Skip to content


किन डुब्दैन यो घाम
किन कट्दैन यो रात
विछोड्को वारेन्ट-पत्र बोकेर
म समयसँग सोध्दै छु
मिलनको दोबाटोतिर
किन घुम्दैन यो पृथ्वी ?
समुद्र प्यासी छ
पिएर ममा प्यास अझ बढेको छ
आकाश उदासी छ
हेरेर ममा उदास अझ बढेको छ ।
थिचिन्छु, दिनरात थिचिन्छु
अनिच्छाका पहाडहरूले
पिसिन्छु, पलपल पिसिन्छु
आकाङ्क्षाका खलहरूले
मायाका मल्हम बनेका सपनाहरू सम्झँदै
सोच्छु-
किन उठ्दैन रक्की पर्वतको टुप्पो
सगरमाथा छुनलाई
किन घट्दैन समुद्रको आयतन
गण्डकी-कर्णाली हुनलाई ?
शोक धुन सुसेली बसेका म्याप्पलका पातहरू
किन सालका पातझैँ हाँस्न सक्दैनन्
धुरीमा चढेर कौडे भालेहरू
किन बिहान बोलाउँदै बास्न सक्दैनन् ?
सिसाको भाँडोमा बन्दी जीवन
सङ्गीतमय मृत्युको पर्खाइमा बसेको छ
छानामुनि तुन्द्रुङ्ग झुण्डिएका हिँउ-लहराजस्तै
मन बेवारिस बनेको छ ।
कसैलाई हिउँले पोल्छ
कसैलाई उज्यालोले डस्छ
समय सिक्काका दुई पाटा
कसैका लागि सुखद मिलन
कसैका लागि दुःखद विछोड !
तारादेवीको आवाजजस्तै
सोचेजस्तो हुन्न जीवन
सम्झेजस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ
खोजेजस्तो हुन्न जीवन ।

-बोस्टन, अमेरिका

मधुपर्क २०६८ साउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *