Skip to content


ए बैनी तिम्रो जोवन ढल्यो परदेशमा पसेर
घरमा तिम्रा बाउआमा रुन्छन् डिलमा बसेर
फर्कन फर्क नबस मुग्लान सुन्दैछु नराम्रो
परिवार साथमा बसेर बाचौं चाहना छ हाम्रो (१)

न भनी गयौ परदेश जान्छु न खबर पठायौ
भनेर भन्छन् बुढा बा आमा साह्रै नै सतायौ
खान र लाउन पुगेकै थियो मेला र पातले
यो छाती बैनी फुटे झैँ दुख्छ शत्रुको बातले (२)

छन् अरे त्यहाँ फोनै फोन मायाँजाल हुर्काउने
सुन्दरी काली भनेर तिम्रो बैंसलाई फुर्काउने
शेखको घर काँ हो काँ पर त्यो मरुभूमिमा
गरेर काम छैन कि माम बस्यौ कि रुनिमा (३)

रातभरि तिम्रो फोनले भन्छ नसुती बोलेको
त्यसैले बैनी यो मुटु आज साह्रै छ पोलेको
यो सन्देश पाऊ फर्केर आऊ जे परे म गर्छु
ज्यान दिनपरे तिम्रा लागि भो बरु मै मर्छु (४)

मनको चाह छ र पो कहाँ धेरैदिन बच्नको
परदेश बसेर न अर्थ हुन्छ जीवन रच्नको
भनेर तिम्रा बाउआमा रुन्छन् पिंढीमा बसेर
एकबारको जुनी मरे नि भयो के अर्थ बचेर (५)

बुढेसकाल पियाउने पानी छ भन्थे छोरी त
हिजाज उनका आँखामा आँशु बलेनी सरी छ
न धन तिमी कमाई घरमा दुई पैसा पठायौ
न घरमा बसी बाउआमालाई सुख नै कटायौ (६)

जन्माई तिमीलाई बढाई पढाई चौरास गरेर
एक शब्द पनि नसोधी आयौ विदेश सरेर
यी दिनलाई सन्चै छ यहाँ पिर चिन्ता नगरे
सम्झेर आउ यो तिम्रो गाउँ लौ आँशु न छरे (७)

पाटी र पौवा चौतारीभरि गुनगुन गर्दछन्
गाउले सारा त्यै त हो पारा समुद्र तर्दछ्न्
ए प्यारी बैनी एक फेर सोच नफर्के रिसाउँछु
अन्तिम खेरि दुई हात जोडी बिन्ती बिसाउँछु (८)

मनोज काफ्ले मनसुन
रचना १४ भाद्र २०६८

2 thoughts on “फर्क अब”

Leave a Reply

Your email address will not be published. Required fields are marked *