महाशय यता फर्किनुस त ।
तपाईँ त दुब्लाउनु भएछ ।
खोई त त्यो ठुलो भुँडी ?
पक्कै पनि तपाईँले खान छोड्नु भएछ ।
मन्त्रीदेखि सुब्बासम्म
पिउनले नि गन्न छोड्यो रे हजुर
सबैको खल्ती भर्ने तपाईँ
तपाईँ त दुब्लाउनु भएछ ।
साच्चै हो तपाईँले खान छोड्नु भएछ ।
तपाईँको भुँडी त मान्नै पर्थ्यो
खुबसँग कवाफले भर्नुपर्थ्यो ।
लौन हजुर भन्नुस त
साच्चै तपाईँले खान छोड्नु भा’को ?
सुहाएकै थियो हजुर दौराको भेष
बिचरा!
सुकेछ अनुहार अनी पाकेछ केश ।
होईन हजुर खानु पर्छ ।
बोसोले हाड छोडे, करङ्ग रहन्छ शेष ।
म छु तपाईँको सिद्दान्त मान्ने ।
पिर नलिऊ हजुर ।
तपाईँ बरु नारा लेख्नुस्
म छु नि घन्काउने ।
ल भन्नुस हजुर खाने कि नखाने ?
ईश्वरको कृपा छ हजुर
हामीले नखाए कसले खाने ?
ल छातीमा हात राखै कसम खाँउ
होईन हजुर खानु पर्छ खाँउ
हजुर लाई त मान्नै पर्छ
हुन्न हुन्न तपाईँले त खानै पर्छ
तपाईँले नकाडे छाला कसले काड्ने ?
हड्डीमा मासु अझै छ हजुर त्यसै छाड्ने ।
उफ लौ हजुर तपाईँले त खानै छोड्नु भएछ…