१. माओवादी विद्रोहीको

तिनीहरू ठान्छन्
म अनपढ छु, म बहकिएको छु
म बाध्य छु, त्यसैले
म मान्छे मार्छु ।

तर, सोध्नोस् तिनलाई
के तिनका छोराछोरी भोकै मरेका छन् ?
के तिनका आइमाईले दाउरा बोकेका छन् ?
के तिनले रुखा पहाडमा गोरु जोतेका छन् ?
के तिनका छोरीबेटीले दुव्र्यवहार सहेका छन् ?

सोध्नोस् तिनलाई
त्यस्तो हुँदा तिनले के गर्छन् ?
ती अनभिज्ञ छन्
किनभने,
ती सब काठमाडौँ खाल्डोका भ्यागुता हुन् ।

ती कर्मका कुरा गर्छन्
ती धर्मका कुरा गर्छन्
मदिराले मातिन्छन्
गरिबीको भाषण छाँट्छन्
तिनले केही केही गर्दैनन्
ती सब अन्धा छन्
तर, भन्छन्-
ईश्वर दयालु छन् ।

यसरी नै हाम्रो जिन्दगी बितेको छ
हामीमाथि अत्याचार भएको छ
त्यसैले हामी विद्रोह गर्दैछौँ
एउटा आदर्शका लागि लड्दैछौँ
हामीले जित्नु सिवाय हार्नु छैन
त्यसै पनि हामी जिउँदा लास हौँ
तिनले गोली हान्दा हामीलाई दुख्दैन
हामी कोकोहोलो गर्दैनौँ
हामीले गोली चलाउँदा
ती चिच्याउँछन्
ठहरै मर्छन् ।

तिनले त्यो खाल्डोबाट निस्कनैपर्छ
संसारलाई हाम्रो आँखाले हेर्नैपर्छ
अन्यथा हामी भूतझैँ जागेका छौँ
तिनले कदापि शान्ति पाउने छैनन्
जय क्रान्ति, ओम शान्ति !

२. माओवादी पीडितको

इतिहासको कुरै नगर
मेरा लागि इतिहास धोका हो ।
तिमीले मेरो भाइ, मेरी बहिनी
मेरो छोरा, मेरा श्रीमान् मारेका छौ
मेरो गाउँ नै मृत छ ।

फाँटफाँटमा बाली लाग्दैन
खोलाखोलामा पानी बग्दैन
र, तिमी भन्छौ
तिमी मेरा आँसु पुछ्न लडिरहेका छौ ?
धिक्कार छ तिमीलाई !

तिमीले मेरो नाममा
मेरा दौँतरीलाई खसीझैँ रेटेका छौ
कलिला शिशुका मुहारमा रगतका फाल्सा पोतेका छौ
तर, यो देशका जुकाहरूसँग सम्झौता गरेका छौ
र, भन्छौ-
तिमी मेरा आँसु पुछ्न लडिरहेका छौ ।

इतिहास आफैँ दोहोरिन्छ
तिमीहरू सब ब्वाँसा हौ
शक्तिका प्यासा हौ
तिमीले फेरि तिनैसँग मितेरी लाउने छौ
र, मेरो पीडामा उभिएर
विजय गाथा गाउने छौ ।
धिक्कार छ, तिमीलाई !

नेपाल साप्ताहिक
अंक २६७

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *