Skip to content


सूर्य सुवेदीका ३० वटा कथाको सङ्ग्रह ‘सूर्य सुवेदीका कथाहरू’ भर्खरै प्रकाशित भएको छ । प्रस्तुत सङ्ग्रहका कथाहरू विषयवस्तुका दृष्टिले विविधता युक्त छन् । खासगरी पूर्वी नेपालको पहाडी जनजीवनका विविध सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक पक्षहरूलाई ग्रहण गरी स्थानीयता र आञ्चलिकताको मनग्गे स्वादसमेत कथामा आस्वाद्य बनेर आएका छन् । ‘तीज’, ‘रतेली’, ‘रौनक नभएको दसैं’, ‘देउराली’ र ‘एकतारे साधु’जस्ता कथामा नेपाली संस्कृतिका विविध पक्षहरूलाई प्रस्तुत गरिएको छ । ‘रिट्ठे झाँक्री’ शीर्षकको कथामा सामाजिक अन्धविश्वास तथा रुढीवादका कारण अझै पनि नेपाली समाजले आधुनिकता र वैज्ञानिकतालाई अङ्गीकार गर्न नसकेको अवस्थाको यथार्थ चित्रण गरिएको छ । गरिबीका कारण कष्टकर जीवन भोग्न बाध्य नेपालीहरूको दयनीय अवस्थाको चित्रण गरिएका ‘ढाक्रे’, ‘आरन’, ‘खेतालो’, ‘थाप्लामा नाम्लाको भन्ज्याङ्’ जस्ता कथाहरू निकै मार्मिक छन् । यी कथामा गरिबी र अभावसाग जुध्न निरन्तर क्रियाशील निम्नवर्गीय नेपालीहरूको कर्मयोगी प्रवृत्तिको चित्रण गरिएको छ । सङ्ग्रहका अधिकांश कथाहरू कोसी अञ्चलको, तेह्रथुम जिल्लाकै सेरोफेरोमा घुमेका छन् भने ‘बौलाही मन्जु’ जस्ता एकाध कथाहरू काठमाडौँको परिवेशसम्म आइपुगेका छन् । आकारका दृष्टिले सङ्ग्रहभित्रका प्रायः सबै कथा छोटा छरिता छन् । बढीमा चार पृष्ठको आयतन लिएका सुवेदीका कथामा थोरै पात्रहरूको प्रयोग गरिएको छ । ‘ठुल्दिदीको लाली गाई’ शीर्षकको कथामा मानिस र पशुका बीचको उच्चतम र आदर्श प्रेमको नमुना प्रस्तुत गरिएको छ । ‘मगन्ते’, ‘त्रिशूल बाबा’, ‘एकतारे साधु’ जस्ता कथामा कर्मविरत पात्रहरूको जीवनका विविध पक्षलाई उद्घाटित गरिएको छ । ‘खाते’ शीर्षकको कथामा विभिन्न कारणले खाते बन्न पुगेका बालपात्रहरूको दयनीय जीवनको चित्रण गरिएको छ ।

समाजका विविध पक्षहरूमाथि प्रकाश पार्ने उद्देश्यले रचना गरिएका सुवेदीका कथामा पूर्वेली भाषिकाको प्रयोग भएको छ । सरल, सङ्क्षिप्त र सुवोध्य भाषाको प्रयोग गरिएका कारण कथाहरू आस्वाद्य बनेका छन् । कतिपय कथा व्यङ्ग्यात्मक छन् । ‘पुतली नाच’ शीर्षकको कथामा कुसुलेले पुतली नचाएको रमाइलोको वर्णन गर्दै नेपाली राजनीतिका क्षेत्रमा मौलाएको कठपुतलीपनप्रति व्यङ्ग्य गरिएको छ । धन सम्पत्तिका लागि आफन्तकै गला रेट्न पछि नपर्ने मानिसहरूप्रति ‘निसाफ’ कथामार्फत व्यङ्ग्य गरिएको छ ।

‘सूर्य सुवेदीका कथाहरू’ भित्र पाठकका आाखाका कसिङ्गर बन्न सक्ने केही कमीकमजोरी पनि अवश्य छन् । पूर्वेली भाषिकाका कतिपय शब्दहरू आम पाठकका लागि अरुचिकर लाग्न सक्छन् । रहलपहल वर्णविन्यासगत त्रुटिहरूले पाठकलाई झिँज्याउन सक्छन् । केही कथाहरूमा एउटै खालको विषयवस्तु र वर्णनशैली भेटिने हुँदा उही कथा दोहोरिएको हो कि भन्ने भान पर्दछ । ‘आरन’ र ‘त्यै रक्सी झोलले गर्दा हो’ शीर्षकका दुई कथाभित्र कतिपय प्रसङ्गहरू ठ्याम्मै मिल्ने खालका रहेका छन् । ‘तीज’ कथामा ‘पन्ध्र दिन अघिदेखि तीज मान्न आउने छोरीहरू उषा र उमासँगै आउने पाहुनाहरू’ भनिएको छ तर सामान्यतया तीजमा छोरीचेली लिन माइतीहरू नै जाने चलन छ, तीजका चेलीसाग अरू पाहुना आउने चलन छैन ।

सारांशमा २०६० पछि मात्र कथा विधामा कलम चलाउने सूर्य सुवेदीमा कुशल कथाकार बन्न सक्ने सम्भावना देखिन्छ । कथा छोटा छन् । पढौँ पढौँ लाग्दालाग्दै सकिने धेरै राम्रा कथा र छोडौँ कि लाग्दालाग्दै सकिने केही औसत कथाहरूको यो सङ्ग्रह नेपाली कथा साहित्य भण्डारमा थपिएको छ ।

शनिबार, गोरखापत्र
भाद्र १७, २०६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *