उज्यालो नै देख्न नपाई रात हुन लाग्यो रे
भर थियो तिम्रो कुठारघात हुन लाग्यो रे
कलियुगको राम राज्य यस्तै हुँदो रैछ कि
सुन्छु चोरलाई चौतारीको बात हुन लाग्यो रे
घाइते भै ढलेको छ बिचारो निरह शान्ति
उठोस् कसरी बारुद सौगात हुन लाग्यो रे
सबको आश अब बिस्तारै लाश हुँदै छ यहाँ
खुशी मर्यो मलामीको शुरुवात हुन लाग्यो रे
विवेकमा बिर्को लाग्यो कि बुद्धि धेरै भो तिम्रो
जाली फटाहाको टोली पो साथ हुन लाग्यो रे
