संबिधानले शान्तिलाई लेखेको पत्रको एक अंश ः–
प्रिय शान्ति !
म तिम्रो उही संबिधान हुँ । चिन्यौ हैन ! तिम्रो बियोगमा म धेरै रोएँ । सायद तिमी पनि रोयौ होला, धेरै छट्पटायौ होला ? अझ म कति तड्पे हुँला ! तिमी अनुमान लगाउन पनि सक्दिनौ ।
दिन काट्न त मलाई भन्दा तिमीलाई सजिलै थियो । किनकि ? तिमी त सबैको प्रिय थियौ,सबैको आवश्यकता थियौ, सबैको ढुकढुकी पनि । तर म ! कसैको काम लाग्ने पनि भईन । सोच त प्रिय ? त्यो बेला मलाई कति पीडा भयो होला ? कति भक्कानो छुट्यो होला ? तर ! तर जे होस् तिमीले ती पीडाहरू खेप्नु परेन । सिवाय हाम्रो बियोगको । त्यो मैले पनि त सहेको छु नि लाटी !
मेरी प्रिय ! अब धेरै छैनन् हाम्रा बियोगका दिनहरू । किनकि ! सबैलाई तिम्रो झैँ मेरो पनि आवश्यकता महशुस हुन थालेको छ । त्यसैले त आज लामो समय पछि तिम्रा लागि मनका आवेगहरू उकल्ने म मा साहस आयो, अनि हिम्मत जुट्यो । त्यसैले मलाई लाग्छ अब हाम्रा बियोगका दिन धेरै छैनन्, हामी बिचको दुरी पनि अब त्यति टाढा छैन । धैर्य गर मेरी प्रिय ! अब हाम्रो मिलन अवश्य हुन्छ ।
मेरी शान्ति ! मेरी प्रिय ! मलाई एउटै कुरामा खेद रहने छ ! त्यो के भने – यहाँका ठालु र लाउके भनौदा हरूका माझमा म मा आमुल परिवर्तन गर्ने कुरा चल्दै छरे ! त्यसैले तिमीले मलाई नचिन्नेपो हौकी ? तर धन्दा नमान प्रिय ! जस्ले जहाँ जे परिवर्तन गरे पनि बाहीरी आवरण मात्रै हो मेरो आत्मा र मन भने परिवर्तन गर्ने सामर्थ्य यहाँ कसैको पनि छैन ! सिवाय तिम्रो ।।
म तिम्रै हुँ ! केवल तिम्रै रहनेछु । मलाई चिन्न तिमीले गल्ती नगर्नु है ! प्रिय ।
हो प्रिय म मा परिवर्तन आउँछ त केवल बाहिरी आवरणमा भित्री स्वरुपमा हैन ।
हिजो म भित्री लुगाको रुपमा भोटो र कछाड लाउथेँ तर अब गन्जी र पेन्टी लाउँला । हिजो म शिरमा ढाकाको टोपी लाउथेँ तर अब बिदेशी छत्रे टोपी लाउँला । हिजो म दौरा सुरुवाल लाउथेँ तर अब सुट–पाईन्ट ढल्काउँला । हिजो म बाँसबारी जुत्ता लाउथेँ तर अब बिदेशी सुज्स् लाउँला । तर प्रिय म जस्तो थेँ तेस्तै छु अनि तेस्तै रहने छु ।
आउँछ त केवल मेरो आवरणमा परिवर्तन ! आत्मामा हैन । आजलाई बिदा । तिम्रो संबि……।
अन्त्यमा…………
तिमी सम्म आउनलाई
धेरै छन् बारहरू
बाचा भयो भेट्न आउँछु
पन्छाई काँडे तारहरू ।।……………संबिधान……………
पुस्कल पौडेल (–––प्रतिक)
