“कस्तो छ अहिले?” सुशीलाले स्नेहपूर्ण हातले जस्मिनको टाउको सुमसुम्याई।

“उस्तै हो, खासै प्रगति छैन। रातभरि निद्रा परेन, अहिले खाना खाएपछि एकछिन झकाएँछु।” जस्मिनले आँखा मिच्दै उठेर सिरानीको आडेस लागी।

“डाक्टरको रिपोर्टले के भन्छ?”

“के डाक्टरको रिपोर्ट भन्छेस्, के के मात्रैको जाँच गर्ने? प्रेसरले गर्दा मुटुको दुईवटा भल्बमा ब्लड जमेको छ रे…।”

उसका वाक्य पूरा नहुँदै सुशीला अत्तालिई। उसलाई कताकता लाग्यो, जस्मिन अब जीवनको अन्तिम क्ष्ाण गुजार्दै छ। थपी, “घट्नुभन्दा झनै रोगहरू थपिँदै गए है? यो त झन् डेन्जर भयो !”

“के डेन्जर भन्छेस्, यसअघि नै मेरो मुटुका सबै भल्ब ब्लक भइसकेका थिए। तर, चिकित्सकीय रूपमा म त्यसभन्दा टाढा नै रहेछु।” जस्मिनको अनुहारमा सीमान्त निरासा देखिन्थ्यो। महिलाजन्य रोग, पत्थरीलगायत समस्याले उसको शरीर धेरैपटक उधार्दै सिलाउँदै गरिएको थियो। पछिल्लोपटक खुट्टाको समस्याबाट अस्पताल भर्ना भएकी थिई। भर्नापछि नै धेरै संक्रमण देखियो…। सुगर, प्रेसर, युरकि एसिड…।

बाल्यकालदेखि अहिलेसम्म जस्मिनले भोगेका सुख र दु:खका पूर्वस्मृतिमा फर्किई सुशीला। एउटी आत्मनिर्भर, स्वाभिमानी, निडर, कर्मशील… यस्तै र यस्तै अन्य थुप्रै विशेषण उसको नाममा जोडिन्थ्ो। सायद अहिले पनि। तर, उसलाई थाहा छ, यी सब स्वार्थमिश्रित परचियका पगरी हुन्।

“…नातागोता, इष्टमित्र, साथीसँगाति सब भ्रम। सर्दोका आफ्ना असर्दोका पराई। पराई मात्रै होइन, अवसरवादी। मौरीको रत्तिो घारमा मान्छेलेमह राखिदिएको थाहा छ तँलाई? उनीहरू घारबाट मह मात्रै झिक्न जान्छन्। माया-प्रेम, तेरो-मेरो सब भ्रम। मह पार्न छाडेपछि फेरि मौरीका अर्कै छिमल रूपान्तरित हुन्छन्।” परकिल्पना र यथार्थबीचको भिन्नता सायद अहिले अनुभूति भइरहेको छ जस्मिनलाई।

“के छैन र तँसँग? मान छ, सम्मान छ। सबैलाई आफ्नो बनाएकी छस्। सबैले मान्छन्। आदर गर्छन्। कदर गर्छन्। अनि, कसरी यसलाई भ्रम भन्छेस्?”

“एक समय थियो त्यस्तै। तैँले भनेजस्तै। तर आज ……? त्यसैले यी सब भ्रम हुन्। मेरो जीवन त भ्रमैभ्रमको चक्रब्युहमा रुमल्लिरहेछ। अनि, त्यही भ्रममा पनि जिउन खोज्ने मेरो प्रयास अर्को भ्रम ! तेरो जीवनजस्तो सत्य र यथार्थ होइन।” ल्यापटपमा खोल्दै उसले भनी।

“कसरी म यथार्थ भएँ? कसरी मेरो जीवन सत्य भयो? जहाँ पाइलापाइलामा सम्झौता गर्नुपर्छ, जहाँ सम्पूर्ण इच्छा-आकांक्षालाई सम्झौता गर्दै पतिदेवो भव: भन्नुपर्छ। एउटा अमूक भगवान्लाई सम्झिएर मार्नुपर्छ अनि आडम्बरी र ढोँगमा आफूचाहिँ धर्ती बनी उसैको लात्तीलाई सहर्षस्वीकार्नुपर्छ, हाँसीहाँसी। मेरो जीवनमा कहाँ फूल फुल्यो र कहिले फक्रियो? सुगन्ध त परै जाओस्…..!” उसले लामो निश्वास छाडी, त्यो निश्वासमा पीडान्त वेदना थियो। भनी, “तँ मलाई किन यसरी अपमान गर्दै छेस् ! नजिकको साथी भनी मैले कुनै पनि कुरा तँलाई लुकाइनँ। ठीकै छ, तैँले अहिले त्यसैको फाइदा उठाउँदै छेस्। आखिर तँ पनि त मान्छे नै होस्। खिसी गर्नुको पनि हद हुन्छ। यस्तो गर्छेस् भन्ने लागेको थिएन।” सुशीलाका आवाज यस्ता आक्रोश र सीमान्त पीडाहरू छल्किन्थे, मानौँ ऊसँगै सगरमाथा चढिरहेका छन्।

“तँ रसिाएकी? वास्तवमा मैले सही भनेकी हुँ। कसैको निर्देशन, मजबुत सुरक्ष्ााकवचभित्रको जीवन सामान्यतया कठोर लागे पनि अन्तत: त्यसको अनुभूति अत्यन्तै सुखद हुन्छ। न कसैको अपहरणमा पर्ने डर, न त दुर्घटनाको नै। ढुंगामा कुँदेको मूर्तिलाई अमूक भगवान् मानी पूजा गर्दा आनन्द आउँदैन र?” जस्मिन बोली।

यस्तो लाग्थ्यो, मानौँ दुई सँगीहरू अन्तरंग बहका भारीहरू खोलिरहेछन्। शब्दशब्दमा चोटहरू तिखारइिरहेको अनुभव हुन्थ्यो।

“यो कस्तो अचम्म ! पिञ्जडाभित्रको सुरक्षित चरालाई जंगलमै चहार्न मन लाग्छ। तर, यहाँ त जंगलको चरालाई पिँजडाको अनुभव लिन मन लाग्ने?” आक्रोशलाई सम्हाल्दै सुशीला जिज्ञासु बनी।

“मलाई अचेल नितान्त फरक अनुभूति हुन थालेको छ।”

“कस्तो फरक?”

“तँ आइमाई होस्। ”

“सही भनिस्। यसमा नौलो के नै अनुभूति भयो?”

“तर, मचाँहि…?”

“अनि… तँचाहिँ के? केटो मान्छे? …” अहिलेसम्मको आक्रोश र गम्भीर संवादलाई भंग गर्दै उसको हाँसोले कोठा नै उचाल्यो। हाँसोको त्यही गतिमा भनी, “होइन, तँलाई अर्को रोग पनि लाग्यो कि के हो? तेरा कुरा त अचम्मलाग्दा छन्। तँलाई अस्पताल सार्नुपर्‍यो कि जस्तो लाग्यो है मलाई त !” सुशीलाको हाँसो अझै थामिएको थिएन।

“म त बिजुलीको पोलमा अड्किएको चंगा। धागो चुडिँइसकेको छ। लठ्ठा बलियो छउञ्जेल सबैले उडाए। अड्किएको चंगा दिनहुँको घामपानीबाट मखिया परसिकेको छ। अब त्यसलाई कसले झिक्ने प्रयास गर्छ र? यो झिक्नुभन्दा बजारका नयाँ चंगा किन्नु सस्तो पर्छ।” जस्मिनको आँखा ल्यापटपकै स्िक्रनमा थिए। तर, ती आँखाका डिलमा आँसु टलपलाइरहेका थिए।

खङरंग भई सुशीला। शब्दशब्दको अर्थ लगाउन थाली। १९ वर्षमा प्रेमविवाह, २३ वर्षमा दुईवटा छोराछोरीसहित छोडपत्र, केही वर्षपछि दोस्रो विवाह….लगत्तै छोडपत्र। छोराछोरीलाई नागरकिता दिलाउन गरेको हारगुहार, उनीहरूको विवाह गर्ने बेला खेपेको हैरानी, अनि उसको नसा-नसामा उर्लिएको क्रान्तिकारी महिला अधिकारकर्मीको खरो रगत। आफू पीडित हुँदाहुँदै के गरनि र उसले? कसको बिग्रेको घर बसाइन? दाइजोका निहुँमा नीलडाम बसेका शरीरलाई मलम लगाइन कि? स्वास्नी कुटेर पुरुषार्थ देखाउनेको सेेखी झारनि कि? सासूहरूको बुहार्तनबाट बुहारीलाई उद्धार गरनि कि? महिला हकअधिकारका लागि छोराछोरीलाई काख र काँधमा बोकेरै रातबिरात हिँडिन कि ! तर, प्रतिफलमा प्राप्त केही कागजका खोस्टामाथि चाँदीको जलप लगाइएका अनगिन्ती सम्मान-पत्रबाहेक के पाई र ! अहिले त तिनैले उसको अपमान गरिरहेका छन्। तलाउमा ढुंगा हानेझैँ जस्मिनको विगतले सुशीलालाई तरंगित बनायो। उसको पीडामा मलम लगाउनेसान्त्वनाका कुनै शब्द नै थिएनन्। ऊ मौन बसी।

“तँ सबै किसिमका भूमिकामा खरो उत्रिएकी छस्। जुन सच्चा र निडर आइमाईले मात्रै पूरा गर्न सक्छन्। पत्नी, आमा, छोरी, बुहारी, गर्दागर्दै अहिले सासू…।” यत्तिका कुरा गर्दासम्म पनि जस्मिनका आँखा ल्यापटपबाट हटेका थिएनन्। सुशीला विस्तारै कुर्सीबाट उठेर ऊसँगै बेडमा बसी। जस्मिनले फेसबुकमा विभिन्न पोजका फोटो हेरिरहेकी थिई। ती फोटा परििचत थिए अर्थात् उसको पहिलो प्रेमीका। तर, ती हाँसिरहेका अनुहारले उसलाई कति असह्य पीडामा हिँडाए?

“सबै भएर पनि कोही छैनन् मेरा, भूमिका त सामान्य कुरा हो, कोही नभएर पनि एक्ली छैनस् तँ? किन फेरि यति साह्रो निराश?” सुशीला सान्त्वनाका शब्द फ्याँक्छे।

“यही भ्रमले त अहिले मलाई गलाएको छ। निचोरेको छ, थिचोरेको छ, गिजोलेको छ र गिज्याएको छ। मलाई सग्ली देखेकी छस् तैँले? म त क्ष्ातविक्षत भइसकेकी छु। टुक्रा-टुक्रा।” आँखालाई यथावत् पोजमा राख्दै जस्मिनले फेरि प्रसंग जोडी, “म त नाम मात्रकी आइमाई, असफल आइमाई…, धर्तीको बोझ। न सफल पत्नी बन्न सकेँ, न असल आमा?”

“छोराछोरी? तैँले के गरनिस् र तिनका लागि? समान व्यवहार गर्नुपर्छ भन्दै उनीहरूलाई छुट्टाछुट्टै घर बनाइदिएकी छस्, शिक्ष्ाा राम्रै दिएकी छस्। केमा सम्झौता गरसि् र तैँले? जस्तोसुकै अवस्थामा पनि उनीहरूलाई केही कुराको अभाव खड्किन दिइनस्।” सुशीला सम्झाउन खोज्छे।

“यही गल्ती भयो। आफूले दु:ख पाएकाले उनीहरूलाई दु:खको अनुभूति हुन दिइनँ, त्यसैले उनीहरू दु:ख र पीडालाई नचिन्ने भए।”

“तैँले अझै बिर्सेकी छैनस्?” ल्यापटपमा उसका आँखा झुन्डिएको देखेपछि सुशीलाको धैर्य टुट्यो।

“थिएँ। तर, तँलाई देखेपछि उसको याद आउँछ। म आफ्नो सुरक्ष्ााकवच खोज्छु। स्नेहको अँगालोसँग पतिले दिएको कमाइ थन्क्याउन दराजको सेफ खोज्छु। हरेक वर्ष आउने म्यारजि एनिभर्सरी र बर्थडेमा ल्याएका गिफट् सम्झिएर मख्ख पर्छु।पतिले ल्याइदिएका अनगिन्ती साडीको चाङमा उत्कृष्ट फेला पार्ने कोसिसमा छान्दै फाल्दै गर्छु ….केबल ल्यापटपमा ।” भक्कानिँदै ऊ भन्दै गइरहेकी थिई। चुपचाप सुशीला सुनिरही। जस्मिनलाई सम्पूर्ण रूपले सम्पन्न ठान्थी उसले। तर, ऊभित्र जीवनप्रतिका यति धेरै कुण्ठा छन् भन्ने त सोचेकै थिइन।

“…म आत्मनिर्भर अवश्य थिएँ तर आत्मसन्तुष्ट थिएन। म पूर्ण थिएँ तर त्यो पूर्णताको अनुभव कहिल्यै गर्न पाइनँ। किन कि म आइमाई हुँ। पतिको सुरक्ष्ााकवचको सधैँ अभाव खड्किरह्यो। एकान्तबासमा त्यो बढ्दै गयो। विछोडपछिको अभिशप्त खुसीलाई प्राप्त गर्ने क्रममा कैयौँपटक ठेस लाग्यो। पति, पत्नी र परिवारको वास्तविक अर्थ बुझ्नै लाग्दा म ती सबबाट टाढा भइसकेकी थिएँ। साँच्चै मेरो ऊप्रतिको प्रेम अथाह थियो। तँ त्यसलाई अन्धो भन् अर्थात् १६/१७ वर्षे जवानीको भेल। जे अर्थ लगाए पनि हुन्छ। तर, प्रेम त आखिर प्रेम नै हो नि !”

“आखिर त्यसलाई जीवन्तता दिन नचाहेको तँ आफैँले त हो नि…!”

“सायद, त्यतिबेलाको परििस्थति नै त्यस्तै थियो। काम र उपलब्धिले मलाई पाको बनाए पनि पारिवारकि जिम्मेवारी र कर्तव्यको परपिक्वता थिएन। आशान्वित परििस्थतिबिनाको सम्झौता गर्नबाट म चुकेँ।

बाल्यकालमा पाएको लाडप्रेमको रगत उम्लिइरहेको थियो मभित्र। त्यसपछि बिथोलिएको, धमिलिएको, खलबलिएको जीवनका क्ष्ाणहरू सङ्लिन सकेनन्। चोटैचोटको भकारी बुनी त्यहीँ आफ्ना पीडा थन्क्याउँदै गएँ। अनि, त्यसलाई ढाकिदिएँ छोराछोरी नामको माया र प्रेम अनि आत्मविश्वासले…। तर, सबै भ्रम ।”

निश्वास छोड्दै फेरि प्रसंग जोडी, “यो शय्यामा मसँग को नै हुन्छ र यो ल्यापटपबाहेक। कहिलेकाहीँ तँ आउछेस् र केही पल बिताउँछु। अन्यथा मेरो एक्लोपनले कहिलेकाहीँ त यो कोठाले नै तर्साएजस्तो लाग्छ।” सबै पीडा एकैपटक तँछाडमछाड गरेर मँडारिंदै जस्मिनको आँखाबाट बग्न थाले।

कुरो सही थियो। निकै दिनदेखि सुशीलाले अस्पतालमा उसलाई एक्लै देखेकी थिई। ख्याल गरनि। त्यो संयोग थियो भन्ने लागेकाले पनि होला। सधैँ कसैलाई नदेखेपछि खुसी हुन्थी एकान्तमा कुराकानी गर्नका लागि। भित्रभित्रै धन्य, कोही रहेनछन् भन्दै कोठामा छिर्थी। अनि, भेटघाटबाट नअघाईकन र्फकन्थी। वास्तवमा त्यो मीठो संयोग नभई तीतो यथार्थ रहेछ। भयानक एकाकीपनले उसलाई कसरी यत्तिको बनाइराखेको होला? हिजो नाम अगाडि अनेकथरीका विशेषण लाग्ने जस्मिन यही हो त?

अनेकौँ जिज्ञासाले सुशीलालाई थिच्दै लग्यो। उसका गहभरि आँसु भरिए। लाख कोसिस गरी तर पनि थाम्न सकिन। पीडा र भावनात्मक सम्बन्धको उर्लंदो भेललाई कसले छेक्न सक्थ्यो र? भक्कानो छुट्यो। दुवै आपसमा बाँधिए। घन्टौँ रोए। सान्त्वनाका बाँधले छेकेका आँसुका खोला बगे साउने भेललाई उछिन्दै।

अनि, सुशीलाले जस्मिनलाई गम्लंग अँगालो हाली र ‘बाई’ भनी। तर, उसलाई थाहा छैन यो ‘बाई’ शब्द फेरि उसले जस्मिनको जीवनमा दोहोर्‍याउन पाउँछे, पाउँदिन। जस्मिनको अनुहार उदास भयो। उसका कमजोर हातले सायद अन्तिम प्रत्युत्तर फर्कारहेका थिए ।

नेपाल साप्ताहिक ४६२

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *