कतिखेर सुरुङ खनिसकिएको खबर आउला र बाहिर निस्कौँला भन्ने प्रतीक्षामा थियौँ । त्यसैले राति नै हामी आठ जनाले जेलभित्र भएको पैसा बाँडचुँड गर्यौँ । एक जनाको भागमा ५२ रुपियाँ पर्यो । त्यो रकम गोजीमा राखेर जुत्तासमेत लगाएर सुत्यौँ । तर, बिहान मात्र सुरुङ खनेर पूरा भएको खबर आयो । दिनभर िसुरुङ जोगाएर राख्ने चिन्तामा पर्यौ । जेलभित्रको बगैँचाबाट माटोका चपरी तयार गरी सुरुङको बाहिरपट्टकिो प्वाल टाल्यौँ । र, तत्काल बैठक गरी राति नै भाग्ने निर्णय गर्यौँ ।
३२ दिनपछि अर्थात् २०३३ चैत १२ गते बिहान ४ बजे नै सुरुङ तयार भयो । सुरुङबाट कतिखेर बाहिर निस्किने होला भन्ने कौतूहलमा थियौँ । त्यो रात ठूलो हावाहुन्डरी चलेको थियो । जेलभित्र मात्र होइन, बाहिरका सबै बत्ती निभेका थिए । चैत ११ गते राति माधव पौडेल र गोपाल शाक्यको सुरुङ खन्ने पालो थियो । पौडेल सुरुङबाट बाहिर निस्कनासाथ झलमल्ल बत्ती बल्यो ।
गोपाल शाक्य, सीपी मैनाली र म सुरुङभित्र लाइन लागेर बसेका थियौँ । पछिल्तिर जीवन मगर हुनुहुन्थ्यो । एक हजार वाटका बत्ती बलेपछि हामीले सुरुङबाट बाहिरिने योजना थाँती राख्यौँ । ब्लेड, कम्बल र काठको पट्टा लिएर अशोक न्यौपाने र म ट्वाइलेटको चेपबाट पर्खालमा झुन्डिएको तार तान्न गयौँ । दुइटा तार ताछेर जुधाएपछि ठूलो आवाजमा ट्रान्समिटर पड्कियो । सबैतिर अँध्यारो छाएको मौकामा बाहिर निस्कन थाल्यौँ ।
म तन्ना ओढेर सुरुङतिर भागेँ । साथीहरू भाग्दा छाडेका लुगाले सुरुङको प्वाल नै बन्द होला जस्तो भएको थियो । बल्लतल्ल बाहिर निस्कियौँ । हल्का जून लागेको थियो । बाहिर यसो हेरेको त सेन्ट्री बसेको पुलिस उत्तरतिर फर्केर मजाले बाँसुरी बजाइरहेको थियो । म आलुबारी हुँदै आलीको आड लाग्दै भागेँ । नख्खु खोला पुगेर हर्ेदा कोही साथी देखिएन । खोलापार िछाया चलमलाएजस्तो लाग्यो । गोपाल शाक्य पो हुनुहुँदो रहेछ ।
हामी सबै फाखेल गाउँमा जम्मा हुने योजना थियो । तर, गाउँलाई पहिले नै सेना-पुलिसले घेरसिकेको रहेछ । हामी दुई जना फर्केर काठमाडौँ आयौँ । विजेश्वरीमा गङ्गालाल श्रेष्ठको घरलाई सेल्टरका रूपमा प्रयोग गर्यौँ । त्यतिबेला सहाना प्रधान राजनीतिमा हुनुहुन्थेन । उहाँका देवर सहदेवले ठूलै सहयोग गर्नुभयो । बिहान ३ बजे हामी बेढुङ्गे नाकाबाट धादिङ छिर्यौँ र उप्रेती थरका एक व्यक्तिको घरमा बस्यौँ । उहाँ नेपाली काङ्ग्रेस र्समर्थक हुनुहुँदो रहेछ । उहाँले पनि राम्रै सहयोग गर्नुभयो ।
यसैबीच, शाक्य र मेरोबीचमा काठमाडौँ फर्किने कि उपत्यकाबाहिर जाने भन्ने विषयमा ‘फ्रेन्ड्ली मतभेद’ भयो । उहाँले आफूसँग रहेको सबै पैसा मलाई दिएर पुनः काठमाडौँ नै फर्किने निर्णय गर्नुभयो, म उपत्यकाबाहिर लागेँ । दर्ुभाग्य, मैले आफैँले जेलमा पढाएको विद्यार्थी पुलिस बनेको रहेछ । उसले जनकपुर जाने गाडीमा पथलैयाबाट चन्द्रनिगाहपुर पुग्दा नपुग्दै चिनिहाल्यो । म त्यहीँ पक्राउ परेँ । घनेन्द्र बस्नेत र नरेश खरेल पहिले नै पक्राउ परसिक्नुभएको रहेछ ।
अनेक यातना दिइयो । फाँसीमा झुन्ड्याउने योजना सुनाए । तिमीहरूको अन्तिम इच्छा के छ भनेर पनि सोधे । नरेशजीले मासुभात खाने अन्तिम इच्छा बताउनुभयो भने घनेन्द्रजीले एक बट्टा चुरोट माग्नुभयो । घनेन्द्रजीकै अनुरोधमा मैले पनि पहिलोपटक एक खिल्ली चुरोट खाएँ । त्यसपछि त त्यहीँ ढलेछु । नरेशजी मासुको अलि सौखिन नै हुनुहुन्थ्यो । वीरगन्ज जेलमै हामीले उहाँको पाइन्ट मासुसँग साटेका थियौँ तर चौकीदार बदमास परेछ । उसले त हामीलाई मासु होइन, खुट्टाको झोल पो ख्वायो । तर, त्यो पनि हामीले बडो रमाइलोसँग खायौँ । यसरी जेल ब्रेक गरेर बाहिर निस्किएको म घुमीफिरी फेर िनख्खु जेल परेँ । गोलघरमा राखियो । मेरो २७ महिना त्यहीँ बित्यो । त्यहीँ बस्दा मैले अक्सफोर्ड डिक्सनरी कण्ठस्थ पारेको थिएँ ।
सुरुङ खनेर लगभग पूरा हुने अवस्थाको घटना पनि कम रोचक छैन । ३०-३५ जनाको समूहलाई वीरगन्ज जेलबाट नख्खु सारियो । तर, त्यहाँ पहिलेदेखि नै जेल प्रशासनबीच विवाद थियो । हामीले दुवै पक्षलाई साथ दिने वचन दियौँ । तर, हाम्रो खास साथ विद्रोहीभन्दा पनि मकरध्वजको पक्षमा थियो । हामीले दुवैलाई उक्साएर भिडन्तको स्थिति सिर्जना गर्यौँ, जसले गर्दा विद्रोही पक्षले प्रशासनमा कब्जा जमाउन नपाओस् । विरोधीका मान्छेले चौकी घेरे । तलबाट एउटाले ढुङ्गा हान्यो, मारामार चलिहाल्यो । चिरपट लिएर सबै जाइलागे । हामीलाई दुःख दिइरहेकाहरूलाई हामीले पनि छानीछानी हान्यौँ ।
जेल विद्रोहीको कब्जामा पुग्दा हामीले त्यो सुरुङ खनिरहेको कोठा छाड्नुपर्ने हुन्थ्यो । प्रशासनसँग हामीले जेलको पश्चिम भागमा रहेको त्यही कोठा खरायो पाल्ने भनेर लिएका थियौँ, जसबाट सुरुङ खनेका थियौँ । विद्रोही पक्ष हामीप्रति अलिक पूर्वाग्रही थियो । प्रशासनले हामीलाई छूट दिएको उनीहरूको आरोप थियो । हाम्रै सहयोगले विरोधीलाई पाखा लगायो र हामी पनि बाँकी पाँच-छ फिट सुरुङ खन्न सफल भयौँ ।
सुरुङ खन्ने क्रममा हामीले माटो थन्क्याउन महाभारत नै खेप्यौँ । चाहिनेभन्दा ठूलो सुरुङ खनेकाले त्यस्तो समस्या भोग्नुपरेको रहेछ । माटो थन्क्याउन हामीले बगैँचा बनायौँ, एक ब्लकबाट अर्को ब्लकमा जाने बाटो निर्माण गर्यौँ । सुत्ने काठको बोर्डमुनि पनि माटो थन्क्यायौँ ।
विद्रोहीका रूपमा झापामा पक्राउ परेदेखि नै हामीले जेलबाट भाग्ने योजना बनाएका थियौँ । तर, प्रशासनले त्यो कुरा चाल पायो, हामीलाई वीरगन्ज सरुवा गरियो । वीरगन्जबाट नख्खु सारेपछि काङ्ग्रेस र कम्युनिस्ट आन्दोलनका थुप्रै नेतासँग भेट भयो । पर्खाल नाघेर भाग्ने या हतियार खोसेर फायर खोल्दै भाग्ने सोच पनि बनायौँ । त्यसका निम्ति हामीले नरेशले लगाएको नेलमा झ्यालका दुई चुक्कुल निकालेर क्रस गरेर प्रेस गर्दा नेल तोडियो । त्यसबेला पुलिसका हतियार खोसेर भाग्ने योजना पनि बन्यो । तर, ती सबै जोखिमपूर्ण थिए ।
अहिले सम्झँदा काल्पनिकजस्तो लाग्छ नख्खु जेल ब्रेक । प्रमुख योजनाकार हुनुहुन्थ्यो सीपी मैनाली । त्यस घटनाका साक्षी कामेश्वर हलवाईबाहेक राधाकृष्ण मैनाली, गोपाल शाक्य, नरेश खरेल, माधव पौडेल, भीष्म धिमाल, घनेन्द्र बस्नेत, जीवन मगर, भारतीय नक्सलाइट आन्दोलनका नेता निमु सिंह भनिने राजन राजवंशी जीवित हुनुहुन्छ ।
नेपाल साप्ताहिक ३१६
