Skip to content

मेरो आस्थाको बन्दी तिमीलाई
सुरक्षा क्यामरामा राख्न
प्रत्यक्ष रूपमा जिम्मेवार म
तिमीप्रति समर्पित स्मारक
भत्काऊँ कि
अनावरण गरूँ
अहिले धर्मसङ्कटमा छु

युद्धको क्रूरतम निणर्ायक भूमिअगाडि
शान्तिका प्रज्वलित अनन्त ज्योतिअगाडि
तिमीलाई हेर्ने मेरो इच्छा
जारी राखौँ कि
यो स्वार्थीहरूको संसारलाई
छिन्नभिन्न पारेर
यो संसारबाट
बाहिर निस्कौँ
अनिर्णयको बन्दी भएको छु
यस बेला
तिमीले हेर्ने गरेको काठमाडौँ
वासिङ्टन
र स्ट्याचु अफ लिबर्टी मैले लिएको छु
अगाडि आउनेहरू यो निर्णयको विरोधमा छन्
तिम्रो विचारको सुरक्षा गरिरहेको मलाई
तनाउमा तीव्रता आएको
हेर्न गाह्रो परिरहेको छ
युद्ध माग्नेहरू
संसारको जानकारी बदल्न खोजिरहेका छन्
म पनि यो संसार
बदल्न खोजिरहेछु
र, ठूलो परिवर्तनलाई पर्खेर
अज्ञात व्यक्ति दृश्यमा आउनेछन् भनेर
हेरिरहेको छु
संसार झूटो बोलिरहेको छ
सत्य कुन हो भन्ने कुराको
एउटै जवाफ कुनैसित छैन
मैले जाहेर गरेको प्रतिवेदन
जस्तोसुकै भए पनि
मिसिसिपी र गण्डकीका छालहरू
छातीमा उठाएर
तिम्रो र मेरो मैत्रीको सर्त स्वीकृत गर्न
र, तिमी र म
स्वतन्त्र भएको कुरा घोषणा गर्न
संसारको सबभन्दा ठूलो
प्रजातान्त्रिक देशमा आएर
तिम्रो अगाडि उभिएको छु
यस बेला
तिमीलाई र मलाई विभाजित गर्ने विषय
मान्छे हुन सक्तैन
जसले यो समाचार छाप्न रोक लगाए पनि
तिमीलाई एउटा असाधारण अवसर प्राप्त छ
मलाई पनि
तिमी एक्काइसौँ शताब्दीको सन्देश प्रसारण गर
म तिमीप्रतिको मेरो सम्बन्धमा
कुनै परिवर्तन नहुने
घोषणा गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *