मेरो मन, मेरै अवयव,
अनियन्त्रित घोडा जस्तो
बशमा छैन मेरो ।
अटेरी मन
कसैको सुन्दैन ।
बाँध्न सक्दिन ।
जित्न सक्दिन म ।
आफूले चाहे जस्तै
जतासुकै जान खोज्छ,
परिपाटीहरूको साँध भत्काएर
निर्बाध, निर्भय ।
न कुनै आशँका, न सँकोच
आफ्नै मनखुशी स्वतन्त्र बाँच्न खोज्छ ।
संस्कारको डरमा अल्मल्याई
उसलाई डोर्याउन खोज्छु
सँधै पराजित गर्दै अधिकारपूर्वक ऊ
सीमाहीन अन्ततिर
विवश मलाई नै डोर्याउँछ ।
म दिन भन्छु, ऊ रात भन्छ,
म हाँस्न खोज्छु, ऊ रुन्छ,
म भीडको साथ खोज्छु,
थुप्रै अपजसहरू मलाई थोपरेर
मन एक्लो चुपचाप निर्दोष बनेर
पर क्षितिजतिर रातो घाम हेर्दै तरङ्गिन्छ ।
मभित्र मन छ, म बुझ्छु
मनभित्र तर, शायद म छैन
मलाई बुझ्दैन, मन सुन्दैन पनि मेरो ।
मनभित्र त केवल
ऊ आफू मात्र
अनियन्त्रित,
निरँकुश
मन आफू मात्र … ।
शुषमा मानन्धर
ल.पु. कुमारीपाटी
