प्रिय विशाखा !
मैले तिम्रो उत्पति र
उन्नतिको
बालुवा चपाएर
भोक टारेको युगौं बित्यो,
यात्राको कोसे ढुंगामा
थचक्क बसेर
सुश्केरा हाल्दै
पसिना पिएर जिन्दगीको-
प्यास टारेको युगौं बित्यो ।
युगिन यात्रामा
डरै डरले-
आकाश चिथोर्ने आवाजहरू
सुलुत्त निलेर उभिइरहेँ,
छातीमा
स्वाभिमानको गीत खोपेर
चेत अचेत
दुर्व्यसनको
दोबाटोहरूमा लडिरहेँ,
भाव शुन्यताको चास्नीमा डुबाएर-
तिर्सनाको छायाहरू :
आफैंलाई खोजेर हिंडिरहेँ,
अतितका इन्द्रेणी सपनाहरूमा
वर्तमानका जुलेवी ओंठहरू
टाँसेर समय बल्झिरह्यो,
म तिम्रो प्रेमको आवेगका
दृष्टिहरूले जलिरहें।
प्रिय विशाखा !
म कसरी दिऊँ तिम्लाई
मेरो अदृश्य अस्तित्वको
परिचयबिहिन परिचय ?
काँडाहरूले कोरिएका
बग्रेल्ती
सीमाहिन रेखाहरूमा
अनुवाद भएको ख्याउटे अनुहार
सायद तिमीले देख्न सक्छौ –
भिडहरूमा ।
तिमीसित आफ्नो परिचय
कसरी खोसूँ म, विशाखा !
तिमी त हृदय गानोबाट
उम्रेर आकाशे बेली झैं
प्रभामण्डलमा फुलेकी छौ –
परिचय बनेर उत्सर्गताको ।
शब्दहरूले उनेर या
यो अन्तर्मनको कोठामा थुनेर
कहाँ म तिमीलाई राख्न सक्छु –
तुसारो छातीमा ?
तिमी त नक्षत्र सौदामिनी
कहाँ म तिमीलाई
चिसो र
नरमाइलो भावमा लेख्न सक्छु ?
अचेल म
सङ्ग्लो र उज्ज्वल प्रेमको
वर्तमान चपाउन चाहन्छु
किनकि
मैले इतिहासको
बालुवा चपाएको
युगौं बित्यो,
परिचयबिहिन परिचयका
गीतहरू गएको युगौं बित्यो ।
