शिरीष नफुल्ने याम
पुसको कुनै चिसो अपरान्ह
एक्लो भेट्टाएर बरीलाई
चुम्बन गर्छ सुयोगवीर
बरीको स्थिर धरामा
कम्पन आउँछ
अनौठो
आफ्ना कुमारी ओठ
सुम्सुम्याउँदै
अब कहिल्यै नभेट्ने
प्रण गर्छे ऊ ।
तर मर्दिन !
सुनगाभाको सुसारमा व्यस्त
सुडौल पाखुरा र कोमल हत्केला
इन्सेक्ट किलर पनि होइनन्
भैँसी गोठाल्नी, माटिनची
बरी कसरी हुन सक्छे ?
स्वाभिमानी बरी
बर्मेली ठिटी पनि होइन ।
नाकाम कोसिस सुयोगवीरका
………बरी चिन्न सकेन ।
बरी त्यो मुच्र्छना हो
त्यस्तो राग हो सङ्गीतको
जुन साधनाको वर्षौपछि
प्राप्त गर्छ साधकले
अलभ्य प्राप्ति हो बरी !
सुयोगवीरका लागि
कसरी लभ्य हुन सक्छे त ऊ ?
बरु मरिदिन्छे !!
तर मरिन !
निस्सार युद्धबाट विरक्तिएको
निरुद्देश्य बाँचिरहेको
त्यसै पनि भगौडा सिपाही न हो
सुयोगवीर
युद्धको ……..! जीवनको…………..!!
युद्धमा सधैँ जित कहाँ हुन्छ र ?
फर्किएको छ सुयोगवीर
त्यही धरामा
जहाँ
हेड हन्टरकी छोरीको चिहान छ,
माटिनचीको आँसु छ
अनि
बर्मेली ठिटीको कोखबाट
ओर्लिएर
कुनै बालकको बोली फुट्दैछ
बा………….ऽबा….!
सुयोगवीरको चुम्बनको
डामलाई ताछेर सदाको लागि
वसन्तको पारिलो बिहानीमा
निला फूलहरूमाथि टेकेर
सुस्ताइरहेकी
ऊ
आजकी सकमबरी !
मधुपर्क २०६८ असार