अब तिमी नआऊ
तिमी न आएकै जाती
मेरो क्षितिज रग्ताम्य पार्न
मेरो आँगन मसानघाट बनाउन
तिमी अब दोहोर्याएर नआऊ
कहिले बम बारुद बन्यौ
कहिले आतंक रात बन्यौ
कहिले ज्वालामुखी बनी जलायौ
त कहिले रगतका आहालमा
चुर्लुम्म डुबायौ
बबण्डरको हुरीहुण्डरी बनी
मेरो सुन्दर घरसंसार उडायौ
विस्फोटका ती छिटाले
आज पनि पोल्दैछ
त्यसैले तिमी नआऊ
आज तिनै मर्महात
मेरा यी आँतमा
सहमतीका मल्हम लागेकोछ
भत्किएका मेरा पिढीं
हस्ताक्षरले लिपिएकोछ
चुडिएका मेरा सन्तानहरू
हातेमालोको साङलोले कस्सिएको छ
छट्पटिएका मनहरूमा
शितल महशुस गर्दैछु
केही राहत अनुभव गर्दैछु
स्वयम्भुका आँखाहरूबाट
निस्किएका ज्योतीर्मय किरण
आज म मा सल्बलाउँदैछ
सायद मेरा विगतका पीडाहरू
विस्तारै पलायन हुदैछ
मेरा भाँचिएका खुट्टाहरूमा
बैशाखी चढेको छ
सुस्त सुस्त म हिड्न थालेको छु
त्यसैले मेरो यो खुसीको क्षण
प्रलय बनी खोस्न नआऊ
किनकि तिमी ईतिहास भयौ
वर्तमान बन्ने धृष्टता नगर
साँच्चै अब तिमी नआऊ
दोहोर्याएर कदापि नआऊ
राजेश रुम्बा लामा “अतृप्त”
बिरेन्द्रनगर-१ चितवन
हाल:कतार
