साहित्यको पछिल्लो पुस्तामा विवश वस्ती एक उल्लेख्य नाम हो। उनै वस्ती चौथो कथासंग्रह यसपटक फुलेनछ गुराँस लिएर देखापरेका छन्। कविता र बालकथामा पनि त्यत्तिकै हात चलाएका वस्तीको यस कथासंग्रहमा १८ वटा कथा छन्।
संग्रहका अधिकांश कथामा ग्रामीण परविेशमा बोलिने शब्द, प्रयोग हुने विम्ब र सन्दर्भ छन्। कथामा मुक्तिकामी चेतना र विद्रोही विचारधाराका झिल्काहरू पनि भेटिन्छन्। त्यति मात्र होइन, लोकतान्त्रिक मूल्य र मान्यताको गिर्दो साखमाथि चोटिलो वाण हान्दै वस्तीले कलम चलाएका छन्। उनको कलमले हामी कति विकृत संस्कृतिमा हुर्किरहेका छौँ भन्ने बोध गराउँछ। जस्तो: ‘मेरो छोराको लोकतन्त्र’ शीर्षकको कथामा उनी लेख्छन्, “मैले आदर्श ठानेको, आन्दोलनमा सक्रिय सहभागी, कंलकीचोकमा जनआन्दोलनका घाइतेहरूलाई उठाउन क्रियाशील एउटा होनहार पात्र यतिखेर टेलिभिजनको पर्दामा खुंखार मण्डले, जनआन्दोलन दबाउन रातारात खटेको दिवाकरको गलामा फूलमाला र खास्टो ओडाइरहेको छ।”
हो, लोकतन्त्र प्राप्तिपछिको मुलुकको अवस्था वस्तीले वर्णन गरेजस्तै छ। जनआन्दोलनका दोषीहरू नै सर्वेसर्वा भइरहेका छन्, यतिखेर। हिजो लोकतन्त्र प्राप्तिको आन्दोलनमा सहिद हुनेहरूको आत्मा र उनीहरूको परिवारले पाएको पीडाको कुरै छोडौँ, घाइते, अंगभंग भएकाहरू शिर निहुराएर हिँड्न र तिनै दोषीको पाउ मोलेर भोकभोकै दिन कटाउन विवश छन्।
वस्तीका कथाले प्रतिकूलता र विसंगत समयको मात्र वर्णन होइन, समाज र समयभित्रका आशलाग्दा पक्षहरू पनि समेटेका छन्। कथाहरू छोटा र मीठा छन्। १० वर्षभन्दा लामो सशस्त्र विद्रोहकोे भोगाइ, अनुभूति, त्यसले समाजमा पारेको विकृत असर र ल्याएको सकारात्मक परविर्तन, समाजमा व्यापक मात्रामा रहेको छुवाछूत, भ्रष्टाचार, घूसखोरी र कालाबजारी र जनआन्दोलनका घाइतेहरूले भोग्नुपरेको दारुण पीडाजस्ता विषयहरूमाथि वस्तीले तिक्खर कथा बुनेका छन्।
कथामा समाविष्ट विषयवस्तु र प्रस्तुतिले पाठकको मन-मस्तिष्कलाई उद्वेलित गर्छ। संग्रहमा विशेष गरी यसपटक ‘फुल्नेछ गुराँस’, ‘साधुरामको चिहान’, ‘भोग’, ‘हारजित’, ‘विद्रोह’, ‘मिथिलामा जनकको अपहरण’जस्ता कथा निकै मर्मस्पर्शी छन्।
कथासंग्रहमा दुर्बल पक्ष पनि छन्। वस्तीका कथामा नवीन कथानक भने पाइँदैनन्। शैली सरल भए पनि उनी समाजमा देखिएका विषयबाहेक अन्तरकुन्तरका विषय र मानवीय जीवनका साँघुरा तर महत्त्वपूर्ण पक्षमाथि पुग्न सकेका छैनन्।
यसपटक फुलेनछ गुराँस
कथाकार : विवश वस्ती
प्रकाशक : साझा प्रकाशन
पृष्ठ : ९३
मूल्य : १५५ रुपियाँ
नेपाल साप्ताहिक ४५३
