साहित्यका चार विधामध्ये गजल सबभन्दा पुरानो विधा कविताअन्तर्गत पर्छ । नेपाली साहित्यमा गजलको सुरुआत माध्यमिक कालबाट नै सुरु भएको हो र यसको सुरुआत गरेका हुन्- मोतीराम भट्टले । यसबीचमा नेपाली साहित्यमा अनेकौँ गजलकार जन्मिसकेका छन् र तीमध्ये धीरेन्द्र प्रेमर्षि पनि उत्कृष्ट गजलकारमा दरिन सफल छन् ।

धीरेन्द्र प्रेमर्षि मैथिली मूलका व्यक्तित्व हुन् । साहित्य, सङ्गीत र सञ्चारमा उनको विशेष योगदान छ । विशेषगरी मैथिली र नेपाली साहित्यमा कलम चलाउने प्रेमर्षि नेपाली गजलक्षेत्रमा पनि उत्कृष्ट स्थान बनाउन सफल छन् । हालै उनको ‘समयलाई सलाम’ नामक गजलसङ्ग्रह प्रकाशित भएको छ र यसमा ६६ वटा गजल सङ्गृहीत छन् ।

धीरेन्द्रका गजलको मुख्य भाव भनेकै लोकतान्त्रिक चेतना हो । यसका साथै उनका गजलहरूमा प्रेम, प्रणय, अभाव, निराशा, पीडा, असन्तुष्टिजस्ता भावहरू पनि सहायक भावका रूपमा उपस्थित छन् । ‘समयलाई सलाम’ ले नेपाली समाज, राजनीति र मानवीय नैतिकतामाथि झाँगिएका विकृतिहरूविरुद्ध धावा बोलेको छ । यहाँ आक्रोश, विद्रोह, चेतावनी र खबरदारी छ । गजलकार सहज भावहरूलाई एस.सी. सुमनका चित्रहरूले पनि थप ऊर्जा प्रदान गरेको छ ।

धीरेन्द्र प्रेमषिर्ले केही गजलमा तराईका समस्यालाई देखाएका छन् र त्यसको समाधानसमेत प्रस्तुत गरेका छन् । राष्ट्र सबैको साझा भएजस्तै अधिकार पनि सबैले बराबरी पाउनुपर्ने र यो मागेर होइन खोसेरै लिनुपर्छ भन्ने भाव प्रकट गर्छन् ।

नेपाली राजसंस्थाको पिलोले बारम्बार दुःख दिइरहेकाले त्यो पिलोलाई खिल नै नरहने गरी उखेल्नु पर्ने धारणा राख्दै गजलकार भन्छन्-

मूलै खामो मक्केको यो काठेघर फाल्नुपर्‍यो
इँटै-इँटको नयाँ घर बनाउन थाल्नुपर्‍यो ।

अन्य साहित्यिक कृतिहरूभन्दा भिन्न संरचनात्मक ढाँचामा प्रकाशित ‘समयलाई सलाम’का गजलहरू कम्तीमा चार सेर र बढीमा आठ सेरमा संरचित छन् । उनका १६ वटा गजलमा तखल्लुको प्रयोग पाइन्छ । त्यसैगरी, यिनले आठ अक्षरका छोटा लयमा आधारित गजलदेखि उन्नाइस अक्षरसम्मको लामो लयको प्रयोग गरेका छन् । उनका गजलमा रूपक, उपमा आदि अलङ्कारहरूको प्रयोग गरेका छन् । त्यस्तै, नेपाली समाजमा प्रचलित विभिन्न बिम्बहरूको सटीक प्रयोग गर्न उनी सफल देखिन्छन् ।

धीरेन्द्रका सबै गजल उत्कृष्ट छन् भन्नुपर्ने अवस्था चाहिँ छैन । उनका केही गजलहरू सामान्य छन् र सचेत पाठकका लागि झिँझो हुन सक्छन् । भाषा प्रयोगमा पनि उनी सचेत छन् । एकाध गजलमा मैथिली शब्दको प्रयोग पनि पाइन्छ । प्रेमर्षि मैथिली मूलका स्रष्टा भएकाले यो स्वाभाविक पनि हो ।

कृतिः समयलाई सलाम (गजलसङ्ग्रह)
कृतिकारः धीरेन्द्र प्रेमर्षि
प्रकाशकः खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, चितवन
प्रकाशनः प्रथम, २०६६
पृष्ठः १८+६६
मूल्यः रु. २००/-

मधुपर्क २०६८ असार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *