म ईश्वर नदेखेको मान्छे

  • by
BalDevBhattaBihani


हुँडारहरूलाई निर्धक्क गोठालो छोडेर
मसँग मान्छेका किंवदन्तीमा रगतको कथा लेख्ने रहर छैन,
म ईश्वर नदेखेको मान्छे यही बस्तीको कटुस छायाँमा
चर्को घामले सुकाएका हरिया पातहरूको भाग्य लेख्दै छु!

धानखेतमा धान र पसिना मुर्च्छाएर एक भएका छन
भोको मङ्सिरलाई उत्खननका नलीहाड दिएर दयावान बन्ने रहर मसँग छैन,
म ईश्वर नदेखेको मान्छे चन्द्रकुमारीको टारीखेते डिलमा बसी
रोग बोकेर लह-लहाएका बालिहरूको भाग्य लेख्दैछु !

विफरले डसेको फुलको कुरूप अनुहार बोकेर
मसँग बिश्वासको किंवदन्तीमा सौन्दर्य चेतना बोक्ने रहर छैन,
म ईश्वर नदेखेको मान्छे प्रतिशोधको तुसारो बोकी
माली बस्तीसँगै मुर्दावादको सम्झौता पत्रमा हस्ताक्षर गर्दैछु !

अब महापर्वतको उपमा दिएर उकालो चढ्न छोड्ने हौसला दिन बन्द गरौँ
ओइलिएर झरेका गुँरासहरूले यो बस्तीमा रंगीन बिजयोत्सव मनाउँछन् भने,
म ईश्वर नदेखेको मान्छे लेकहरूमा चैते अभियान बोकी
मेरो प्रीतको भूगोलबाट गुराँसे लेकलाई हिड्न लगाउँछु !

बलदेव भट्ट ‘बिहानी’
डडेल्धुरा, नेपाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *