लिच्छविकालमा चलेका शकसंवत् र मानदेवसंवत्

  • by


वि.सं. १९३७ मा भारतको गुजरातका भगवानलाल इन्द्रजीले नेपालका २३ वटा अभिलेख छापेर नेपालका अभिलेख छाप्ने कामको प्रारम्भ गरे । ती २३ वटा अभिलेखमा १५ वटा अभिलेख लिच्छविकालका तथा ८ वटा अभिलेख मल्लकाल र शाहकालका थिए । ती अभिलेखमा भगवानलालले शतस्थानीबाट सुरु भएका र दशस्थानीबाट सुरु भएका दुईथरी संवत् देखे तर ती संवत्मा विशेषण लगाइएका थिएनन् । भगवानलालले शतस्थानीबाट सुरु भएका अर्थात् मानदेवको पालादेखिका संवत्लाई पहिलो संवत् र दशस्थानीबाट सुरु भएका अर्थात् अंशुवर्माको पालादेखिका संवत्लाई दोस्रो संवत् माने । भगवानलालले पहिलो संवत्लाई विक्रमसंवत् तथा दोस्रो संवत्लाई वि.सं. ६६३ देखि चलेको हर्षसंवत् भनी निर्णय गरे । जोन फेथफुल फ्लीटले पहिलो संवत्लाई वि.सं. ३७६ देखि चलेको गुप्तसंवत् र दोस्रो संवत्लाई वि.सं. ६६२ देखि चलेको हर्षसंवत् भनी निर्णय गरे । सिल्भाँ लेभीले पहिलो संवत्लाई वि.सं. १६७ देखि चलेको लिच्छविसंवत्् र दोस्रो संवत्लाई वि.सं. ६५२ देखि चलेको भोटेसंवत् भन्ने निर्णय गरे । रमेशचन्द्र मजुमदारले दोस्रो संवत्लाई वि.सं. ६३५ देखि चलेको संवत् भनी निर्णय गरे । हितनारायण झाले दोस्रो संवत्लाई वि.सं. ६३१ देखि चलेको अंशुवर्मासंवत् भनी निर्णय गरे । बालचन्द्र शर्माले दोस्रो संवत्लाई वि.सं. ६२८ देखि चलेको ठकुरीसंवत् भनी निर्णय गरे । के.जी. शङ्करले पहिलो संवत्लाई वि.सं. ९१ देखि चलेको संवत् र दोस्रो संवत्लाई वि.सं. ५९५ देखि चलेको यशोधर्मसंवत् भनी निर्णय गरे । शङ्करमान राजवंशीले पहिलो संवत्लाई वि.सं. ११३ देखि चलेको लिच्छविसंवत् र दोस्रो संवत्लाई वि.सं. ६०९ देखि चलेको अंशुवर्मासंवत् भनी निर्णय गरे । श्यामसुन्दर राजवंशीले लिच्छविकालमा दुईटा संवत् चलेका थिएनन् र अभिलेखमा प्रयुक्त संवत् वि.सं. १३३ देखि चलेको हो भन्ने मत निकाले ।

यी निर्णयमध्ये कुनैमा गणितको दृष्टिबाट, कुनैमा इतिहासको दृष्टिबाट, कुनैमा गणित तथा इतिहास दुवैको दृष्टिबाट दोष देखिन आए । यसका साथै कल्पना गरिएका केही संवत् कतै चलेको उल्लेख पनि पाइएन र यी मत अमान्य ठहरिए ।

श्री ३ महाराज भीमशमशेरलाई तन्त्रसम्बन्धी पुस्तकको सङ्ग्रह गर्ने सोख थियो । त्यसै प्रसङ्गमा उनको सङ्ग्रहमा सुमतितन्त्रनामक पुस्तक पनि आयो । आफ्नो सङ्ग्रहका केही पुस्तक वीर पुस्तकालयमा दिने प्रसङ्गमा सुमतितन्त्रनामक ज्यौतिषग्रन्थ पनि त्यहाँ आयो । गणितको आधारमा नेपाल खाल्डोमा बनेको भनी ठहरिएको त्यस पुस्तकको आधारमा लिच्छविकालमा चलेका संवत्मध्ये पहिलो संवत् वि.सं. १३५ देखि चलेको शकसंवत् र दोस्रो संवत् वि.सं. ६३३ देखि चलेको मानदेवसंवत् भनी निर्णय हुन आयो । यस निर्णयमा पारिजात हरिवंशको पुष्पिकावाक्य, जातकज्याको पुष्पिकावाक्य आदिबाट बल मिल्यो । यसमा तिब्बतका स-सक्य-पान-चेन (वि.सं. १२३९-१३०८) को वाक्यबाट थप बल मिल्यो । करिब सय वर्षको अनवरत अनुसन्धानपछि मात्र यो निर्णय हुन सकेको हो । सुमतितन्त्रको आधारमा गरिएको निर्णय गणित तथा इतिहास दुवैको दृष्टिबाट प्रामाणिक ठहरिएको छ र शकसंवत् तथा मानदेवसंवत् दुवै काल्पनिक संवत् पनि होइनन् । यसले अभिलेखको आधारमा हाम्रो देशको पहिलो प्रामाणिककाल ठहरिएको लिच्छविकालको इतिहासमा ठूलो प्रकाश पर्‍यो र यस कामले वेदाङ्गज्यौतिषको अर्थ गर्ने काममा पनि नयाँ फड्को मार्‍यो । यस्तो भए तापनि यस्तो प्रामाणिक कुरामा पनि भ्रम फैलाउने काम अहिले पनि भइरहेको छ । स्थापना भएको ६० वर्ष बितिसक्दा पनि नेपालका पुरातात्विक सम्पदाहरूको संरक्षणमा अपेक्षा अनुसारको काम गर्न नसकेको नेपाल सरकार पुरातत्व विभागद्वारा लिच्छविकालमा चलेका संवत्को विषयमा भ्रम फैलाउने काम भइरहेको छ । यसको टड्कारो नमूनाको रूपमा पुरातत्व विभागको मुखपत्र प्राचीन नेपालको १७५ सङ्ख्यामा छापिएको प्राचीनसंवत्को सन्दर्भमा अभिव्यक्त भएका मतहरूनामक लेखलाई देखाउन सकिन्छ ।

शनिबार, गोरखापत्र
भाद्र १७, २०६८

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *