ईश्वर बराललाई जब मैले चिन्न थालेँ, म उनको संस्मरण लेख्ने लायक थिइनँ। किशोरावस्थाको कुरो हो। उनका सयपत्री, हिमालचुली र झ्यालबाट प्रकाशमा आइसकेका थिए। मेरो आफ्नो रुचि अनुसार निश्चय नै झ्यालबाटले मलाई सबभन्दा बढी आकषिर्त गरेको थियो। यद्यपि, उनका उल्लिखित अन्य दुई ग्रन्थ पनि नेपाली साहित्यमा कोसेढुंगाको हैसियत राख्छन्।

झ्यालबाटमा तिनताका लगभग सबै कथाकार समेटिएका थिए। कति त यस्ता भए, जसले पछि कथा लेखन नै त्यागिदिए। ईश्वर बरालले प्रोत्साहनका कारण होस् अथवा सम्भावना देखेर, प्राय: सबैलाई समेट्ने प्रयत्न गरेका थिए। त्यति मात्र होइन, एउटा भूमिका त पुस्तकको छँदै थियो, उनले प्रत्येक कथाकारको प्रतिनिधि कथा अनि तिनका बारेमा, तिनका कथा प्रवृत्तिका बारेमा लामो विश्लेषणसमेत गरेका थिए। यसले कथा अध्येतालाई धेरै सहज परेको थियो। अन्य दुई ग्रन्थ नेपाली निबन्ध र कविताको एक गम्भीर र विशाल यात्रा गराउँथे। पछि मोहन कोइरालाबारे एक विशाल ग्रन्थको सम्पादन गरेर उनले प्रयोग धारालाई पनि गम्भीर अध्ययनको विषय बनाएका थिए। त्यसबाहेक अन्य विभिन्न अनुसन्धानात्मक र फुटकर समालोचनाले उनलाई एउटा शिखरमा उभ्याएको छ, जहाँबाट बराललाई ओराल्न कसैले सक्दैन।

मैले झ्यालबाट एकाग्र मनले पढेँ अर्थात् त्यो मेरा लागि ज्ञानको एक ढोका थियो। समालोचनात्मक ग्रन्थहरू त्यति गम्भीरतासाथ मैले कमै पढेको छु।

काठमाडौँ आएपछि मात्र ईश्वर बरालसँग भेट भएको थियो। त्यो भेट कस्तो प्रकारको हुन्थ्यो भने उनले त नसम्झिने, मलाई भने सम्झना रहिरहने। निकटता त अझ धेरै परको कुरो थियो।

मुम्बई र पुनामा पढ्न जाँदा, कहिलेकाहीँ दिल्ली पनि जान्थेँ। सुनिराखेको थिएँ, उनी जवाहरलाल नेहरू विश्वविद्यालयमा प्रोफेसर छन्। एकदिन गएँ, उनीसँग भेट्न भनेर। ईश्वर बराललाई कतै देखिनँ। एउटा ढोकामा प्रो एलएन बराल भन्ने लेखेको देखियो। कसैले बताइदियो, उनी नै ईश्वर बराल हुन्। उनको वास्तविक नाउँ लीलानटेश्वर बराल हो। त्यसैको छोटकरी एलएन बराल रहेछ। त्यो मेरा लागि नितान्त नयाँ सूचना थियो। अहिलेसम्म कतै लीलानटेश्वर बराल भन्ने लेखिएको भए पनि मेरो ध्यानमा थिएन। उनको साहित्यिक नाउँ ईश्वर बराल नै प्रचलित र सहज थियो। त्यसपछि नाउँ लीलानटेश्वर बराल कण्ठस्थ किन भयो भने त्यो नाउँ कठिन भए पनि त्यसमा केही अलगपना थियो र ईश्वर बरालको नाउँ लीलानटेश्वर हो भन्नु सामान्य ज्ञानका दृष्टिले पनि औचित्यपूर्ण थियो।

पुनाको आफ्नो डिग्री सकेर आएपछि त्रिवि अन्तर्गत क्याम्पसहरू आइसके पनि सरकारी शिक्षक थिएँ म। पछि मैले सरकारी शिक्षण छाडेँ र त्रिवि सेवामा प्रवेश गरेँ। त्यसको एउटा कारण के पनि थियो भने, सरकारी सेवा छाड्दा केही रकम पाइने हुन्थ्यो। बिरामी बिदा, उपदान आदि आदि। ती सारा रकम र थप पैसा पनि हालेर चाबहिलमा एउटा सानो घर किनेँ।

चाबहिल बस्दा ईश्वर बरालसँग फाट्टफुट्ट भेट हुन थाल्यो। त्यसको कारण के रहेछ भनेर बुझ्दा के थाहा भयो भने, चाबहिलमै पल्लापट्टकिो सडकमा उनका भाइ बस्दा रहेछन्। काठमाडौँ आएका बखत बराल त्यहाँ बस्थे अथवा जहाँ बसे पनि भाइ भेट्न आउँथे, त्यसै कारण सडकमा यदाकदा भेट हुन थालेको रहेछ। मेरा दाइ धनुषचन्द्र गौतम (धच गौतमे) तिनताक आफ्नो दोस्रो उपन्यास प्रकाशित गराउने तयारीमा थिए, यहाँदेखि त्यहाँसम्म। त्यसअघिको उनको पहिलो उपन्यास घामका पाइलाहरू ०३५ मा प्रकाशित भएर त्यस वर्षको मदन पुरस्कार प्राप्त गरेर चर्चित भइसकेको थियो। पाठ्यक्रममा समेत राखिएको थियो। यो दोस्रो उपन्यास यहाँदेखि त्यहाँसम्मको भूमिका दाइ बरालबाट लेखाउन चाहन्थे। बराल त्यस क्रममा दाजुकहाँ आइरहन्थे। ईश्वर बराल र धच गोतामेको घरको दूरी पनि त्यति थिएन क्यार ! आउने/जाने भइरहन्थ्यो। त्यस्तैमा बरालसँग मेरो पनि भेट हुन्थ्यो। त्यतिखेरसम्म मेरो कट्टेल सरको चोटपटक निस्केर त्यसमाथि आधारति वासुदेव फिल्म पनि बनिसकेको थियो कि भन्ठान्छु।

यस्तो लाग्छ, बरालले कट्टेल सरको चोटपटक पढेका थिए। कतिपटक भेट हुँदा त्यसको चर्चा गर्थे। खासगरी उपन्यासमा गरिएको भाषिक प्रयोगको। उनी भन्थे, भोजपुरीबाट पनि प्रभावित छ तपाईंको भाषा कतैकतै, जस्तो: हेरयिोस्, भोजपुरीको देखल जादको प्रभाव आदि।

बराल र मबीच धेरैजसो हिन्दीमै कुरा हुन्थ्यो। यस्ता केही व्यक्ति छन्, जोसँग हिन्दीमै कुरा हुन्छ। धच गोतामे एकेडेमीको सदस्य-सचिव हुने सम्भावना बढेर गयो। तिनताक उपकुलपति हुन्थे। उनले अन्य सदस्यमा ध्यान दिए कि दिएनन् तर उपकुलपति आफूलाई मान्य हुनुपर्छ भन्ने उनको धारणा थियो। सोही अनुरूप, उनकै संस्मरण अनुसार बरालको ध्यान आएपछि उनले लेखेका छन्, उनको मनमा तिनताकको एउटा विज्ञापन आयो, ‘यही है राइट च्वाइस बेवी।’

अरू कुरा म पनि त्यति जान्दिनँ, यही है राइट च्वाइस बेवीबमोजिम बराल उपकुलपति र धच गोतामे सदस्य-सचिव मनोनीत हुनुभयो।

अलि पछि आएँ। त्यसअघि लाग्नु पर्छ बरालसँग मेरो निकटताको कुरो गर्दा। थालनीदेखि नै ईश्वर बरालका कृतिहरू पढ्दै आएको म ईश्वर बराललाई श्रद्धा गर्थंे। झ्यालबाटको त म पूरा प्रशंसक नै थिएँ। त्यो काम पनि उनले गज्जबकै गरेका थिए, यसमा सन्देह छैन।

पछि बरालले एकदिन शिरीषको फूलबारे लेखिएको एउटा सिंगो लेख सुनाएका थिए। ईश्वर बरालका लेखहरू लामै हुन्थे, विश्लेषणात्मक।

बरालले पुरानादेखि नयाँ साहित्यकार, धेरैबारे लेखे। यसलाई एउटा रोचक संयोग नै मान्नुपर्छ, एकताक पर्याप्त भेट हुने र निकट बसोबास गर्ने भए पनि, पढ्न नभ्याएर हो वा त्यसै छुटेर हो, मेराबारेमा कुनै चर्चा गरेनन्। मैले पनि त्यत्रा समालोचकलाई लेखिदिनूस् भनेर कसरी कर गर्ने भन्ने संकोचले अनुरोध गर्न सकिनँ। मबारे नलेखे पनि ईश्वर बरालको विद्वताबारे मलाई स्पष्ट थियो, त्यसकारण श्रद्धा यथावत् थियो। कम भएन। अहिले पनि म बराललाई उही श्रद्धाका साथ स्मरण गर्छु।

केही अनौपचारकि प्रसंगहरू पनि छन्। ईश्वर बराल अलि ‘नियमबद्ध’ जीवन बिताउने व्यक्ति थिए। आफैँले अनुभव गरेको त होइन, सुनेकोसम्म हुँ। उनलाई समय नलिएर झ्वाट्ट कक्षमा पसिदिने मानिस रुचिकर हुँदैन थिए। त्यस्तै एकपटक लन्च समयमा केही खाइरहेको अवस्थामा कोही बिनासूचना ढोका उघारेर पसिदियो। बरालको नियम र मनस्थितिविरुद्ध थियो त्यो। उनले ती महोदयलाई पछि आउनू भनेर तत्काल फर्काइदिए रे !

नियम, समय आदिलाई महत्त्व दिने बराल खानपिन गर्दा भने अत्यन्त रमाइला, सरल र तुलनात्मक रूपमा मुक्त पनि बन्थे। उनी अनेक पुराना र उपयोगी कुरा बताउँथे। भन्थे, “गौतमजी तपाईंलाई थाहा छ, लाजिम्पाट राणाकालमा अंग्रेजीको लज इम्पार्टबाट बनेको हो।”

“थाहा थिएन डाक्टर साहेब !” म भन्थेँ।

यस्तै कैयौँ कुरा उनी मलाई बताइरहन्थे।

एकपटक मणीन्द्ररञ्जन बरालका घरमा एउटा सानो समारोहको आयोजन गरिएको थियो। नेपाली लेखक त थिए नै, हिन्दीका प्रसिद्ध समालोचक नामवर सिंहको उपस्थिति पनि थियो। उनकै सम्मानमा त्यो कार्यक्रम राखिएको थियो। त्यहाँ एउटा भाषिक बहस चलेको थियो। भाषिक हुनाले म पनि सहभागी थिएँ। त्यहाँ, सम्भवत: पहिलो र अन्तिमपटक ईश्वर बरालसँग मेरो मतान्तर भएको थियो। नामवर सिंहले भनेका पनि थिए, “आप ने भाषा विज्ञान का बहुत अध्ययन किया हुआ लगता है।”

त्यसपछि एकपटक नरेन्द्रराज प्रसाईंले आयोजन गरेको कविता निर्णायक समूह, जुन ईश्वर बरालको संयोजकत्वमा थियो, मा म पनि थिएँ, डा बरालसँग लामै बसिएको थियो। त्यस दिन बेलुकी एउटा संस्थामा डा बरालले प्रमुख आतिथ्य गर्दै अंग्रेजीमा मन्तव्य दिनुपर्ने थियो। कविताको निर्णयपछि खानपिन चल्न थाल्यो। पहिले त सबैले नाई भने। बरालले भने, “मलाई त त्यहाँ जानु छ।”

त्यसपछि ‘मेडिकल डोज’सम्ममा सहमति भयो। ‘मेडिकल डोज’पछि एक दुई थप नेपाली ‘मेडिकल डोज’। त्यसपछि बराल मुडमा आएर घोषणा गरििदए, दागको एउटा शेरसहित :

हजरते दाग जहाँ बैठ गए बैठ गए।

त्यसो हुँदाहुँदै पनि डा बरालले प्रमुख आतिथ्य गरे। राम्रो अंग्रेजीमा बोले। मैले पनि बोलेँ। म पनि त आमन्त्रित थिएँ। जिज्ञासा राख्नुहोला, खानपिन के भयो त ? जुन संस्थामा गइएको थियो, संयोगले त्यहाँ पनि कार्यक्रमपछि ‘मेडिकल डोज’हरूको व्यवस्था थियो त… त्यसपछि त बोल्नु पनि थिएन नि त सभामा !

बराल चाबहिलको मेरो घरमा घुम्दैघुम्दै एक दिन आइपुगे। मैले स्वागत गर्दै सोधेँ, “डाक्टर साहेब कैसे अचानक ?” कारण रहेछ, उनी त्यहीँ भाइको घरमा बसेका रहेछन् तिनताक। गल्लीपारि मेरो घर थियो, गल्लीवारि उनी बस्ने। भेटुँ भनेरै आएका थिए। भने, “बस् ! एक कप चाय पिने आया हुँ, चाय पिकर चला जाउँगा।”

बराल आइपुगेका थिए बेलुकी ५ बजेतिर। हिन्दीको एउटा काव्य पंक्ति :

“खग ही जाने,” खग की भाषा अनुसार मैले भनेँ, “शाम हो चला है। थोडा सा चलेगा ?”

“देर हो जाएगी।”

“नहीँ, बिल्कुल नहीँ।”

सबथोक सडकपारकिो पसलमा पाइन्थ्यो। तत्काल बस्यौँ।

बरालले भने, “बस् एक लुंगा।”

यसैगरी बराल आफैँलाई पनि आश्वस्त पार्थे। त्यसपछि दुनियाँभरकिो गफ सुन्न पाइयो डा ईश्वर बरालबाट। उपयोगी र रुचिकर पनि। त्यस साँझलाई रातमा ढालियो। नेपाली ‘मेडिकल डोज’ लिइयो। त्यसपछि उनी गए।

मेरो सौभाग्य थियो भन्छु। चाबहिल बसुन्जेल उनी मकहाँ, बरोबर आउँथे। उनको सबैभन्दा राम्रो सान्निध्य मैले तिनैताक प्राप्त गरेको थिएँ। त्यसपछि केही भेटहरू पछि पनि भए। उनकै घरमा पनि। उनलाई बिरुवाको सोख थियो भन्ने त्यसै बखत देखेँ।

‘नारकिेत समाकारा’ पनि थिएनन् बराल। कारण, उनी सरलमा सरलतम थिए, बुझ्न सक्नुपर्थ्यो। हो, उनलाई आफ्नो दिनचर्यामा बिनासूचना हस्तक्षेप गरेको मन पर्दैन थियो। त्यसलाई त राम्रो भन्छु म।

उनको व्यक्तित्व समग्र रूपमा भने विद्वता र सरलताको एउटा अनौठो मिश्रण थियो। जान्नेहरू त्यो जान्दथे, नजान्नेहरूलाई बराल कडा व्यक्ति लाग्दो हो। यो भने विपरीत थियो।

नेपाल साप्ताहिक ४५३

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *