक पुगेँ। उनी भन्थे, “गजल नजान्नेले यसबारे बोल्छन्, जान्नेले लेख्छन्।”

यस्तै एउटा घटना काठमाडौँमा घटेको हजुरले एउटा गजल पनि वाचन गर्नुपर्ला भनेर उद्घोषक अनुजले मलाई दोहोरो आग्रह गर्दा निकटवर्ती सहरबाट आएका अर्का अतिथिले होमा हो थपिदिएँ। म त्यसपछि उभिएँ, आफ्नो एउटा पुरानो गजल लिएर।

मैले गजल वाचन सुरु गर्नेबित्तिकै गजलकार धनराज गिरीले लय मिलाइहाले, धनराजजीले मेरो पहिलो चितवन आगमनमा ‘सायमी ए गजल’ सुनाएर मलाई पज्जल बनाएका थिए, ती त्यस्तै रहेछन् अहिले पनि। गजल वाचनको लगत्तै मैले सन् १९७८ को सेप्टेम्बर ९ मा धर्मयुगमा प्रकाशित मोतीराम भट्ट र भारतेन्दु हरिश्चन्द्रको गजलको जुवारीको कथा र मोतीराम भट्टको ‘कपडा फाड के’को प्रसंग सुनाइदिएपछि ती गजलकारहरू विस्तारै मतिर आकषिर्त भए। केही नेपालका, केही भारतका र केही पाकिस्तानका गजलकारका चर्चासितै मैले पहिलोपटक त्यहीँ भनेँ, गजल अरबी भाषाबाट प्रभावित भनिन्छ तर प्रख्यात गजलकार मीर तकी मीरले आफूले अमरोहका सैय्यद सआदत अलीसित गजल लेख्न सिकेको इतिहास उल्लेख गरेका छन्। तर, स्मरणीय कुरा के छ भने सैय्यद सआदत अलीले सन् १७२२ पूर्व संस्कृत सिकेर मात्र गजलमा प्रवेश गरेको स्वीकारेका छन्।

यो संक्षिप्त इतिहास जानेका कारणले त्यो दिन मलाई नवागत पुस्ताका निम्ति एउटा सन्देश दिने मौका मिल्यो, जो त्यतिबेलासम्म गजल भनेको हिन्दी, उर्दू र अरबीभाषाको उपहार हो भनेर पीडित-पोषित थिए।

त्यस दिन सुनेका गजलले मेरो समस्यालाई नयाँ ध्वनि त दियो नै तर एउटा थप तरंग के दियो भने म नराम्रो गजल सुन्न यो गजलनगरीमा आएको होइन रहेछु, पछिसम्म ती गजलकारको स्वर मेरो कानमा गुञ्जिरह्यो जसले एफएम सुनेको भरमा त्यो दूरसुदूरमा बसेर कति राम्रा, शक्तिशाली गजल लेखेका छन् र त्यतिकै मधुर लयमा वाचन गर्न सिकेका छन्। विद्युतीय तरंगलाई यसर्थमा सलाम गर्नैपर्छ।

अरूको भेषभूषाले हामीले आफ्नो इज्जत ढाकेजस्तै अरूको विधालाई पनि हामीले यति पछि सिकेर पनि इज्जतसँग राखेकै छौँ त?

म खुसी भएँ, यो गजलनगरीमा आएर ।

नेपाल साप्ताहिक ४४९

Leave a Reply

Your email address will not be published. Required fields are marked *