निला निला गगन
सेता बादलहरू
हरियो चौर
रङ्गीबिरङी फूलहरूको
एउटा सुन्दर बस्ती छ
जहाँको धर्ती
मायाका शीतहरूले सिञ्चित छ
हो त्यस्तो बस्ती छ
जहाँ म पुग्न सकिरहेकी छुईन
आव्हान गरिरहेछ बस्तीले
सुकोमल बाहुहरू फिँजाएर
आत्मीयताका रङगहरू पोतेर
निश्चलताको मुस्कान छरेर
हो त्यो बस्तीले मलाई बोलाईरहेछ
स्वन्त्रताको घाम उदाएको
चेतनाको बिगुल फुकिएको
मानवताको विचारहरू पोतिएको
आस्थाका किरणहरू छरिएको
यस्तो लाग्छ त्यो कुनै बस्ती नभएर
स्वर्गको कुनै टुक्रा हो
जहाँ देव बास गर्छन्
यस्तो बस्तीले मलाई बोलाईरहेछ
यद्यपि म त्याहाँ पुग्न सकिरहेकी छुईन
भनौं चाहिरहेकी छुईन
किन थाहा छ?
किनकि त्यस बस्तीको लागि म योग्य छुईन
मेरो विचारमा कुरुपता छ
ममा असंख्य शंकाहरू सल्बलाईरहेछ
मनमा कालो रङ्गहरू पोतिएको छ
म संक्रमित छु
विचारको, भावनाको अनि मानवताको
अनास्था बाँचिरहेछ
पशुत्व हुर्किरहेछ
प्रेमानुभूति ओसिरहेको छ
त्यसैले म चाहेर पनि त्यहाँ पुग्न सक्दिन
र पुग्न पनि चाहन्न
किनकि मेरै कारण
त्यो सुन्दर बस्ती कुरुप हुनेछ
स्वर्ग नर्क बन्नेछ
वस्ती ध्वस्त हुनेछ
त्यसैले म त्याहाँ पुग्न चाहन्न
म धमिल्याउन चाहन्न त्यो स्वच्छ वातावरण
त्यसैले हे बस्ती
म तिमीलाई दु:ख दिन चाहन्न
मलाई यति धेरै माया नगर
मलाई तिम्रो त्यो शुद्ध, चोखो
पवित्र छातीमा कुल्चन नबोलाउ
म तिम्रो लागि योग्य छैन
म तिम्रो लागि योग्य छैन
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं
गद्यय कविता
