Skip to content


दागबत्ती जो दिन पाइएन
विनातारको टेलिफोनमा
बिहानै खबर आयो
बुबा हिजो बित्नु भो
हामीलाई छाडेर
कतै अन्तरध्यान हुनु भो ।
खबर खबर मात्रै थिएन
बज्रको प्रहार थियो
मृत्युको घात थियो
टारेर नटर्ने
यमराजको वात थियो ।
जीवन अनित्य छ
बुद्धलाई सम्झन खोजेँ
न हन्यते हन्यमाने शरीरे
कृष्णलाई बुझ्न खोजेँ
तर मन अड्ने ठाउँ पाइनँ ।
उड्न पखेँटा थिएन
हिँड्न समुद्रको बाधा थियो
तर समयमा पुग्नैपर्ने
जन्मदिने पिताजीको
अन्त्येष्टिको निम्ता थियो
समयलाई रोक्न सकिएन
काललाई छेक्न सकिएन
गन्तव्यमा आइपुग्दा
खरानी भएर पिताजी
बाग्मतीमा बगी सक्नुभएछ
शरीर अनित्य थियो गयो
तर सम्झना नित्य छ
त्यही नित्यको अर्चनामा
श्रद्धाका यी दुई अक्षर
दागबत्ती चढाउँदै छु ।

मधुपर्क २०६८ असोज

Leave a Reply

Your email address will not be published. Required fields are marked *