Skip to content

चाडबाड मनाउने विशिष्ट शैली र देवताहरू

  • by


एकपटक साउने सङ्क्रान्ति (२०४१) को बेला कर्णाली अञ्चलको सदरमुकाम जुम्लाको खलङ्गा बजारमा उपस्थित हुने संयोग पर्‍यो । त्यहाँ मण्डारक राक्षसको भव्य पूजा भएको देखेँ । साउने सङ्क्रान्तिलाई जुम्लामा ओल्के सङ्क्रान्ति भन्दारहेछन् । आगोको अगुल्टोलाई संस्कृतमा ‘उल्का’ भन्दछन् र त्यसैबाट ओल्के भयो ।

(दुर्गा सप्तसतीमा भगवतीले शक्ति अस्त्रलाई महिल्काले शान्त गरेको उल्लेख छ ) खलङ्गा बजार वारिपारिका घरहरूको छतमा दाउराका चाङका चाङ बलिरहेका थिए । लहरै बनेका घरहरूको छानो माटाले पुरिएको थियो त्यसकारण आगो सल्किने डर थिएन पनि । केही बेरपछि वारिपारिका घरहरूबाट एक आपसमा अगुल्टो फालेको दृश्य मेरालागि अपूर्व थियो- के गरौँ त्यो बेला आफूसँग क्यामरा थिएन ?

गण्डकी, लुम्बिनी र धवलागिरिका पहाडी गाउँहरूमा त आँगनमा कटेरी बनाई, कण्डारक राक्षसको पूजा गरी, कटेरीमा मास छरेपछि आफ्नो गाउँको लुतो पल्लो गाउँकाले लैजा भनी चिच्याएर अगुल्टो फालेको मात्र सम्झना थियो । खलङ्गा बजारको जस्तो भव्य साउने सङ्क्रान्ति पहिले देखेको थिइनँ ।

साउने सङ्क्रान्तिलाई गण्डकी, लुम्बिनी, धवलागिरिका पर्वतीय गाउँहरूमा चाडबाड आउनु र माघे सङ्क्रान्तिलाई चाडबाड बिदा हुने सङ्क्रान्तिको रूपमा लिन्छन् । साउने सङ्क्रान्तिपछिको ठूलो चाड जनैपूणिर्मा हो । हुम्लाको जनैपूणिर्मा सारै रमाइलो हुन्छ । देउताको माण्डु (मन्दिर) मा जम्मा हुने सेल रोटी पुरी (जसलाई यहाँ ‘चिउला’ भन्छन्) मासु आदि परिकार तयार गर्ने, इष्टमित्र, बन्धुवान्धव देउडा गाउने, नाच्ने त छँदैछ, त्यो दिन धामीहरूमा देउता जागेर काम्ने, जसलाई त्यहाँ ‘पतुर्ने’ भन्छन्-अनि देउता चढेका धामीले आगामी समयको भविष्यवाणी गर्ने र कसैले जान्न चाहेको कुरा बताउने गर्छन् । धामीमा देउता उत्रिँदा पनि मर्यादाक्रमअनुसार उत्रिन्छन् । हरेक देउताका लागि दमाहा (जसलाई त्यहाँ नगडा भन्छन्) को विशिष्ट ताल हुन्छ, हो कहिलेकाहीँ कुन धामी अघि पतुर्ने भन्नेबारेमा सानोतिनो विवाद पनि हुन्छ तर एकचोटि निर्णय भएपछि त्यो परम्परा रहिरहन्छ ।

जति शक्तिशाली देउताको धामी हुन्छ उत्ति प्रभावकारी चमत्कार देखाउँछ । सानोभन्दा सानो देउताको धामीले पनि आफ्नो हत्केलामा जौ दलेर त्यसको कालो तरेखु बनाएर देखाउँछ । काला शिल्टा, बानपाल (भाण्डपाल) आदि देउताका धामीले त आफ्नो मुखबाट स्फटिकका शीलाहरू निकाल्छन्, दूधको धारा अजस्र अनवरत बगाइरहन्छन् ।

धामीहरूमध्ये हिन्दू देवताका धामी, तान्त्रिक, बौद्ध धर्मका लामा धामी र बोन्पो धर्मको हिल्सा हिल्सा देवताका धामी पनि हुन्छन् । सबै आफ्नो तोकिएको क्रमअनुसार पतुर्छन् (काम्छन्) र भविष्यवाणी पनि गर्छन् ।

देउताका मात्र धामी हुँदैनन्, देउताको वाहन घोडा समैजीका पनि हुन्छन् । समैजीका काला शिल्टाका वाहन जसले काला शिल्टाका धामीलाई बोकेर माण्डुसम्म पुर्‍याउने, ल्याउने गर्छन् ।

मान्छे वाहनरूपमा घोडा भए पनि वा साँचो घोडा भए पनि रिकापी र लगामबाहेक घोडामा जीन काठी कस्दैनन् र नाङ्गो पिठ्यूँमा सहजै चढ्छन् । हूणहरूको उत्तराधिकारको रूपमा आएको यो चलन हुम्लामा अद्यापि कायमै छ ।

जनै पूणिर्मा हुम्लाको सबैभन्दा ठूलो चाड रहेछ । माघे सङ्क्रान्ति पनि निकै उत्साहसाथ मनाइन्छ ।

हरेक पूणिर्माको दिन धामीहरू माण्डूमा गई पतुर्छन् ।

यहाँको एक अनौठो विशेष विशिष्टता के रहेछ भने पूणिर्माको दिन जाडो याममा हिउँ पर्छपर्छ र गर्मी र बर्खा याममा अलिअलि भए पनि वषर्ा हुन्छहुन्छ ।

माघ शुक्ल द्वादशीका दिन वसन्त आगमनको पर्व चैताला सिधवा पहेँलो पहिरनमा वा केही नभए पहेँलो ओढने ओढेर गीत गाउँदै नाच्ने पर्व चैतालाले पनि हाम्रा प्राचीन चाडपर्वको सम्झना दिलाउँछन् । सदरमुकाम सिमिकोट रहेको डाँडापारिको राक्षसले यहाँका बालबच्चाहरूलाई मार्न भनी पठाएको अजिङ्गरलाई माण्डुपाल (बानपाल) देउताले आफ्नो त्रिशूलले तीन टुक्रा पारेको विषयका गीतहरू गाउँदै चैताला नाच्दछन् ।

पवित्रतम् पर्वतराज कैलाशको सारै नजिकको शिव क्षेत्र भएकोले यहाँ शिवमात्र हैन, उहाँको निवासस्थल पर्वतराज कैलाशलाई पनि देउतासरह पूजा गर्छन् । भगवान् शिवको अर्धाङ्गिनी पार्वतीलाई ‘भवानी मन्टा’ भनेर मानिन्छ । भगवान् शिवका गणहरू र वायु, राक्षस, असुर आदिले तत्काल फल दिने हुँदा तिनको असाध्य मान्यता छ ।

जसले तत्काल मार्न र पूरा वंश नै सखाप पार्न सक्छ र पूरा वंश पनि सखाप गर्न सक्छ भन्ने विश्वास गर्दछन्, त्यो ‘गुरा’ हो ।

मार्ने अर्थको गुर धातु ‘गुरभन्यारण’ बाट गुरा बनेको रहेछ । अनि ‘गुरा’ देउताको ‘माण्डु’ मन्दिर भएको गणुँ गुरा गाउँ । अनि गुराबाट आउनेहरू गुरागाईं कहलिएका रहेछन् ।

देउतासरहको पूजा पाउने असुर ‘लवासुर’ रहेछ । शायद यो लक्ष्मणले मारेको लवणासुर हो ।

तर सबभन्दा प्रसिद्ध जब्बर असुर त महिषासुर रहेछ-हूणहरूको राजा । हूणहरूले नै यो भूखण्डमा महिष अर्थात् भैंसीको प्रवेश गराएका हुन् । त्यसैले हूणहरूको राजा महिषासुर कहलियो ।

विचार गर्नुपर्ने कुरा यहाँ के छ भने यजुर्वेद तयार हुँदासम्म यहाँ महिष भन्ने जनावर चिनिएको थिएन र गाई नै एकमात्र बहुउपयोगी पशु थियो ।

हेर्नोस् त यजुर्वेदको पुरुष सूक्त

तस्यादश्वा अजायन्त ये के यो भयादतः
गावो ह जज्ञिरे तस्या त्तस्याज्जाता अजावयः
अध्याय ३१ कण्डिका ८

(ती यज्ञ पुरुषबाट दुवैतिर दाँत भएका घोडा, गाई, भेंडा, बाख्रा आदि पशु पनि उत्पन्न भए ।)

तर भैंसी या महिष आएपछि गाईभन्दा बढी उपयोगी ठहरियो । दूध बढी दिने, सोझो, दूध लुकाउन नसक्ने, (गाईले त चाहृयो भने आफ्ना बाच्छाबाच्छीको लागि दूध लुकाउँछ ।) चरनमा चर्दा खेतीमा नपस्ने आदिले गर्दा भैंसीको सम्मान बढ्न गयो । गद्दीनशीन राजासँगै अभिषेक पाएकी पटरानीलाई ‘राजामहिषी’ भन्न थालियो । मेरो सोचाइ वा ज्ञानले भेटेअनुसार संस्कृतमा ‘रानी’ वा ‘राजी’ शब्द छैन । सँगै अभिषेक भएकी पत्नी ‘महिषी’ वा ‘देवी’ भनिन्छ, अरू जम्मै रानीहरू ‘भोगिनी’ कहलाइन्छन् ।

हुम्लाको मैला गाविसमा महिषासुरको ठूलो थान छ । यहाँ उसलाई ‘हृलाँगो’ भन्दछन् । हृलाँगो देउता अनुकूल भएमा जस्तोसुकै सङ्कटबाट पनि पार पाउन सकिन्छ भनी स्थानीयहरू विश्वास गर्दछन् ।

यस माण्डुमा चाँदीका रुपियाँ, सुनका सिक्का, गहना, हातहतियार (तरबार, बन्दुक आदि) खुला राखिएका छन् । जसलाई जे-जति रुपियाँ चाहिन्छ, भनौँ व्यापारका लागि त्यो लिनका लागि ऊ एउटा बली (प्रायशः बोको) लिएर आउँछ, हृलाँगोलाई पशु बली चढाएर आफूलाई चाहिने रकम लिन्छ । आफ्नो काम बनेपछि ऊ आएर आफूले लगेको रकमको दोब्बर थानमा राख्छ, पूजा गर्छ र बलि चढाउँछ ।

हृलाँगोको कृपा भएपछि जस्तोसुकै कारागारबाट पनि निस्कन सकिन्छ भन्ने विश्वास स्थानीयहरूमा छ ।

सेती-महाकाली अञ्चलमा ‘घटाल’ कहलिने घटोत्कचलाई कर्णाली अञ्चलमा ‘ललिकोटे देउता’ भनिन्छ । धामीमार्फत् प्रकट हुने अर्थात् धामीमा उत्रिने यो देउताले न्यायाधीशको काम गर्छ- तारिख दिन्छ, साक्षी बुझ्छ र मुद्दा फैसलासमेत गर्छ ।

कर्णाली अञ्चलमा धानको बीउ ल्याउने सिद्धचन्दननाथ र अर्का सन्त भैरवनाथ कश्मीरबाट कैलाश मानसरोबर हुँदै हिल्साबाट नेपाल पसेका हुन् । यी दुई सन्तको मन्दिर छिप्रा गा.वि.स.मा छ । कसैमा पनि के भ्रम नरहोस् भने हुम्ला यी सन्तहरूको हो । मन्दिर त भगवान् शिवको हो जसको निर्माण र प्राणप्रतिष्ठा यी दुई सन्तले गरे ।

भगवान् शिव र उनका गणबाहेक अन्य देवतालाई कर्णालीवासीले चिन्दैनन् भने हुन्छ तर यसो भन्दैमा जुम्लाका खस राजा-महाराजाहरूले आफ्नो वंशमा कुलदेवता र इष्टदेवतासँग अपरिचित थिए भन्न मिल्दै मिल्दैन । डोल्पाको कनकसुन्दरी मन्दिर, त्रिपुरसुन्दरी मन्दिर, बालात्रिपुरसुन्दरी मन्दिर खस मल्ल राजाहरूले नै स्थापना गरेका हुन् ।

‘संवत् २०४७ जेठको आखिरतिर म’ खप्तड स्वामीजीको दर्शन गर्न खप्तड नै पुगेथेँ । उहाँले मलाई डेढ घण्टा समय दिनुभएथ्यो (साधनारत योगीहरू हरदम ध्यानमा निमग्न रहन चाहन्छन्) । प्रसङ्गवश उहाँले के बताउनुभएको थियो भने उहाँ संवत् १९९० सालतिर त्रिपुरासुन्दरी मन्दिरमा ध्यान गरिरहँदा साँझ आरती हुँदा मन्दिरमा घण्टहरू आफैँ बज्ने गर्दथे ।

बागडोल, ललितपुर

मधुपर्क २०६८ साउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *