दक्षिणी नेपाल र उत्तरी भारतमा भाषा तथा साहित्यको क्षेत्रमा ठूलो सफलता पाउने भिखारी ठाकुर । अज्ञानता, अशिक्षा, सामाजिक कुरीति र अंधविश्वासको जञ्जीरमा जकडिएको समाजमा उहाँको जन्म भएको थियो ।

एउटा निम्न वर्गीय परिवारमा जन्मेर पनि समाजको शोषित-पीडित र सदियौँदेखिको दमित आवाजलाई आफ्नो सिर्जनाको विषयबस्तु बनाउनुभयो उहाँले । आफ्नो मातृभाषा भोजपुरीको पूर्ण क्षमताको परिणाम स्वरूप तत्कालीन नारी समाजको चित्रण गर्दै उहाँले आफ्नो पहिलो नाटक “विदेशिया” को सिर्जना गरे जुन नेपाल, भारत लगायत विदेशसम्म पनि चर्चाको शिखरमा पुग्यो ।

लोकनाटककार, जनकवि, अभिनेता, निर्देशक आदि भिखारी ठाकुरको जन्म वि.सं. १९४४ पुस महिनाको शुक्ल पञ्चमीको दिन भारतको विहार राज्य स्थित कुतुबपुर भन्ने गाँउमा भएको थियो ।

माता शिवकली देवी र पिता दलासिंगार ठाकुरको जेष्ठ सन्तानको रूपमा जन्मेका भिखारीको शिक्षा कखरासम्मको मात्र थियो । उहाँ कैथी लिपीमा लेख्नुहुन्थ्यो जुन अरूलाई पढ्न हम्मे पर्दथ्यो । कुनै औपचारिक शिक्षा नभए पनि लेखन को मौलिक प्रतिभाको कारण उहाँले दर्जनँैं कृतिको रचना गर्नुहुन्थ्यो ।

किशोरावस्थामै मुतुरनासँग प्रणयसूत्रमा बाँधिन पुगेका भिखारी नृत्य मण्डलीहरूमा साना -तिना अभिनय पनि गर्नुहुन्थ्यो । उहाँको यो रहर परिवारलाई मन पर्दैनथ्यो । यस प्रकार अभिनय गर्दै उहाँभित्रको कलाकारिता प्रस्फुटन भयो । त्यसपछि उहाँ जीवनको केही वर्ष नृत्य मण्डलीको सञ्चालनमा नै बित्यो र यसैबाट लोकप्रियता पनि बढ्यो ।

३० वर्षको उमेरमा “विदेशिया” लोकनाटकको रचना गरी नेपाल भारतभरि जनस्तर बाट प्राप्त लोकप्रियता आजसम्म कसैले प्राप्त गर्न सकेको छैन ।

सन् १९३८ देखि १९६२ सम्म भिखारी ठाकुरद्वारा रचित तीन दर्जन पुस्तकहरू प्रकाशित भए । उहाँका कृतिहरूमध्ये विदेशिया, कलियुग-प्रेम, गङगा-स्नान, बेटी-वियोग, भाइ-विरोध, पुत्र-बधु, विधवा-विलाप, राधेश्याम बहार, ननद-भौजाई, गबरधिचोर आदि नाटक कृति थियो ।

अपौचारिक शिक्षाको रूपमा बाह्रखरी सम्मको मात्र अध्ययन गरेका भिखारी आफ्ना दर्जनौँ नाटकमा तत्कालीन समाजको चित्रण गर्न सफल हुनुभयो । तत्कालीन अङ्ग्रेजको शासनमा सामाजिक रूढीको विरोधमा कलम चलाउनु कुनै सामान्य कुरा थिएन ।

लोक कलाकार भिखारी ठाकुर आश्रम कुतुबपुरले सन् १९७९ र १९८६ मा भिखारी ठाकुर ग्रन्थावली दुई खण्डमा प्रकाशित गरेको छ भने ती दुईटै खण्डलाई एउटै पुस्तकको रूपमा बिहार राष्ट्र भाषा परिषद्ले प्रकाशित गरिसकेको छ । समालोचक महेश्वर आचार्यले सन् १९६४ मा “जनकवि भिखारी ठाकुर” भन्ने समालोचनात्मक कृति प्रकाशन गरेका थिए । त्यसैगरी प्रख्यात कथाकार संजीवले भिखारीको जीवनमा आधारित “सूत्राधार” नामक उपन्यासको प्रकाशन गरेका थिए ।

सदा जीवन उच्च विचारका धनी भिखारी ठाकुर खानामा रोटी, भात र सातु मन पराउँथे । खानापछि सखर खाने उनको नियमित बानी थियो । धोती, कुत्र्ता र शिरमा ठूलो पगरी उनको सरल जीवनशैलीको सरल पहिचान थियो ।

तत्कालीन ग्रामीण परिवेश र समाजलाई नजिकबाट देखेका भिखारी भोजपुरी साहित्यको भण्डारलाई आफ्नो सृजनाबाट सबल बनाउने ठाकुरको १० जुलाई १९७१ मा ८४ वर्षको उमेरमा निधन भयो ।

विदेशिया लोकनाटक पछि चलचित्रको रूपमा निर्माण भएपछि त्यसले पाएको अभूतपूर्व प्रसिद्धिबाट भिखारीको लोकप्रियताले आकास छोयो । अभूतपूर्व लोकप्रियता पछि पनि उहाँमा कहिक्यै अहम् भावको जन्म भएन । उनले आफूभन्दा कम उमेरकाहरूसँग पनि हात जोडेर अभिवादन गर्नुहुन्थ्यो ।

महापन्डित राहुल साँस्कृत्यायनले भिखारीलाई “भोजपुरी भाषाको शेक्सपियर” र “अनगढ हिरा” को उपाधि दिएका थिए भने जगदीशचन्द्र माथुरले भरतमुनि परम्पराको प्रथम लोकनाटककार मानेका थिए । त्यसैगरी हिन्दीका प्रसिद्ध समीक्षक रामनिहाल गुञ्जनको अनुसार भिखारी आफ्नो रूढीमुक्त र प्रगतिशिल दृष्टिकोणको कारण भारतेंदु हरिश्चंद्रसँग धेरै नजिक थिए । त्यसैले उनले भिखारीलाई “भोजपुरीको भारतेदु हरिश्चन्द्र” को उपाधि दिएका थिए ।

वास्तवमा भिखारी ठाकुरले भोजपरी भाषा साहित्यलाई अभूतपूर्व उचाई र गहिराई प्रदान गरे । माटो-पानी र जनजीवनसँग प्रगाढ रूपले जोडिएका उनको साहित्य जनसधारणको कण्ठाहार बन्नमा सफल भयो । भोजपुरी र भिखारी एक अर्काको पुरकको रूपमा स्थापित भयो । आज राज्य र जनस्तरबाट भिखारीलाई अनेकौं मान-सम्मान प्रदान गरिए पनि उनको सृजनाको उचित मूल्याङ्कन हुन अझै बाँकी नै छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *