लाल विष्फोटझैँ लाग्छ सूर्य अस्त हुने क्षण
टुक्राटुक्रा भई मानौँ फाट्छ बादल तत्क्षण ।
आगो दन्केसरी दाहगृह देखिन्छ व्योमको
र छरिन्छ धरामाथि खरानी पनि रातको ।
म लुक्न जान्छु निद्राको कडा कवचको मुनि
यद्यपि यो अनस्तित्व अस्थायी नै भए पनि ।
परन्तु चन्द्रको गोला पहेँलो जब गुड्दछ
शिरमाथि, अहोरात्र शान्ति नै दूर भाग्दछ ।
मैदानेका, अस्वेन्चिमा, बुखेन्वाल्ड जताततै
युद्धको पथमा सैयौँ र ध्वस्त पुरमा कतै ।
नाली र पेटीमा यत्रतत्र लाशहरू थिए
मारिए जो अनायासै शिकार गोलीका भए ।
दृश्य यो प्रलयङ्कारी थियो ज्यादै भयङ्कर
देखेँ सैनिक संवाददाताको यही तस्बिर ।
थाम्न सक्तैन आत्माले दृश्य यो शवमिश्रति
रहन्छन् त्यसमा सारा मारिएकाहरू अङ्िकत ।
निर्जीव तिनका औँला कठ्याङ्गि्रएर बाहिर
जमिनबाट निस्केझैँ जिरिङ्ग पर्छ आखिर ।
अल्झेर त्यसमा मेरो प्रेमले खान्छ ठक्कर
र मृत शान्तिले ढाक्छ शून्य पारी सबैतिर ।।
रुसी भाषाबाट अनुवाद
अनु. कृष्णप्रकाश श्रेष्ठ
(२९ डिसेम्बर १९५२ मा रास्तोभ, र सियामा जन्मिएका कवि इगोर एलिसेभ कविता, उपन्यास र अनुवादका क्षेत्रमा सक्रिय छन् । उनी सन् २०१०मा रुसी साहित्यकारहरूको प्रतिनिधिमण्डलमा संलग्न रहेर नेपाल आएका थिए ।)
मधुपर्क २०६८ कार्तिक
