Skip to content

राजधानीको हाल जताततै कमालै-कमाल


नेपालको राजधानी काठमाण्डौ, नगन्य नेपालीहरूको सपनाको शहर काठमाण्डौ अनि उच्च जनघनत्वको माहोलमा अस्त ब्यस्त हाम्रो राजधानी काठमाण्डौ । महल देखि झुपडीसम्म, पजेरोदेखि सडकसम्म, अरबपतिदेखि भिखारीसम्म, ठगदेखि साधुसम्म, बुद्धिवानदेखि मुर्खहरूसम्म, अशक्तदेखि बलवान सम्म, चोरी-चकारिदेखि हत्याहिंम्सिसम्म, ललाइ फकाइदेखि बलात्कारसम्म, मानबीय बेचबिखनदेखि अबैध यौन धन्दासम्म, के हुदैन र हाम्रो राजधानी काठमाण्डौमा । प्राकृतिक सुन्दरताले भरिपूर्ण सुन्दर नगरी रानी पोखरी, पानी पोखरी, नाग पोखरी लगायत थुप्रै पोखरीहरू लगायत धार्मिक तथा पौराणिक दृष्‍टिकोणबाट चर्चित मन्दिरै मन्दिरहरूको शहर हाम्रो सुन्दर शहर राजधानी काठमाण्डौ । स्यम्भु, पशुपति, बौद्ध, नारायण थान, इचङु नारायण, भद्रकाली दक्षिणकाली जस्ता अनेकन देबिदेबताहरूको पवित्र आस्था मौजदात छ राजधानी काठमाण्डौमा ।

काठमाण्डौ शहरकै प्रमुख केन्द्रबिन्दु सुन्धारामा रहेको धरहराको टुप्पोबाट वा विश्वकै ध्यान केन्द्रित हुने शान्तिका अग्रदुत भगाॉवान गौतम वुद्दको पवित्रस्थल स्वयम्भुनाथबाट चिहाउदा देखिने काठमाण्डौको मनोरम दृष्य, गोधुली साँझमा तिरमिराउने मधुर धिप-धिपे वत्तिहरूको ताँतीले मुस्काइरहेका उज्याला बस्तीहरू अनि शुभ बिहानीको सुरुवातसँगै चिरबिर चिरबिरको मधुर धुनहरूबाट दिनको उज्यालोसँगै जीवनका लालीहरू साट्ने निर्दोश चरिहरूका सुमधुर आवाजसँगै जीवनका उकालि-ओरालीहरूसँग रमाउथे होलान् राजधानिबासिहरू । हरिया सुस्ताइरहेका फाँटहरू अनि चारैतिरका जङ्गलहरूबाट बतासिने चिसो सितल हावासँगै रमाइरहेका मानिसहरूको सुन्दर बस्ती थियो होला काठमाण्डौ । चारैतिर हरियाली मौसम अनि आ-आफ्नै दैनिकीमा ब्यस्त शान्त र सालिन थियो होला हाम्रो राजधानी काठमाण्डौ । स्यम्भुनाथ, बौद्धनाथ, पशुपतिनाथ जस्ता धार्मिक आस्थाका प्रतिक मानिने स्थलहरू बिसुद्ध भक्तजनहरूको प्रतिक्षामा मुस्कुराइरहेका हुन्थे होला कुनै समय । निर्वाध रुपमा संग्लो कल कल पानी बग्ने बाग्मती र बिष्णुमतीहरू पनि ढलमुक्त थिए होलान् । समयमा ब्यबस्थित बिसर्जन गर्न असमर्थ फोहोरका दुर्गन्धित डङ्गुरहरू रहित सुगन्धित सुवासदिने हरिया बनस्पतिहरूको घेरामा मुस्कुराइरहेको थियो होला हाम्रो काठमाण्डौ । सडकहरू धुलो धुवा रहित आफ्नै गतिमा सिमित थिए होलान् । कुनै एउटा सुन्दर शान्त बस्ती झै चकमन्न थिए होला राजधानीका सडक बस्तीहरू । रानीबनको सुन्दर हरियालीविचबाट प्रवाहित स्वच्छ हावाका छटाहरूले नजिकैका वस्तीहरूमा दिलाउने आनन्दता र सोही हावासँगै बहकिदै जङ्गलबाट निस्किने मुलको पानीको बेग्लै स्वाद लिदै दैनिकी गुजार्न पाउदा स्वर्गको अनुभब गर्थे होलान् राजधानीबासीहरू । नजिकैको फुल्चोकी डाँडामा टलक्क टल्किएको हिउको परिदृष्यले मन प्रफुल्लित हुन्थ्यो अबस्य पनि अनि फुल्चोकिको हिउमा चिप्लेटि खेल्न पैदल यात्रा लम्किने युवा जमातहरू प्राक्रितिक मनोरम अलौकिक संसारमा लुकामारी खेल्दै रम्थे होलान् ।

म सानो छदा त्यो सहर हेर्ने उत्सुकतासँगै गरिएको काठमाण्डौ यात्राले अझै पनि बेला बेला मन झसङ्ग बनाइदिन्छ । आजभन्दा बिल्कुलै फरक थियो त्यो मेरो सपनाको शहर त्यति बेला । करिब ९-१० बर्षको हुँदा मेरि दिदिसंग पहिलो पटक म काठमाण्डौ हेर्न आएकी थिएँ । मेरो सुन्दर गाउँ त्रिशुलीदेखि दुरीको हिसाबले अत्यन्त नजिक रहेको शहर भएर पनि त्यती आवात जावात नहुने हुदा त्यो शहर मेरो लागि नितान्त नौलो शहर थियो । ३, ४ घन्टाको पैदल यात्रा अनि २, ३ घन्टाको बसयात्रा पछि हेर्न पाइने कल्पनाको शहर थियो काठमाण्डौ । म निकै उत्साहित हुँदै काठमान्डौ यात्रा रोजेकी थिएँ । यात्रामा एउटा रोमान्चक कुरा पनि भएको थियो जुन कुरा सम्झिदा हिजो आज पनि म आफै दङ्ग पर्छु । मेरो बाल मष्तिस्कले नयाँ अनुभब उत्साहपूर्बक नियाल्दै थियो । कहिल्यै गाडी, ट्रक बस नदेखेकी फुच्ची केटी फुरुक्क रमाउदै रमाइलो शहर जान लाग्दा टाढाबाट नै ठुला-ठुला सामान बोक्ने गाडीहरू बिपरित दिशाबाट आएको देखे मैले । मलाइ अनौठो लाग्यो अब २ पट्टिबाट आएको गाडी कसरी आ आफ्नो दिशातर्फ जान्छ भनी मैले उत्साहित प्रश्न दिदिलाई हतार हतार तेर्स्याए । हामी सँगै यात्रा गर्ने १ जना दाजुले मेरो प्रश्न भुइमा खस्न नपाउदै यसरी जवाफ दिनु भयो अब त्यो २ वटाले लडाइ गर्छ जस्ले जित्छ त्यही छिट्टो अगाडि जान्छ । कति सोझा थियौं हामी गाउघरमा हुर्केका केटाकेटीहरू मैले साँच्चै पत्याएँ र टक्क रोकिएँ र एकोहोरो हेरिरहें । सबैले मलाइ छोडेर अगाडि लम्किसक्दा पनि म हेरिरहें । जब २ गाडी नजिकै आइपुग्यो अब जुध्छहोला, कसले जित्छ होला भन्दै म त्रसित भएँ । कुनै लडाइ नलडी २ वटै गाडीहरू आ आफ्नो दिशा मोडिए । अनि म दौडिदै गएर फेरि प्रतिप्रश्न गरें, खै त कस्ले जित्यो त ? फेरि मलाइ उहाँले भन्नुभयो टाढाबाट देखिदैन लाटी छिटो छिटो हिडेर नजिकै गएपछि बल्ल देखिन्छ । मैले फेरि पनि पत्याएँ र सबैभन्दा अगाडि दौडिएँ छिट्टो गाडी देख्ने चाहनामा । केही समय पछि जब म गाडि गुडिरहेको सडक नजिकै पुगें जिन्दगीमा नयाँ अनुभब गर्दै । तब मलाइ थाहा भयो गाडीले कसरी सडक पार गर्दा रहेछ्न भन्ने कुरा । सडक फराकिलो र गाडीको आ आफ्नै दिशा हुन्छ भन्ने कुराको जानकारी भयो बल्ल । उनिहरू सँग झुट सन्देश दिएकोमा रिसाएँ तरपनि कतै हराइने हो की भन्ने त्रासमा नजिकिदै लम्किरहें । एउटा गाडी आएर हाम्रो अगाडि रोकियो हामी त्यहि गाडिमा चढेर राजदानी नगरी काठमान्डौतर्फ लाग्यौं । अनौठो लागिरह्यो मलाई त्यो यात्रा । काठमाण्डौका ठुला ठुला अग्ला घरहरू अनि गाडी नै गाडीले भरिएका सडकहरू, ठुलादेखि फुटपाथसम्मका पसलहरू सबै नौला र अनौठा थिए मेरा लागि । मेरो यात्रा ३ दिनको मात्र थियो । कति ठुलो शहर कतै हराइने पो हो की भन्ने डरले म आफन्तहरूका पछि पछि लाग्थें । त्यती बेला मलाइ यो शहर छोडेर बिरानो सुनसान बस्तिमा नजान पाएपनि हुने जस्तै लागेको थियो । २ दिनको घुमाइपछि अझै बस्ने रहर हुँदा हुँदै पनि आफ्नो जन्मस्थलतर्फ फर्कियौ ।

समयको दौरान अनि बदलिँदो बिश्वसँगै बिद्धुतीय आबिस्कारहरूले नेपालमा पनि दिनानुदिन प्रभाब पार्दै गैरहेको छ । बैज्ञानिक आबिस्कार तथा आधुनिकताले दिन दिनै बदलिरहेको विश्वको मुहारसँगै हामी पनि निकै अगाडि लम्किरहेका छौ । हिजो संचार, यातायात, स्वास्थ्य जस्ता अनाबत सुबिधाहरूबाट बन्चित गाउबस्तिहरूमा आज हर सुबिधाहरूले सबलाई खुशीको दियो जगाइदिएको छ । विश्व कति पनि टाढा छैन् आज । सँगै बसेर दैनिकी गुजारे झै महशुस गर्न सकिन्छ आज विश्वको कुनाकुनामा रहेर पनि ।

हिजो म सानो छदा मेरो कल्पनाको शहर थियो काठमाण्डौ आज त्यहि शहरको स्थायी बासिन्दा हुँ म । तर जती म सुनसान गाँउमा बसेर कल्पना गर्थें त्यो शहरको वास्तविकता त्योभन्दा बिल्कुल फरक लाग्यो अनुभब गर्दै जाँदा । बास्तबमा सक्कली रुप त त्यहि गाँउमा पो लुकेको हुदोरहेछ । आज हाम्रो राजधानीको वास्तविक रुप नियाल्दा यस्तो लाग्छ । मानौ पत्याउनै गाह्रो लाग्छ काठमाण्डौ कुनै अवसरै अवसरको शहर हो भनेर । फोहोरै फोहोरले भरिपूर्ण प्रदुशित कोलाहल बस्ती पो भएछ राजधानी काठमाण्डौ । असुरक्षाको पराकाष्ट नाघ्दै हर सर्वसाधारण असुरक्षित महसुस गर्दैछ काठमाण्डौमा । सुरक्षा पोस्ट अगाडि गोली चल्छ, दिउसै राँको बल्छ, बन्द र हड्ताल त आजभोलि दाल भात तरकारीभन्दा नी सस्तो, सोझा सिधा निमुखाहरूको लागि यो काठमाण्डौ बस्ती बेमौसमी खेती जस्तो । सुद्ध छैनन् पिउने पानी, दुध, मासु तरकारी । जागिर छैन् सरकारी, चल्छ जताततै दिन दहाडै ठगिन्छन उपभोककारी । ब्यापार मौलाउदो छ ब्यापारीलाई, जे मा पनि मिसावट छ उपभोककारीहरूलाई । मालामाल र फालाफाल छ भ्रष्टाचारीहरूलाई । मुख मिठ्याइ मिठ्याइ खाने मिठाइ गुदपाक या म:म छैनन् केही स्वास्थकर, जाड रक्सी चुरोट खैनी भन्छन् सबले हानिकार तर यसैमा हुने रहेछ कमालको ब्यापार । मालपोत, अदालत, जिल्ला प्रसाशन, जताततै चल्छ घुसैकोरी, टुपि उखली उखली पढ्नेको सर्टिफिकेट काम न काज, भ्रस्ट्राचारिहरूलाइ लाग्दैन लाज । घुस लिने दिने दुबै राष्ट्रघाती भन्थे तर नयाँ नेपालमा त माननीय मन्त्री तथा सभासद ज्युहरूकै घुस चर्चाले स्थान पाउन थाले । नेता, भ्रष्टाचारी, घुसखोर सबलाई फाप्ने राजधानी काठमाण्डौ । धारा छ तर छैन् पानी । बिजुलीको त के कुरा भन्न पनि लाजमर्दो विश्वमै जलश्रोतको धनी भनिने देश रे । बत्ति पिलिक्क आउँदा भगवान स्वयम् नै उदाए जस्तो कहिले काहीं त दिनमा अठार घण्टासम्म लोडसेडिङ्ग हुने यो राजधानीको अल्छी रुप खै कस्तो-कस्तो । राजधानीको तार ब्याबस्थापनको त के बयान गर्नु, बयान गर्नै गाह्रो, बत्ती आवोस् नआवोस् तर बिजुलीको खम्बा प्यारो । गाडी गुडे पनि हुन्छ बोकेरै लादा पनि त जान्छ तर नक्सामा बाटोको धर्को कोरिदिए जग्गाको मोलले खोल ओड्छ । आफ्नै बस्तीमा हैजा आएपनि के मतलब कसैले नदेखोस् भनेर फुत्त फोहोर फाल्छन । आफैलाई आफैले बिस हालेर अनि अस्पताल जान्छन । अस्पतालमा पनि कहाँ सुद्धता छ र डाक्टरहरूले पनि कहाँ देख्नु पर्ने आँखा कहाँ देख्छन, घाटिको बिरामीलाई पाठेघरको अपरेशन गर्छन् । औषधीको पनि के भर म्याद सकिएको औषधी बिक्री गर्छन् । मनोरन्जनको लागि पिउने बियरमा बिष लागेर पिउदा पिउदै बेहोस् भै लड्छन । जुसमा होस् या बियरमा उही कथा बिषादी मिसाइएको हुँदोरहेछ । जताततै शँकै शँका, काठमाण्डु त रोगको युद्ध लड्ने थलो भएछ । अस्पतालको वरिपरि फोहोरको रास हुन्छ । रोग निको पार्ने ठाउँ हो की सार्ने ठाउँ हो बिदेशीहरूलाई त कन्फ्यूज पो हुन्छ होला । बिदेशीहरू व्यूटीफुल नेपाल भन्छ्न तर नाक बन्द गर्दै हिड्नुपरेको कहानिले तीन छक्क खान्छन । ७५ वटै जिल्लाका सबैलाई काठमाण्डौ प्यारो, मान्छे थाम्न काठमाण्डौलाई कति गाह्रो । नुवाकोटको तारुकामा माघे सक्रान्तीमा जुढाइन्छ गोरु तर राजधानिमा मान्छे नै जुध्छन खुरु खुरु, कलेज गयो जुधेकै छ्न्, सभासद्हरू हर-दिन जुध्न कुदेकै छन् ।

कहिल्यै नटुङ्गिने भो मान्छे जुधाइको खेल । राजनितिमा सधैं साउने भेल । नेपालको १ मात्र अन्तरराष्ट्रीय बिमानस्थल अत्याचार सहन नसकेर कुइकुइ रुँदैछ । आजसम्म कति काला कर्तुत आएहोलान, गएहोलान, घुसको पैसाले जुस र म:म मिसाउदा झाडाबान्ता चले होलान् बल्ल अहिले आएर पो शिशी क्यामेर राख्ने कुरा हुदैछ । राजधानीको यातायातको के कुरा कहिले चलिरहेको टेम्पुमा आगो लाग्छ त कहिले आफै आगो लगाउछन् । बन्द हड्ताल, दुर्घटना, जाम यस्तो काठमाण्डौमा कसको काम । अपाङ्ग, निमुखा बेशहाराहरू यो शहरमा कति बेहाल भाकाछन्, हुनेखानेहरू दिनदिन डिस्को डान्स रेस्टुरेण्ट धाकाछन । घरवालाहरूको शान नै बेग्लै पानी ट्वाइलेट बत्ति नभएपनि कोठा भाडामा लाकाछ्न जति घर बनेपनि खाली छैन् मान्छे किरासरी आकाछ्न । दिनदहाडै जाड भाङ्ग, गाजा चरेस खाकाछन । उमेरका बैशालु केटाकेटीहरू अन्धो मायाजालमा नै ब्यस्त छन्, माया पनि चिन्नै गाह्रो नक्कली, सक्कली कस्ले कसलाई बुझ्नु, बुझ्नै गाह्रो छ तर पनि सबलाई यहि शहर प्यारो छ । महङ्गी चुलीएको छ तैपनि दुनियाँ त्यही भुलिएको छ । अरु देशहरूमा पनि यस्तो ब्यस्त राजधानी छ्न होला की कतै, न सार्वजनिक सौचालय, न ब्याबस्थित मन्त्रालय ? एउटा पररास्ट्रको छाप लगाउन दिनै कुर्नु पर्छ । तिर्खा लागे पानी छैन, पिसाब लागे सौचालय छैन्, पेटै दुख्न थाल्यो भने त अस्पताल नै छिर्नु पर्छ । स्कुल क्याम्पस च्याउ उम्रे झै उम्रेका छ्न् कति सप्रेका छ्न त कति उठिबास भएका छन् । गरीब निमुखा अपाङ्ग, असहायहरूका लागि ठाउँ नै छैन् राजधानिमा, न हिड्ने बाटो छ, न चढ्ने सुबिधायुक्त सवारी साधन छन् । बलियो छ त सबै गर्न सक्छ निर्धो छ त हार खाएर जहीको त्यहि मर्नु पर्छ । देश बनाउने सत्ताधारिहरूको ठुलो संजाल छ सिंगो देशको त कुरै छोडौ राजधानीको त यो बेहाल छ । नेपाललाई १० बर्षमा सिङ्गापुर र स्वीजरल्यान्ड बनाइदिन्छु भनी भाषण गर्ने हाम्रा नेताहरूको भौतिक सुबिधा सम्पन्न बसाइ पनि यहि राजधानिमा नै छ । हुने खानेहरूलाई राजधानी प्यारो छ । नहुनेहरूलाई जीवन गुजार्नै गाह्रो छ । यस्तै यस्तै कथा ब्यथा सहदै आएको छ हाम्रो राजधानी काठमाण्डौले । अझै कति सहनु पर्ने हो त्यो त भबिश्यले नै देखाउनेछ । जे होस् यहि हो हाम्रो राजधानीको वास्तविक हाल, हुनेलाई मालामाल, नहुनेलाई बेहाल अझ भन्नु पर्दा जताततै कमालै कमाल ।

www.nepalisrael.net

Leave a Reply

Your email address will not be published. Required fields are marked *