Skip to content

मैले सर्जकमा समर्पण गरेँ यो काव्य पुष्पाञ्जली
लेखेँ भावुकता चढेर कविता मीठो छ शब्दावली
सर्वाङ्गीण विकास यो मुलुकको गर्नेछु साहित्यले
स्रष्टा स्वागत गर्न तत्पर भएँ मीठो यही काव्यले

सारङ्गी जसरी मीठो धुन दिने साहित्य हो एउटा
नौलो पल्लवझैँ नवीन कविता साहित्यको हो छटा
मात्रै शब्द भएर हुन्न कविता मीठो हुने भावले
स्रष्टा स्वागत गर्न तत्पर भएँ मीठो यही काव्यले

स्रष्टाको दलभित्र आज युवती लाऊ तिमी मोहनी
प्यारो लाग्दछ लेखनी र कविता यो प्राणभन्दा पनि
अर्ति वा उपदेश दिन्छ कविले माया र सद्भावले
स्रष्टा स्वागत गर्न तत्पर भएँ मीठो यही काव्यले

मेरो चित्त कताकता तरलयी बन्दै गएझैँ भयो
मोतीझैँ बहुमूल्य वस्तु छ भने त्यो एक साहित्य हो
हुन्छन् कान्छाहरू मीठा रसिला भाषा परिष्कारले
स्रष्टा स्वागत गर्न तत्पर भएँ मीठो यही काव्यले

मान्छेको दिलभित्र बस्न म सके मेरो छ नौलो छवि
मैले जान्दिनँ लेख्न गद्य कविता हुँ छन्दवादी कवि
शैली भिन्न लिई उपस्थित भएँ यो व्यङ्ग्य विद्रोहले
स्रष्टा स्वागत गर्न तत्पर भएँ मीठो यही काव्यले

शनिबार, गोरखापत्र
भदौ २४, २०६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *