प्रकृतिको त्यो विचित्र र विशाल सम्मोहनबाट उम्केर कसैलाई सम्झिने मेरो अवस्था थिएन। मेरो टेन्ट पार्टनर पेमा दिकीका लागि संसारै उसको परिवार हो। परिवारको जिम्मेवारी उसका निम्ति बोझ् नभएर जीवनको प्रमुख लक्ष्य हो। शिखरमा उनी आफ्ना बाबा आमाको फोटो नियाल्दै थिइन्। आशा जानकी मन्दिरको फोटो समातेर पोज दिँदै थिइन् भने उषा मौन देखिन्थिन्। शायद पोहोर सालको दुर्घटनाको सम्झ्नाले होला, उनलाई अरू साथीलाई भन्दा चाँडै नै तल “र्लने हतार थियो। गत वर्ष ८ हजार पाँच सय उचाइमा पुगेकी उषालाई सहयात्रीहरूले छाडेपछि विदेशीले उद्दार गरेर बचाएका थिए। तर त्यस क्षण हामी चार जनाको लागि जिन्दगीको अर्थ नै बदलिएको थियो। दुई दिनअघि नवाङ फुटी, निमडोमा (कान्छी), सुस्मिता, पूजन र मायाको सफलतामा हामीले अर्को अध्याय थपेका थियौं। ११ जेठको बिहान सवा आठ बजे विश्वभरका मान्छेले पाइला टेक्न सपना देख्ने गरेको सर्वाच्च शिखरमा पुग्नासाथ म त्यहाँको प्रकृतिमा यसरी हराएँ, मेरो मगजमा कसैको तस्बिर आएन।
सफलताको यो अध्याय थप्न सकिएला नसकिएला भन्नेमा व्यक्तिगत रूपमा म निकै चिन्तित थिएँ। काठमाडौंबाट लुक्ला उड्ने समयसम्म म सोच्थें सकुशल फर्किएँ भने कलम चलाएर जिन्दगी हाँसीखुसी बिताउन सक्छु तर नसके नि? मनमनै जतिसम्म सकुशल पुग्यो त्यति नै पर्याप्त हुन्छ भन्ने सोच्थें र चित्त बुझाउँथेँ। तर ८ जेठमा चुचुरो पुग्ने उद्देश्यले साउथ कोल (चौथो क्याम्प) पुगेपछि, एकाएक शिखर धेरै महत्वपूर्ण हुन थाल्यो। राम्रो स्वास्थ्य स्थितिमा त्यति माथि पुगिसकेपछि शिखर पुग्न असम्भव छैन भन्ने लाग्न थालिसकेको थियो र त्यही अनुरुप महत्वाकाङ्क्षा पनि बढ्दैथियो।
साथीहरूसँगै चाउचाउको सुप पिएर एकछिन थकाइ मारेपछि साँझ्को करिब दश बजेतिर समिटका लागि निक्ल्यौं। तर कसो”कसो म अरूभन्दा ढिला क्याम्पबाट निक्लेँ। मेरो आरोहण गाइड पासाङ दाइ र म पछाडि पर्यौं। सेतो हिउँमाथि टाउकोमा टर्च बालेर कछुवा गतिमा उकालो लाग्दै गरेका मानिसहरूको लहर हेर्दै म पनि उक्लिन थालेँ। झ्ण्डै पूर्ण आकारको चन्द्र र आकाशभरि छरिएका ताराले रातको अँध्यारोलाई चिरिरहेका थिए। अगाडि साथीहरूलाई म देखिरहेको थिएँ, तर मैले भेट्टाउन सक्ने दूरीभन्दा उनीहरू निकै पर थिए।
साउथकोल माथिको हिउँको पाखामा अब यसपछिको बाटो कस्तो होला भन्ने सोच्दै हिँडिरहेको बेला पासाङ दाइको आवाजले रोक्यो। उनी मलाई तल बोलाउँदै थिए। माथिबाट आएको ढुङ्गा लागेर उनको समिट सुट (डाङ्ग्री) च्यातिएर भुवा सबै बाहिर निस्केका थिए। हिउँ पर्न थालिसकेको थियो। मैले सोचेँ मेरो शिखर पुग्ने लोभमा मौसम बिग्रेर उनको खुट्टालाई केही भयो भने? त्यसपछि त केही सोच्ने कुरै भएन। मैले फर्कने निर्णय गरेँ। दोस्रो समूहसँग माथि जाउँला भन्दै मन बुझ्ाउँदै तल र्झ्दैथिएँ, मेरो खुट्टाको क्र्याम्पोन डोरीमा अल्झ्ियो। डोरी निकाल्न खोज्दैथिएँ, केही तल “रालोमा कुनै आरोहीले साथीलाई ब्यूँताउन खोजेको सुनेँ। मेरो एकोहोरो मनमा रक्सीले बेहोस कुनै व्यक्तिलाई साथीले उठाउन खोजेको जस्तो लागिरहेको थियो। तर एकैछिन पछि वाकी”टकीमा ‘ चार्ली हि इज डेड ‘ भनेको सुनियो। तल हेरेँ, एक विदेशी आरोही लडिरहेका थिए र उनको गाइड उनलाई व्यूँझ्ाउन प्रयत्नरत थिए। हामी उनीहरूको छेउमा पुग्यौं। ती शेर्पा दाजुले केही समय साथै बस्न अनुरोध गरेपछि पासाङ दाइ र म रोकियौं। मृतक विदेशी स्वीस नागरिक रहेछन्।
अक्सिजन प्रयोग नगरी सगरमाथा आरोहण गरेका उनको “र्लने क्रममा एकाएक ढलेर सास बन्द भएको रहेछ। उनका अर्का साथी केही तल थिए, उनलाई माथि उक्लिन गाह्रो भइरहेको थियो। हाम्रा अगाडि हिउँको सेतो र रातको कालोमा लिपिएकी विशाल ल्होत्से लामो पछ्यौरा लहराएर बसेकी सौखिन नारी जस्तै देखिन्थिन्। अक्सिजन लगाएर हिँड्न थालेदेखि मेरा कानमा अनेक आवाज गुन्जिन थालेको थियो। लास कुर्न बसेदेखि मैले पचास पचपन्न वर्ष पार गरेकी, रस नभएको रुखो आवाजकी कुनै आनीले गुम्बामा मन्त्र पाठ गरे जस्तो आवाज सुन्न थालेकी थिएँ। यो भ्रम हो भनेर आफूलाई भुलाउन दायाँबायाँ हेर्थेँ। छेउछाउमा भएका हिमाललाई कहिले बादलले लुकाउँदै थियो भने कहिले जूनले चम्काउँदै थियो। बादल आफैँ पनि पहेँलो किरण फाल्दै चम्किरहेको थियो। तर त्यो मन्त्रपाठको आवाज गुन्जी नै रह्यो। मलाई ल्होत्से हिमालले नै त्यो पाठ गरिरहेको जस्तो लागिरहेको थियो। जति ल्होत्सेलाई नियाल्थेँ उति त्यतैबाट आवाज आए जस्तो लाग्थ्यो। त्यो हिमाल हेरिरहँदा म आफैँलाई सोधिरहेथँ, के होला यो हिमाल मान्छेलाई सफलता दिलाउने दैवीशक्ति कि उसको ज्यान लिने दैत्य! तर मेरो आफ्नै आरोहण बाँकी थियो, त्यसैले आफैँलाई सम्झ्ाएँ, समयका अगाडि कसैको केही लाग्दैन, हिमाल प्रकृति हो र प्रकृति नै दैवीशक्ति हो।
शिखर जाने अर्को मौका पाउँदिनँ कि भन्ने डरले सगरमाथा आरोहणको यही नै अन्त्य हो भन्ने पनि सोचिरहेकी थिएँ। म आफ्नै सोचमा हराइरहेकी थिएँ, ती मृतकको गाइड शेर्पा दाजु आफ्नो टिम लिडरलाई सम्पर्क गर्दै थिए। उनका टिम लिडरले सहयोगका लागि साथीहरू पठाएपछि पासाङ दाइ र म साउथ कोलतिर लाग्यौं। हाम्रो टेन्टभित्रका सबै कुरा जमेर कक्रक्क परेका थिए। सुत्ने मन थिएन। लेख्न खोजेँ, कलम पनि जमेछ। बल्लबल्ल बिहान भयो। बेसक्याम्पमा रहेका पेम्बा ग्याल्जेङ दाइ, दोस्रो क्याम्पमा भएका जेनरल लिडर दा गोम्बु सर र शिखरतिर रहेका क्लाइम्बिङ लिडर पेम्बा दोर्जे दाइबीच वाकी”टकीमा मेरा बारेमा छलफल भयो। शुरुमा मलाई बेसक्याम्प र्झ्न भनियो। मैले म आफूले नसकेर नफर्किएकोले जतिसम्म सक्छु माथि त जसरी पनि जान्छु भन्ने ढिँपी गरेँ। अघिल्लो दिन किन फर्केको बुझ्ेर मात्र निर्णय गर्ने भनेर पेम्बा दोर्जे दाइले भनेपछि म ढुक्क भएँ। तर न्यास्रो लागी नै रहेको थियो।
आरोहण सकिनेहरू टेन्ट उठाउँदै थिए। मान्छेले देखे भने नसकेर फर्किछ भन्ने पर्छ भनेर टेन्टभित्रै बसिरहेँ। यत्तिकैमा माथि गएका पाँच साथीले शिखर चुमेको खबर आयो। मलाई त आफै शिखर पुगे जस्तो भयो। यतिबेला मलाई पनि शिखर पुग्न सक्छु भन्ने लाग्यो। पेम्बा दाइ र साथीहरूको व्यग्रतासाथ प्रतीक्षा गर्दागर्दै म निदाएछु। निद्रा खुल्दा पल्लो टेन्टमा बजिरहेको कोशी एफएम सुनँे, ‘ प्रथम समावेशी महिला सगरमाथा आरोहण दलका पाँच आरोहीले सगरमाथाको सफल आरोहण गरे। ‘ समाचार देशभरि गइसकेछ। म सोच्दैथिएँ, काठमाडौंमा कुन हर्षोल्लास छायो होला। तर बाहिर हिउँ परिरहेको थियो, साथीहरू अझ्ै आइपुगेका थिएनन्। मनमा पीर लाग्न थाल्यो। फेरि निदाएछु। आरोहणले हर्षित र थकित भएर साथीहरू फर्किए। म कहिले मेरो पालो आउला भनेर कुर्न थालेँ।
भोलिपल्ट बाँकी साथीहरू आएपछि रातको सवा नौ बजेतिर हामी शिखरका लागि निक्लियौं। मौसम सफा थियो। हिउँकोे पाखापछि ढुङ्गाको उकालो रहेछ। त्यसपछिको हिउँको तेर्सो बाटो सकिएपछि चर्चित बाल्कोनी पुग्यौं। निक्लँदा सँगै भए पनि हिँडाइ अनुसार साथीहरू अगाडि पछाडि भएका थियौं। बाल्कोनीमा उषा, फुर्वा, दिकी, दा किपा दाइ भेट भयो। मलाई भगवान नै प्रकट भए जस्तो खुसी लाग्यो। मेरो क्लाइम्बिङ गाइड निमा कान्छा दाइले अक्सिजन फेरिदिए, फुर्वाले पानी दिए र एकसाथ माथि लाग्यौं। बाल्कोनीपछि अप्ठ्यारा साँघुरा बाटा शुरु भए। आकाशमा तारा र चन्द्रमा थिए भने क्षितिजको घेरा नीलो हुँदैथियो। जति उक्लिँदै गयो, क्षितिजको नीलो फैलँदै जान्थ्यो। साउथ समिट नपुग्दै उज्यालो भइसकेको थियो।
त्यसपछि आयो बहुचर्चित हिलारी स्टेप। ठूल्ठूला ढुङ्गामा क्रयाम्पोनले टेक्दै हिँड्नुपर्ने। त्यति गाह्रो मलाई सगरमाथाको अरू कुनै ठाउँमा लागेको थिएन। फुर्वा र निमा कान्छा दाइको सहयोगमा हिलारी स्टेप पार गर्दा म शिखर अझै कति पर होला भनेर सोचिरहेकी थिएँ। तर हिलारी स्टेप कटेपछि दुई तीन मिनेटमै शिखर देखियो। उषा र दिकी शिखरमा पुगिसकेका थिए।
शिखर मैले सोचेजस्तो समतल थिएन अलि उकालो रहेछ। हेर्दा सगरमाथा अझै अग्लो हुन खोजिरहेको भान हुन्थ्यो।
शिखरमा छु भन्ने सम्झिदा आफैँलाई हाँस उठ्थ्यो। सोचे कहाँ हुर्केको के काम गर्ने मान्छे बौलाहा जस्तो कहाँ आइपुगेँ। मलाई समिट हेर्ने उत्सुकता यति धेरै थियो, एकछिनसम्म वरिपरिको संसार केही देखिनँ त्यसैमा एकोहोरिएँ। बुद्धको मूर्ति, लुङतार, लामाहरूका तस्बिर भएका ठाउँमा ढोगेँ। हिमाल मिडिया र नेपाल पत्रकार महासंघ को झ्ण्डा लिएर पालैपालो फोटो खिचें। म जिन्दगीको सबैभन्दा धेरै गर्वले भरिएको क्षण थियो त्यो। त्यसपछि बल्ल अगाडिको मकालु हिमाल नियालेँ। ८८४८ मिटरको उचाइबाट संसार हेर्दा बादलको समुद्रमा कसैले हिमाल छरिदिए जस्तो देखिन्थ्यो।
आशा पनि समिट आइपुगिन्। थप फोटो खिचायौं। दिमागमा कविताका केही हरफ फुर्दैथिए। लेख्न मिल्ने अवस्था थिएन, त्यही हरफलाई बुन्दैै शिखरबाट फर्किएँ। तर चुनुको केही अत्तोपत्तो थिएन। आरोहणमा जानुअघि टोलीको एकजना मात्र शिखर पुगे पनि टोली सफल हुन्छ भन्ने मानसिकता थियो। त्यति बेला भने एकजना मात्र बाँकी रहँदा पनि टोली अझै सफल भएको छैन भन्ने लागिरह्यो। तर भोलिपल्ट चुनुले सफलताको अर्को अध्याय थपेको समाचारले भने संसारको सबैभन्दा अग्लो बिन्दुमा पुग्न हामीले गरेका सम्पूर्ण सङ्घर्ष सार्थक भएको अनुभूति गरेँ।
हिमाल खबरपत्रिका २२०
