Skip to content


सुन्दैनन् सर्पहरू
अक्षरसङ्गीत
पछ्याउँदैन समय मञ्जिल
हुन्छन् औँलाबिहीन
आँखाको हतास
पुछ्दैनन् सर्पहरू
हुन्छन् गिदीविहीन
च्यातिने भुइँ-पुल
जोड्दैनन् सर्पहरू
बोक्छन् करेत तिर्सना
तर्सन्छन् तातोसँग
बुझ्दैनन् रत्ति
भावका भङ्गीहरू
मात्र
पुच्छर तानावाजीको
खेल खेल्छन् सर्पहरू
अलिकति गुडुल्किन्छन् हरर
अलिकति चिप्लन्छन् गनगुहालीहरू
नेपथ्यको सेयरमोलबाट
खस्तछन् अलिकति
चश्माको रङ्िगन मोहमा
फँस्तछन् अलिकति
बेपर्वाह याममा
भरोसाको वर्षात् पर्खिएर
कविताको रोपाईंमा
रोप्दैथिए डोडियाहरू
कुराको हिलोमा
बाँउसे गरिरहने आदिम गोमनहरू
ओवामा बन्छन् अचेल
व्यर्थ
अजिङ्गरलाई चढाएर श्रीपेच
लेख्दिन सर्पहरूको कविता म ।
लेख्छु !
माटो गोड्ने गाड्यौँलाहरू
ज्योति थप्ने जुनकीरीहरू
लेख्छु !
साज प्रकृतिका
बादल र मेघदूतहरू
बरु,
बुझपचाएर रित्याउँन
आसयको सागर
चिथोरुन् शब्दहरू
नसुनुन् कविता सर्पहरू
चेतको पर्दा सारेर
श्रावणको आस्था
नाग टाँस्दिन दैलोमा
व्यर्थ
लामकिराहरूलाई जताएर सलाम
लेख्दिन सर्पहरूको कविता म ।

-विराटनगर

मधुपर्क २०६८ साउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *