Skip to content

नेपाल प्रज्ञा प्रतिष्ठान र सिर्जनामझेरी प्रतिष्ठानको संयूक्त कार्यक्रम सम्पन्न

  • by
20120103_SurajGiri_News-01


नेपाल प्रज्ञा प्रतिष्ठान र सिर्जनामझेरी प्रतिष्ठानको संयूक्त कार्यक्रम सम्पन्न

“मातृभाषाप्रति प्राज्ञिक क्षेत्रको भूमिका” विषयक गोष्ठी तथा विविध मातृभाषामा कवि गोष्ठी सम्बन्धि कार्यपत्र प्रस्तुति

कावासोती (नवलपरासी) २०६८ पौष ०९ र १०

नेपाल प्रज्ञा प्रतिष्ठान र सिर्जना मझेरी प्रतिष्ठानको आयोजनामा भएको मातृभाषाप्रति प्राज्ञिक क्षेत्रको भूमिका तथा १ दर्जनजति मातृभाषामा कवि गोष्ठीको साहित्यिक दृश्य २ दिनसम्म छाइरह्यो । यही पौष ९ गतेको पहिलो दिन नेपालको मध्यभागमा अवस्थित नवलपरासी जिल्लाको शिवमन्दिर (कावासोती) को गाविसको सभा कक्षामा नेपाल प्रज्ञा प्रतिष्ठान तथा मातृभाषा विभागकी प्रमुख सुलोचना मानन्धरले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रमको पहिलो सत्रमा सिर्जना मझेरी प्रष्ठिान नवलपरासीका अध्यक्ष श्रीरामहरि शर्मा गैरेज्युको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार कृष्णादेवी शर्मा श्रेष्ठले स्वागत मन्तव्यबाट कार्यक्रम प्रारम्भ गरिएको थियो ।


यस २ दिने कार्यक्रममा विशेष गरी हाम्रा वरिष्ठ वरिष्ठ साहित्यकारहरू, साहित्यप्रेमी रसिक, र १ दर्जनभन्दा बढी संघ संस्थाबाट प्रतिनिधित्व समेत भएको थियो । जसमा विभिन्न सांस्कृतिक समुदायले आफ्नो पहिचानसहितको भेषभुषामा उपस्थित देखिन्थे । अनलाईन प्रोग्राममार्फत सम्प्रेषण गर्नका लागि विश्व नेपाली साहित्य महासंघ साउदी अरेवीया शाखा र विप्लव साहित्य प्रतिष्ठान सक्रिय रहेका थिए । २ दिनसम्म चलेको विचार गोष्ठी तथा कवि गोष्ठीमा पाल्पा, चितवन र नवलपरासी लगायतका साहित्यकार तथा कविहरूको उपस्थिति थियो ।

उक्त पहिलो दिनको कार्यक्रममा विभिन्न मातृभाषाका कविहरूमा गायत्री बिष्ट, मेदिनी कुमार केवल, यादव थपलिया, रमेश यादव, खगीसरा गुरुङ्ग, सिरमला तामाङ, हरिकला पाण्डे, ईन्द्रकुमार पाण्डे, हिमा आले, नन्दकुमार दुरौ, खिम बहादुर सुनार, भगवती पाण्डे, सतिस राई, विष्णु लामिछाने, दिपक सोती, उद्योग बहादुर श्रेष्ठ, लक्ष्मी पाण्डे, लिला राना, गोर्खे साइलो, भुपेन्द्र गण्डऋषि, सदानन्द अभागी, लगायतका कवि कवियत्रिहरूले थारु, अवधी, तामाङ्ग, भोजपुरी, नेवारी, गुरुङ्ग र नेपाली भाषाका १ दर्जन मातृभाषाको कविता वाचन गर्नुभएको थियो भने शुभकामना मन्तव्य र कविता बाचनमा नारी साहित्यकार लिला राना ज्यूले जातजातिको भाषा हराउनु भनेको जातित्व पहिचान हराउनु हो भन्दै विभिन्न भाषाका साहित्यहरू र तिनका लिपीहरूलाई नेपाल प्रज्ञा प्रतिष्ठानले संरक्षण गरेर भोलिका पुस्ताका लागि प्राज्ञहरूले सम्बन्धित साहित्यको चेतना दिनु आवश्यक छ भनी प्रष्ट्याउदै आफ्ना भाषामा नारीप्रतिको वेदना पोख्दै कविता वाचन गर्नु भएको थियो ।

अनलाईन मार्फत साहित्यको जगेर्ना गर्न तल्लीन संघसंस्थाहरू मध्ये विश्व नेपाली साहित्य महासंघ साउदी अरेवीया शाखाको प्रतिनिधित्व गर्दै प्रमुख सल्लाहाकार सुरज गिरी (हुमा)ले नेपाल भित्रका जाति जनजातिहरूको भाषा सहित्यको जगेर्ना संगसंगै छरपष्ट छरिएर विदेशमा रहने अनेक जातजातिका भाषाभाषी र उनीहरूको मनको आवाज, देशप्रतिको प्रेमले आफ्नो भाषा र संस्कृतिलाई विदेशमा बस्ने नेपालीहरूले संरक्षण र सम्बद्र्धन गर्दै आफ्नो पहिचान जोगाउन सफल भएका छन् । मातृभाषाको संरक्षणको लागि विदेशी भूमिमा रहेर पनि साहित्यमा तल्लीन यस विश्व नेपाली साहित्य महासंघ साउदी अरेवीया शाखाका संचालक तथा केन्द्रीय पार्षद श्री सागर श्रेष्ठ र प्रवासी नेपालीका अध्यक्ष श्री खगेन्द्र अधिकारी अमृत लगायतका सम्पूर्ण समितिका कृति र सक्रिय योगदानको चर्चा गर्नुभएको थियो । हरेक वर्षको लक्ष्मी जयन्ती, भानुजयन्तीको अवसर पारेर नेपाली संस्कृतिको जर्गेना र तिनको विकासको साथसाथै अनलाईन सहित्यप्रेमीहरूका लेख, रचना र गीत, कवितालाई प्रमुख स्थान दिदै आएको र पुरस्कृत समेत गर्ने परम्परा बसाल्दै लगेको कुरा स्मरण गराइएको थियो । संस्थाको गतिविधीको जानकारी गराउँदै आगामी दिनमा यसबारे सबै संघ संस्थाको ध्यानाकर्षण हुनु पर्ने विचार व्यक्त गर्नुभएको थियो । यदी कसैका लुकेका भावनाहरू लेख, अभिलेख, गीत, गजल, कविता भए http://www.prabasinepali.com मार्फत info@prabasinepali.com मा पठाउनु हुन अनुरोध समेत गर्नुभएको थियो भने आफ्नो मिठो गजल प्रस्तुत गरी कार्यक्रमलाई मिठास भर्नु भएको थियो ।

त्यस्तै विप्लव साहित्य प्रतिष्ठानका अनलाइन संचालक श्री गोर्खे साइलाले पनि अनलाईन मार्फत नेपाली साहित्यको जगेर्ना गर्न यस प्रतिष्ठानले खेलेको महत्वपूर्ण भूमिकाका बारेमा चर्चा गर्दे व्यङ्ग्य गजल मार्फत सबैको मनलाई हर्षोल्लित गराउनु भएको थियो ।

दोश्रो दिनको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सुलोचना मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा मातृभाषाप्रति प्राज्ञिक क्षेत्रको भूमिका विषयक कार्यपत्र साहित्यकार मेदिनीकुमार केवलले प्रस्तुत गर्नु भएको थियो । यसैगरी प्रस्तुत कार्यपत्रमाथि साहित्यकार गायत्री विष्टले आफ्नो सटिक टिप्पणी सहितको राय दिनुभएको थियो । यस दिनको कार्यक्रममा वृद्ध, वरिष्ठ र कनिष्ठ साहित्यकारहरूको विशेष उपस्थिति रहेको थियो । कवि गोष्ठीमा साहित्यकार गोविन्दराज विनोदी, रेवती सारु, चोक बहादुर पाइजा, हेमलाल चापागाईं, जीवन सापकोटा (युगीन), रामहरि शर्मा, प्रेम विनोद नन्दन, तारा थनेत, कमला गुरुङ्ग, दीपक कुमाल, खगीश्वरा गुरुङ्ग, हरिहर सविता, माधव गौतम, अमित कुमार र बालकवि नवीन भुषालले आ–आफ्ना मातृभाषामा कविता वाचन गर्नुभएको थियो ।

प्राज्ञ सुलोचना मानन्धरले धन्यवाद तथा कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै यस्ता कार्यक्रमबाट साहित्यकारहरू, सिङ्गो नेपाली साहित्य र नेपाली समाज नै परिवर्तन हुने आधार हो भन्नुभयो । मन्तव्यकै क्रममा प्रमुख अतिथि मानन्धरले विविध मातृभाषाका कविताहरूमा देश, समाज, शासन र द्वन्द्वप्रति चिन्ता गरेको भावना पोख्दै समाजको रुपान्तरणमा लागिएको पाइएको छ । यस्तै नयाँ भावना नयाँ कवि तथा साहित्यकारको अनुहार देख्न पाएकोमा खुसी प्रकट गर्नुभएको थियो । विभिन्न माध्यमबाट साहित्यको जगेर्ना गर्ने संघसंस्थाका उपस्थित प्रतिनिधिलाई धन्यवाद दिनुभएको थियो भने विविध मातृभाषाका लागि आफुले भ्याएसम्म लागिपर्ने कुरामा जोड दिने कुरामा जोड दिनुभएको थियो । यसरी दुइ दिनसम्म चलेको सो साहित्यिक कार्यक्रमको सञ्चालन सिर्जना मझेरी प्रतिष्ठानकी सचिव लक्ष्मी पाण्डेले गर्नुभएको थियो ।

सुरज गिरी
शिवमन्दिर–२, नवलपरासी


Leave a Reply

Your email address will not be published. Required fields are marked *