Skip to content


नेपाली समालोचनामा नेत्र एटम सुपरिचित नाम हो । पचासको दशकदेखि लेख्न थालेर छोटो समयमै सुपरिचित हुनु ठूलो उपलब्धि हो । उनको पहिलो समालोचनासङ्ग्रह ‘समालोचनाको स्वरूप’ वि.सं. २०६१ सालमा प्रकाशित देखिन्छ । ‘नेपाली डायस्पोरा र अन्य समालोचना’ (२०६७) उनको दोस्रो समालोचनात्मक कृति हो । यसमा कथा, कविता, निबन्ध र उपन्यास विधासँग सम्बन्धित समालोचना सङ्कलित छन् । तिनलाई सैद्धान्तिक, प्रायोगिक र विधा इतिहाससँग सम्बन्धित भनेर छुट्याउन सकिन्छ ।

सैद्धान्तिक पक्षको चर्चा गरी त्यसको प्रयोग पक्षलाई समेत चर्चा गर्ने समालोचनामा ‘नेपाली डायस्पोरा र ‘यमपुरीको महल’ पर्दछ । यसमा डायस्पोरा साहित्यको स्वरूप र यसका विशेषता बताई तिनैका आधारमा होमनाथ सुवेदीद्वारा लिखित ‘यमपुरीको महल’ नामक उपन्यासको विवेचना गरिएको छ । त्यस्तै, ‘नेपाली अधिआख्यानस्वरूप र सम्भावना’ मा अधिआख्यानको सैद्धान्तिक स्वरूप निर्धारण गरी त्यसका आधारमा नेपाली आख्यान खासगरी उपन्यासको अधिआख्यानात्मक स्वरूप र परम्पराको विवेचना सङ्क्षेपमा गरिएको छ । समालोचकले नारायण ढकालको ‘प्रेतकल्प’, नारायण वाग्लेको ‘पल्पसा क्याफे’, कृष्ण धरावासीका ‘शरणार्थी, र ‘राधा’ रोशन थापा नीरवको ‘प्रत्येक श्रवणकुमार अर्थात् युद्ध’ डा. धु्रवचन्द्र गौतमको अलिखित, सरुभक्तको ‘पागल वस्ती’, डायमनशमशेरको ‘सेतो बाघ’ आदि र केही कथाहरूबाट समेत उदाहरण दिई नेपाली आख्यानमा देखिएको नवीन प्रवृत्तिको विवेचना गरेका छन् । त्यस्तै, तुलनात्मक समालोचना पद्धतिको सैद्धान्तिक स्वरूपको विवेचना गरी पश्चिमी साहित्यका दाँते र नेपाली साहित्यका रमेश विकलका दुई कृति ‘डिभाइन कमेडी’ र ‘सागर उर्लन्छ सगरमाथा छुन’ बीच तुलना गरेर तिनमा पाइने साम्य वैषम्य पक्ष पर्गेलेका छन् ।

प्रायोगिक समालोचनामध्ये ‘कथामा देवकोटाको अग्रगामी सोच, मञ्जुलका गीतहरूमा जीवनको लय, शङ्कर लामिछानेको निबन्धकला, निबन्धकार हृदयचन्द्रसिंह प्रधान पर्दछन् । यी समालोचनाले सम्बन्धित स्रष्टाका कथा, गीत र निबन्धका मूलभूत विशेषता पहिल्याएका छन् । कृतिगत विशेषताको निरूपण पनि गरेका छन् समालोचकले । नेपाली साहित्यमा विधा विशेषका वर्तमान अवस्थाको ऐतिहासिक अध्ययनसँग सम्बन्धित समालोचनामध्ये समसामयिक नेपाली उपन्यासमा प्रयुक्त विषयमा २०४६ सालपछिका नेपाली उपन्यासको विषयको विवेचना गरिएको छ । समसामयिक नेपाली निबन्धको प्रभेदगत सर्वेक्षणमा पनि २०४६ सालपछिकै नेपाली निबन्धका भेदहरूको चर्चा गरिएको छ । नेपाली गजलको अवस्था र सम्भावनामा नेपाली गजलको ऐतिहासिक अध्ययन गरिएको छ ।

यसरी प्रस्तुत समालोचना सङ्ग्रहले विभिन्न समालोचना पद्धतिको प्रयोग गरी नेपाली साहित्यका कथा, कविता, निबन्ध र उपन्यासको अध्ययन गरेको देखिन्छ । समालोचकले जीवनीपरक समालोचना, समाजपरक समालोचना, रूपपरक समालोचना संरचनावादी समालोचना आदि पद्धतिको प्रयोग गरी नेपाली साहित्यका विविध विधाको अध्ययन गरेका छन् । त्यस्तै, ऐतिहासिक, तुलनात्मक र वर्णनात्मक वा विश्लेषणात्मक विधिको प्रयोग गरेर कृति विशेषको र विधा विशेषको अध्ययन गरेको पनि देखिन्छ । समालोचकले खास पद्धति र विश्लेषणविधिको ढाँचामा राखेर कृतिको वा विधाको अध्ययन गरेकाले यी समालोचना प्रभाववादबाट, व्यक्तिविशेषका मान्यताबाट मुक्त भएका छन् । अध्ययनलाई वस्तुनिष्ठ, तथ्यपूर्ण, उद्देश्यमूलक र उपलब्धिपूर्ण बनाउन समालोचकले धेरै प्रयास गरेका छन् । तटस्थता, सटीकता, गुणदोषको निर्क्यौल, अभिव्यक्तिगत सुस्पष्टता आदि विशेषताले युक्त यो समालोचना कृति नेपाली समालोचनाको उल्लेख्य कृतिका रूपमा अगाडि आएको छ । नेपाली समालोचनाको विकासमा यस्ता कृतिको महत्त्व स्वतः देखिन्छ ।

कृतिः नेपाली डायस्पोरा र अन्य समालोचना
कृतिकारः नेत्र एटम
प्रकाशकः एकता बुक्स, थापाथली, काठमाडौँ
प्रकाशनः २०६७
पृष्ठः १९१
मूल्यः रु. १५०।-

मधुपर्क २०६८ असार

Leave a Reply

Your email address will not be published. Required fields are marked *