संविधानलेखनमा लाग्नलाई पेशा, व्यवसाय र व्यवस्ताले अवरोध पुर्‍याउँदैन, यदि उसमा इच्छाशक्ति छ भने भन्ने कुराको प्रमाण धेरै साहित्यकारहरूमा भेट्टाइसकिएको छ । सिर्जनामा लाग्नलाई सबैभन्दा ठूदो इच्छाशक्ति भएको पछिल्लो थप पुष्ट्याइँ कवि महेन्द्र गुरुङले पनि गरिदिएका छन् । चौध वर्षको उमेरमा वि.सं.२०२५ सालमा पहिलो गीतिकविता लेखेका गुरुङको साहित्यिक यात्राले ‘विहान’ शीर्षकको कवितासङ्ग्रह प्रकाशित भएपछि सुषुप्तावस्थको मूर्तरूप पाएको छ । हिलो गीतिकविता लेखेको दश वर्षपछि विसं. २०३५ सालमा अर्को कविता लेखकका कवि गु्ररुङले हालका पछिल्ला तीन वर्षमा प्रशस्तै कविता सिर्जना गरेर प्रस्तुत सङ्ग्रह सार्वजनिक गरेका छन् ।

पेशाले सरकारी प्राविधिक सेवाअन्तर्गत रहेका गुरुङका केही व्यावसायिक सिर्जनाहरू र फुटकर कथाहरू पनि तीसको दशकमा प्रकाशित भएका भए पनि उनको कविव्यक्तित्व छोपिएको अवस्थामा थियो । उनको प्रथम प्रकाशित कविता कृति ‘बिहान’मा जम्मा अठ्ठाइस कविता, पाँच मुक्तक, एक बालगीत र चार अन्य गीतहरू सङ्ग्रहीत छन् । यसैभित्रको कविताको शीर्षकबाटै सङ्गहको न्वारन गरिएको छ र सबैभन्दा पहिलो रचनाका रूपमा वि.सं. २०२५ सालमा सिर्जित ‘सरस्वती पूजा’ शीर्षकको बालगीत रहेको छ । त्यसैगरी, वि.सं. २०३५ सालमा उनी असम इन्जिनियरिङ कलेज, गौहाटी, भारतमा अध्ययनरत रहँदा आदिकवि भानुभक्तप्रति श्रद्धाभाव प्रकट गरेर लेखेको गीतले उनलाई विद्यार्थी कवि भएको पुष्टि गर्दछन् । त्यसपछि लामो समयसम्म गुमनाम रहेका गुरुङको काव्यिक यात्राले पछिल्लो तीन वर्षमा ठूलो फड्को मारेर साहित्यकारका पङ्क्तिका स्थापित हुन सफल भएका छन् । उनले सुषुप्तावस्थाबाट जागृत गराउनेमा नारीसाहित्यकारत्रयलाई श्रेय दिई भूमिकामा सम्मानभाव प्रकट गरेका छन् । ती नारीस्रष्टा हुन् -चन्द्रकला नेवार, लक्ष्मी उप्रेती र मोमिला ।

कवि गुरुङका कवितामा देशप्रेम, दिवंगत अग्रजहरूप्रति श्रद्धाभाव, प्रकृतिप्रेम, नेपालको उज्यालो भविष्यको कामना, राजनीति कविकृतिको अन्त्यको कामना, सत्तालिप्सा, बन्द-हड्तालको विरोधजस्ता समसामयिक विकृकतिजन्य साझा विषयवस्तु नै पाइन्छ । उनले आफू जन्मिएको सुन्दरभूमि रुम्जाटारको वर्णन गरेर कविता लेखेका छन् । त्यस्तै, नदी मेरो देश नाघेर किन

जान्छौ ?, शीर्षकीय कवितामा आफ्नो प्रकृतिप्रेमलाई दर्शाका छन् । उनले यात्रानुभवका सन्दर्भका कवितामा पनि सिर्जिएका छन् । विदेश यात्राको सन्दर्भका कविताहरू दुई स्थिति ः दुई परिवेश, छोमेसाभित्रको सुमधुर गुञ्जन कोरिया यात्रासँग सम्बन्धित छन भने चीन यात्राका परिवेशका कविताहरूमा – सुख, स्वप्निल संसार, चेङदु पृष्ठभूमि, मानिस, ग्वाङजाउ, तिमी नेपाल पनि आऊ रहेका छन् । यात्रा कविताले सन्दर्भ र परिवेशहरू, सुखसुविधा र विकास निर्माणलाई महत्त्व दिएका छन् । कवि विहानीको पूजक, प्रकृतिको पूजक एवं विकृति र विसङ्गतिको विरोधी भएर सङ्ग्रहमा देखिएका छन् । उनले महाकवि देवकोटा, आदिकवि भानुभक्त, भवानी घिमिरेलाई सम्मान गरेर सिर्जना गरेका कविता पनि समावेश छन् ।

यस सङ्ग्रहका कविताले गुरुङलाई स्पष्ट भाषाशैली, सरल एवं बोधागम्य प्रस्तुतिका नरम कविको काव्यिक छवि भएका व्यक्तित्वमा उजागर गरेका छन् । काव्यिक महत्ता एवं विम्ब र प्रतीकहरूको प्रयोगभन्दा पनि भाव प्रस्फुटनको व्यूझँदो कविका रूपमा गुरुङ देखापरेका छन् । उनी केही साहित्यिक संस्थाहरूमा पनि आवद्ध छन् र तीसँग सम्बन्ध्ित कृति पत्रिकाहरूको बारेमा पनि कलम चलाएका छन् । कविता, गीत र मुक्तकसमेत सङ्गृहीत गरेर उनले लेखनको लामो कालखण्डपछि पहिलो सङ्ग्रह निकाल्नुले उनी जाँगरिला कवि होइनन् भन्ने देखाए पनि पछिल्लो समयमा चाहिँ जुर्मुराएका छन् । सङ्ग्रहको अन्त्यमा दुई व्यङ्ग्य भनेर छुट्टै राख्नुभन्दा तिनलाई पनि मुक्तकअन्तर्गत नै राखेको भए उपयुक्त हुन्थ्यो ।

कृतिः बिहान (कवितासङ्ग्रह)
कविः महेन्द्र गुरुङ
प्रकाशकः रमा-कृष्ण सृजना प्रतिष्ठान
प्रकाशनः २०६७
पृष्ठः ७८+२८
मूल्यः रु. १००।-

मधुपर्क २०६८ असार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *